मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
काठमाडौं
२०७६ माघ ८ बुधबार ०८:३१:००
Read Time : > 1 मिनेट
खेलकुद

समूह विजेता बन्दै  न्यु डायमन्ड सेमिफाइनलमा

Read Time : > 1 मिनेट
काठमाडौं
२०७६ माघ ८ बुधबार ०८:३१:००

महिलातर्फ सेमिफाइनल र पुरुषतर्फ क्वार्टरफाइनल समीकरण पूरा

न्यु डायमन्ड एकेडेमी पाँचाैँ आरबिबी–एनभिए राष्ट्रिय क्लब भलिबल प्रतियोगिताअन्तर्गत महिलातर्फ सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको खेलमा ढोरपाटन स्पोर्टस् क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै न्यु डायमन्डले प्रतियोगिताको नकआउट चरणमा स्थान सुरक्षित गरेको हो । यो जितसँगै न्यु डायमन्ड समूह बीको विजेता पनि बनेको छ । नेपाल पुलिस क्लब समूह उपविजेता बन्यो । समूह चरणमा न्यु डायमन्डको ५ र पुलिसको ४ अंक छ । पुलिसले आफ्नो पहिलो खेलमा न्यु डायमन्डसँग ३–२ को सेटमा पराजय व्यहोर्दा एक अंक जोडेको थियो । 

पुलिस र न्यु डायमन्डसँग लगातार पराजय व्यहोरेको ढोरपाटन भने अंकविहीन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । ढोरपाटनका लागि सेमिफाइनल यात्रा सम्भव बनाउन मंगलबारको खेलमा न्यु डायमन्डमाथि ३–० सेटमा जित निकाल्न आवश्यक थियो । तर, नतिजा सोही अन्तरमा त्यसको ठीकविपरीत न्यु डायमन्डको पक्षमा गयो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा समूह बीअन्तर्गतको अन्तिम खेलमा न्यु डायमन्डले ढोरपाटनमाथि २५–३, २५–१६, २५–१२ को सेटमा जित निकालेको हो । नियमित अभ्यासमा रहेको न्यु डायमन्डविरुद्ध नयाँ खेलाडी लिएर प्रतियोगितामा सहभागी भएको ढोरपाटन निकै कमजोर देखियो ।

न्यु डायमन्डले पहिलो सेटको खेलमा आफ्नो पहिलो रोजाइका खेलाडीलाई मैदानमा उतार्दा ढोरपाटनले ३ भन्दा बढी अंक जोड्न सकेन । त्यसपछिको दुई सेटको खेलमा न्यु डायमन्डले बेन्चका खेलाडीलाई कोर्टमा उतारेको थियो । न्यु डायमन्डका दोस्रो रोजाइका खेलाडीसँग पनि ढोरपाटनले गतिलो प्रदर्शन गर्न सकेन । यससँगै महिलातर्फको सेमिफाइनल समीकरण पूरा भएको छ । न्यु डायमन्डले फाइनल प्रवेशका लागि सेमिफाइनलमा समूह एको उपविजेता विभागीय टोली त्रिभुवन आर्मीसँग प्रतिस्पर्धा गर्नेछ । यस्तै, समूह एको विजेता टोली एपिएफले अर्काे विभागीय टोली नेपाल पुलिससँग खेल्नेछ । 

मंगलबार नै भएको अर्काे खेलमा आर्मीलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ समूह एको विजेता बनेको हो । एपिएफले आर्मीमाथि २५–१०, १९–२५, २५–१८, २५–११ को सेटमा जित हात पारेको हो । पहिलो सेटको खेल सहजै गुमाएपछि दोस्रो सेटमा सुधारिएको प्रदर्शनसहित आर्मीले उत्कृष्ट पुनरागमन गरेको थियो । तर, आर्मीले त्यसपछिका दुई सेटमा फेरि लय गुमायो । पुरुषतर्फ मंगलबार भएको खेलमा विभागीय टोलीहरू एपिएफ र नेपाल पुलिसले महत्यपूर्ण जित हात पारेका छन् । यो जितबाट एपिएफ समूह बी र पुलिस समूह सीको विजेता बन्दै प्रतियोगिताको क्वार्टरफाइनल चरणमा प्रवेश गरेका छन् ।

एपिएफले जावलाखेल भलिबल ट्रेनिङ सेन्टरलाई २५–१४, २५–१०, २५–०९ को सोझो सेटमा पराजित गर्‍यो । पुलिसले मणिमुकुन्द भलिबल क्लबलाई २५–१४, २५–२०, २५–१४ ले हरायो । यससँगै पुरुषतर्फ क्वार्टरफाइनल चरणको समीकरण पनि पूरा भएको छ । पुरुषतर्फ क्वार्टरफाइनल चरणमा समूह एको विजेता आर्मीले समूह सीको उपविजेता मणिमुकुन्द भलिबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ । समूह बीको विजेता एपिएफले समूह डीको उपविजेता बुद्धटोल युवा भलिबल क्लब, समूह सीको विजेता नेपाल पुलिस क्लबले समूह एको उपविजेता नयाँ बजार सामाजिक युवा क्लब र समूह डीको विजेता हेल्प नेपाल स्पोर्टस् क्लबले समूह बीको उपविजेता बुलबुले रारा क्लबसँग प्रतिस्पर्धा गर्नेछन् । बुधबार पुरुषतर्फका मात्रै खेल हुनेछन् ।