मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
काठमाडौं
२०७६ माघ ८ बुधबार ०८:०१:००
Read Time : > 1 मिनेट
अर्थ

नेपालको अर्थतन्त्र गौरव  गर्न लायक छ : अर्थमन्त्री

Read Time : > 1 मिनेट
काठमाडौं
२०७६ माघ ८ बुधबार ०८:०१:००

कृषि विकास बैंकको ५३औँ वार्षिकोत्सव 

अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको अर्थतन्त्र गौरव गर्न लायक भएको बताएका छन् । कृषि विकास बैंक लिमिटेडको ५३औँ वार्षिकोत्सवका अवसरमा सम्बोधन गर्दै उनले नेपालको अर्थतन्त्र सुदृढ, सरल र स्थायी मार्गमा अघि बढिरहेको बताएका हुन् । नेपालले ६ देखि ८ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने भन्दै अर्थतन्त्र सकारात्मक अवस्थामा रहेको उनले बताए । ‘कहिलेकाहीँ सरकारले भनेका विषयमा विश्वास गर्न गाह्रो भयो भने नेपालको अर्थतन्त्रलाई नजिकबाट नियाल्ने र स्वतन्त्र रूपले आफ्ना प्रतिवेदन तयार गर्ने अन्तर्राष्ट्रिय संस्थाका विवरण हेर्नुहोस्,’ उनले भने, ‘पछिल्लोपटक अन्तर्राष्ट्रिय मुद्रा कोषको आर्टिकल पढ्नू त्यसमा नेपालको अर्थतन्त्र रिमार्केबल पार्टमा अघि बढिरहेको भनिएको छ ।’

नेपाल अर्थतन्त्रको माथिल्लो स्तरमा पुगेको उनको भनाइ थियोे । ‘आर्थिक वृद्धिमा कुनै वेला दुई–तीन प्रतिशतको बहस हुने गरेको थियो, ४ भयो भने धेरै हुन्थ्यो, २० वर्षको हाम्रो औसत वृद्धि नै ४ प्रतिशतको छ,’ उनले भने, ‘अहिलेको बहस ६ प्रतिशत कि ८ प्रतिशत भन्ने छ, बहसको स्तर नै माथि पुगिसकेको छ ।’ कुनै वेला मूल्य वृद्धि २२ प्रतिशतसमेत पुगेको औँल्याउँदै उनले अहिले ६ प्रतिशत हुँदा चरम मूल्य वृद्धि भयो भन्ने गरेको उनले बताए । नेपालको औसत मूल्य वृद्धिदर २० वर्षको ८ प्रतिशतभन्दा माथि रहेको उनले जानकारी गराए ।

वैदेशिक रोजगारीमा जानेको संख्याचाहिँ घटाऊ, तर रेमिट्यान्स बढाऊ, व्यापारघाटा कम गर, तर राजस्व एकदम धेरै बढाऊ, निक्षेपको ब्याज पनि धेरै देऊ, कर्जाको ब्याजदर भरसक कम राख भन्नेजस्ता दोहोरो कुराले कहिले पनि एउटा लक्ष्यमा नपुग्ने उनले बताए । नेपालको समग्र वित्तीय प्रणली र बैंकिङ प्रणाली अहिले दक्षिण एसियामै सबैभन्दा सुदृढ रहेको उनले बताए । सरकारी लगानीका बैंक नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकबाट पहिलोपटक उल्लेखनीय परिमाणमा सरकारले लगानीको प्रतिफल पाएको उनको भनाइ छ । 

कार्यक्रमका नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले नेपाल सरकारको नीतिअनुसार आएको सहुलियतपूर्ण कर्जालाई बढाउन बैंकलाई आग्रह गरे । बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले कृषि विकास बैंकले कुशल एवं प्रभावकारी बैंकिङ सेवा प्रवाहका माध्यमबाट लगानीकर्तालाई राम्रो प्रतिफल दिलाउने बताए । बैंक सञ्चालक समितिका अध्यक्ष क्षेत्रबहादुर सेजुवालले बैंकले आफ्नो स्थापनका समयमा लिएको उद्देश्यका अलावा समयअनुसारको मागबमोजिम बैंकका सेवाहरूलाई अध्यावधिक गराउँदै लगेको बताए ।

विभिन्न जिल्लामा थप १६ शाखा सञ्चालन
वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमकै अवसरमा बैंकले देशका विभिन्न स्थानमा शाखा तथा एक्सटेन्सन काउन्टर सञ्चालन गरेको छ । बैंकले शाखा बर्जु, आमबारी, रवि, लौकही, हरिवन, धार्के, मालेपाटन, गण्डकी गोरखा, चन्द्रौटा, पकडी, ढिमे कुशे, बारेकोट, कुमालगाउँ, सुकटिया, ओदानकु महावैमा शाखा तथा धुलिखेलमा एक्सटेन्सन काउन्टर १६ स्थानमा कार्यालय सञ्चालन गरेको हो । कार्यक्रमका प्रमुख अतिथि अर्थमन्त्री डा. खतिवडाले डिजिटल पद्धतिबाट सबै शाखाको उद्घाटन गरेका हुन् । वार्षिकोत्सवकै अवसरमा बैंकका विभिन्न कर्मचारीलाई पुरस्कृतसमेत गरिएको थियो ।