मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ ७ मंगलबार १५:१६:००
Read Time : > 1 मिनेट
समाचार

सांसद दुर्गा पौडेलद्वारा उपसभामुख बन्ने प्रस्ताव अस्वीकार

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ ७ मंगलबार १५:१६:००

नेकपा बाहेकका ठूला दलहरुबीच उपसभामुख बन्ने रस्साकस्सी चलिरहेका बेला प्रतिनिधि सभा सदस्य दुर्गा पौडेलले सत्तारुढ नेकपाले उपसभामुखका लागि गरेको ‘अफर’ अस्वीकार गरेकी छन् ।

प्यूठानबाट निर्वाचित राष्ट्रिय जनमोर्चा(राजमो) की सांसद पौडेललाई नेकपा अध्यक्ष पुष्पकमल दाहाल आफैले उपसभामुख बन्नका लागि प्रस्ताव गरेका थिए । 
‘अध्यक्ष दाहालले नै सांसद पौडेललाई उपसभामुखका लागि प्रस्ताव गर्नुभएको थियो’ नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले नयाँ पत्रिकासँग भने, ‘तर राजमोबाट एकजना मात्र सांसद भएको भन्दै उहाँले उपसभामुखको जिम्मेवारी निर्वाह गर्न आफू असमर्थन रहेको बताउनु भयो ।’   

शिवमायाँ तुम्बाहाम्फेको उपसभामुखबाट राजीनामाको चर्चा चलिरहेका बेला नेकपा अध्यक्ष दाहालले राजमो अध्यक्ष चित्रबहादुर केसीसँग पौडेललाई उपसभामुख बनाउने विषयमा सल्लाह गरेका थिए । तर, उपसभामुखको जिम्मेवारी पार्टीका लागि अवसर भए पनि राजमोको तर्फबाट प्रतिनिधि सभामा एकजना सदस्य पौडेल मात्र भएकाले उपसभामुख स्वीकार गर्न अप्ठेरो भएको जवाफ केसीले दाहाललाई दिए । 

केसीसँगको कुराकानीपछि दाहालले सांसद पौडेललाई नै फोन गरेर उपसभामुख बनिदिन प्रस्ताव गरेका थिए । ‘म नै उपसभामुख बनेपछि पार्टीको धारणा संसदमा कसलाई राख्ने ?’ पौडेलले नयाँ पत्रिकासँग भनिन ‘त्यसैले, उपसभामुख बन्न असमर्थ रहेको जानकारी गराएँ ।’

पौडेलका भनाईमा, प्रतिनिधि सभामा पार्टीको तर्फबाट अर्काे पनि कुनै सदस्य भैदिएको भए उनलाई उपसभामुख बनाउन राजमोलाई कुनै आपत्ति थिएन । 
‘संसदमा पार्टीको धारणा राख्नुपर्ने हुन्छ, उपसभामुख बनेपछि निष्पक्ष भूमिका निर्वाह गर्नुपर्ने हुन्छ’ उनले थपिन ‘निष्क्रिय जस्तै भूमिकामा रहने उपसभामुख भन्दा सक्रिय रहने सांसद पद नै उपयुक्त लागेको छ ।’  

नेकपा(मसाल) का महामन्त्री मोहनविक्रम सिंहकी पत्नीसमेत रहेकी सांसद पौडेल वामगठबन्धनको उम्मेदवारको रुपमा गत निर्वाचनमा प्यूठानबाट निर्वाचित भएकी थिइन् । 

प्रतिनिधि सभाको सभामुख र उपसभामुख फरक–फरक दल र लिङ्गबाट हुनुपर्ने प्रावधानका कारण नेकपाले राजमो सांसद पौडेललाई उपसभामुखको प्रस्ताव गरेको थियो ।