दुई दशकअघिसम्म सहरी इलाकामा पार्टी–प्यालेसमा भोज गर्ने चलन कमै थियो । विवाह, व्रतबन्धलगायत शुभकार्य र ती सन्दर्भमा आयोजना हुने पार्टी घरमै गरिन्थे । त्यस्ता भोजमा आफन्तजनले सघाउँथे । अहिले सहरको भोज संस्कृति फेरिएको छ । सानादेखि ठूला भोजहरू पार्टी–प्यालेसमा हुने गरेका छन् । सञ्चालकहरूका अनुसार एक हजारजनाका लागि पार्टी–प्यालेसमा भोज गर्दा २० लाख रुपैयाँसम्म खर्च हुन्छ । एउटा सुविधासम्पन्न पार्टी–प्यालेस खोल्न पाँच करोडदेखि १० करोड रुपैयाँसम्म लगानी हुन्छ ।
नेपाल राष्ट्रिय पार्टी–प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघका प्रवक्ता कृष्णप्रसाद पाण्डेका अनुसार नेपालभर करिब आठ सयवटा पार्टी–प्यालेस छन् । प्यान र भ्याटमा दर्ता भएअनुसार ललितपुरमा ८०, काठमाडौंमा एक सय ५० र भक्तपुरमा ५५ वटा पार्टी–प्यालेस छन् । बाँकी पाँच सय १५ वटा पार्टी–प्यालेस भने उपत्यकाबाहिर रहेको पाण्डे बताउँछन् । ‘अहिले उपत्यकाबाहिर पार्टी–प्यालेस खोल्ने ट्रेन्ड बढेको छ,’ पाण्डे भन्छन्, ‘उपत्यकाभित्र पार्टी–प्यालेसको ठाउँ ठूला होटेल र रेस्टुराँले लिन थालेका छन् ।’ ‘ललितपुर रेन्टल, क्याटरिङ तथा पार्टी–प्यालेस महासंघ’का उपाध्यक्ष तथा फूलबारी पार्टी–प्यालेसका सञ्चालक गोकुल देसारको भनाइमा पार्टी–प्यालेस कल्चर ग्रिसबाट सुरु भएको हो । नेपालमा उक्त कल्चर भित्रिएको दुई दशक नाघेको उनी बताउँछन् । व्यस्त जीवनशैलीमा घरमै भोज आयोजना गर्दा बढी दुःख हुने भएकाले नेपालमा पनि यो कल्चर भित्रिएको देसारको भनाइ छ ।
बौद्धस्थित कुशल पार्टी–प्यालेसका सञ्चालक राजेश श्रेष्ठका अनुसार मध्यम र निम्नमध्यम वर्गका मानिसको रोजाइमा पार्टी–प्यालेस परेको छ । ‘उच्च वर्गको रोजाइ भने ठूला होटेलमा बढी देखिन्छ,’ उनी भन्छन्, ‘तर, पछिल्लो समय स्तरीय पार्टी–प्यालेस खुल्न थालेकाले उच्च वर्ग पनि आकर्षित हुन थालेका छन् ।’
पार्टी–प्यालेस कल्चर सुरु हुनुअघि उपत्यकामा क्याटरिङ कल्चर थियो । क्याटरिङ सञ्चालकले ग्राहकको अर्डरअनुसार खानेकुरा बनाइदिन्थे । तर, उपत्यकामा घर धेरै बढेपछि खाली ठाउँको अभाव हुन थाल्यो । र, क्याटरिङ व्यवसाय ओरालो लाग्यो । ‘अझै पनि उपत्यकामा क्याटरिङ छन्, तर ती राम्रोसँग चलेका छैनन्,’ देसार भन्छन्, ‘२० वर्षयता क्याटरिङको ठाउँ पार्टी–प्यालेसले लिएका छन् । भोज आयोजना गर्नुपर्दा पार्टी–प्यालेसहरूले अर्डरबमोजिमका सामग्री उपलब्ध गराइदिन्छन् । दुई सयजना सहभागी हुने भोजका लागि डेढ लाखदेखि तीन लाख रुपैयाँसम्म खर्च हुने देसार बताउँछन् । उनी भन्छन्, ‘होटेल र रेस्टुराँहरूमा भोज आयोजना हुने क्रममा बढे पनि पार्टी–प्यालेसको ट्रेन्ड भने घटेको छैन ।’
जावलाखेलस्थित क्रिस्टल ब्यांकेटका सञ्चालक हिमकिशोर राईका अनुसार करिब १३ वर्षयता काठमाडौं उपत्यकामा पार्टी–प्यालेस कल्चरले उचाइ लिएको हो । ‘त्यसअघि उपत्यकामा नेवारी संस्कृतिअनुसार भोजहरू आयोजना हुन्थे,’ उनी भन्छन्, ‘तर, अहिले सबैले पार्टी–प्यालेसमा भोज गर्छन् ।’ सहरीकरण बढ्दै जाँदा पश्चिमा संस्कृतिको नक्कल गर्ने चलनसमेत बढेको उनको ठम्याइ छ । ‘पार्टी–प्यालेसमा भोज गर्ने चलन पूर्वीय संस्कृतिको होइन,’ उनले भने । अहिले ठूलो कम्पाउन्ड रहेका घरमा पनि भोज आयोजना हुन छाडेको उनी बताउँछन् । महँगा सामान टुटफुट हुने, बाथरुम ब्लक हुनेजस्ता समस्या मानिसले व्यहोर्न रुचाउन छाडेकाले पार्टी–प्यालेस नै रोजाइमा परेको उनको ठम्याइ छ ।
१२ वर्ष पार्टी–प्यालेस चलाएका ललितपुर इखाछेंका ज्ञानबहादुर श्रेष्ठको भनाइमा भोजमा भिभिआइपीको पनि उपस्थिति हुने र उनीहरूका सुरक्षाकर्मीसहितका गाडी पार्किङमा ठाउँ नहुने भएकाले पार्टी–प्यालेस विकल्प बनेका हुन् । ‘त्यसैले स–साना कार्यक्रम पनि पार्टी–प्यालेसमै हुन थालेका छन्,’ उनी भन्छन्, ‘सबै मानिस व्यस्त छन् । घरमा कार्यक्रम आयोजना गरेर सबैलाई खुवाउन र सरसफाइ गर्ने फुर्सद कसैलाई छैन ।’
होटेललाई जस्तै पार्टी–प्यालेसलाई पनि स्टार दिइनुपर्ने व्यवसायीको माग छ । श्रेणी छुट्याउँदा व्यवसाय गर्न सहज हुने उनीहरूको भनाइ छ । ‘उद्यमशील बन्न चाहनेका लागि पार्टी–प्यालेस उपयुक्त विकल्प हो,’ राई भन्छन्, ‘त्यस्तै सोच भएका युवाका कारण उपत्यकामा पार्टी–प्यालेस कल्चर झाँगिएको हो ।’