मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
एलेक्सिस राइट
२०७६ माघ ७ मंगलबार ०९:५६:००
Read Time : > 2 मिनेट
दृष्टिकोण

डढेलो रोक्न आदिवासीलाई सुन्नुस्

Read Time : > 2 मिनेट
२०७६ माघ ७ मंगलबार ०९:५६:००

अस्ट्रेलियाका आदिवासी जनता आफ्नो संस्कृतिलाई विश्वको सबैभन्दा पुरानो समयदेखि जीवित संस्कृति मान्छन् । उनीहरू यहाँको हजारौँ वर्षदेखिको बदलिँदो जलवायुमा पनि हाम्रा पुर्खाले आफूलाई अनुकूल बनाउने ज्ञान सिक्दै हुर्किए । यसका बाबजुद प्रकृति संरक्षणको आदिवासी ज्ञान प्रश्नको घेरामा पर्छ या धेरै हदसम्म बेवास्तामा पर्छ । तर, हाल जारी विनाशकारी डढेलोको सन्दर्भमा, अस्ट्रेलियाली नेताले आदिवासी ज्ञानको गहिराइ र मूल्यलाई पहिचान गर्दै तिनको सीपलाई विपद् व्यवस्थापनको प्रयोगमा ल्याउनु उपयोगी हुन्छ । 

मैले भर्खरैको डढेलोले निम्त्याएको क्षतिबारे एक आदिवासी जाति ग्याङलिडाका नेता मुर्रोन्दु यानरसँग कुराकानी गरे । यानर अहिलेको सन्दर्भमा उपयोगी ज्ञान भएका व्यक्ति हुन् । विषद् ज्ञानका धनी यानरले उनको ज्ञानलाई ग्याङलिडाको कानुन र दर्शनसँग मिलाएर हेरेका छन् । यानर अक्सर भन्छन्– विगतमा हाम्रो भविष्यको मार्ग पनि लुकेको हुन्छ । ‘हामीले आफ्नो स्थान पुर्खाका नियम र कथामार्फत कल्पना गर्‍यौँ र बुझ्यौँ भने मात्र हामीले अस्ट्रेलियामा कसरी जीवित रहने वास्तविक ज्ञान हासिल गर्नेछौँ । हाम्रा पुर्खाले त्यही गरेका थिए ।’ 

सन् १९९०को दशकदेखि यानरले कारपेनटेरिया खाडीका आदिवासी जनतालाई दिगो आर्थिक विकासमा नेतृत्व गरिरहेका छन् । उनले वान्ही जातिलाई आदिवासी अधिकार अभियानका क्रममा मार्गनिर्देशन गरे । आज उनी जिगिजा आदिवासी अग्नि प्रशिक्षण कार्यक्रमको नेतृत्व गर्छन् । त्यस कार्यक्रमअन्तर्गत वस्तुभाउ किसान, स्वयंसेवी अग्निनियन्त्रक, आदिवासी रेन्जर र खानी उद्योगलाई डढेलोसँग कसरी जुध्ने ज्ञान बाँड्छन्, जुन पुर्खाकै ज्ञानमा आधारित छ । 

त्यस कार्यक्रममा चिसो मौसममा लगाइने नियन्त्रित डढेलोबारे ज्ञान दिइन्छ । चिसो मौसममा जमिनका झारपात डढाउने यो विधिबाट प्रज्ज्वलनशील वस्तु घट्छ । यसले डढेलोलाई अहिलेजस्तो विकराल स्तरमा फैलिने परिस्थिति निर्माण गर्दैन । यानर आफ्ना विद्यार्थीलाई वन्यजन्तु मार्ग निर्माण गर्न पनि सिकाउँछन् । जुन गर्मीको समयमा लाग्ने डढेलोबाट वन्यजन्तु उम्किन सहायक हुन्छ । यी आदिवासी विधिले डढेलोको समयमा आगो फैलिनबाट रोक्छ । यी उपाय महत्वपूर्ण छन् । हुन त राज्यका अग्निनियन्त्रण संस्थाले यिनलाई प्रयोगमा नल्याएका होइनन्, तर हाल जुन स्तरमा तिनको प्रयोग भइरहेको छ, त्यसमा वृद्धि गरिनुपर्छ । हामी डढेलोको जोखिम भएको देशमा बस्छौँ र आगजनीको मौसम अन्त्य हुन अझै दुई महिना बाँकी छ ।

आदिवासी जनता प्राचीन भूमिका रक्षक हुन्, देशका नेताले तिनको ज्ञानलाई महत्व दिनुपर्छ । आदिवासी ज्ञानलाई गम्भीरतासाथ लिँदैमा तत्काल परिणाम त नआउला, तर त्यसले भविष्यका विध्वंशकारी डढेलोलाई रोक्न सहयोग गर्नेछ ।

तर, आगामी वर्षका लागि योजना बनाउन सुरु गर्न ढिलो भइसकेको छैन । यो डढेलोको उग्रताले पहिले कल्पना नगरिएको यथार्थसँग साक्षात्कार गराएको छ । डढेलोको विध्वंशलाई ओलोनडिली सहरका मेयर म्याथु डिथको भनाइले प्रतिविम्बित गर्छ । उनले डढेलो व्याख्या गर्ने क्रममा भनेका थिए, ‘त्यहाँ भुइँमा डढेका झिजामिजाबाहेक केही बाँकी थिएन ।’ हामीले आगजनीको विकाराल परिणाम बुझ्न सुरु गरेका छौँ । नाजुक वन पर्यावरण पूर्ण नामेट भएकोसम्म देखियो । विज्ञका अनुसार झन्डै एक अर्ब जनावर डढेलोमा मरे । मृत जनावरको ठूलो संख्या समुद्री किनारमा देखियो । हाम्रो दक्षिणी आकाश कैयौँ दिनसम्म तुवाँलोले छोपियो । वर्षाको पानीले डढेलोको खरानी बगाउन थालेपछि थप खराब समाचार सुन्नुपर्नेछ । 

अस्ट्रेलिया डढेलोले निम्त्याउने दुस्वप्नमा बारम्बार फस्ने गर्छ । यी डढेलोपछि हाम्रा व्याकुल मन र दिमागले आक्रोश पोख्ने गर्छन् । तर, कहिलेकाहीँ हामीले गलत ठाउँमा आक्रोश पोखिरहेका हुन्छौँ । आगजनी गर्ने समूह र आगो व्यवस्थापन विधिका लागि रूख काट्न रोक्ने ग्रिन पार्टी अहिले आक्रोशको सिकार भएका छन् । तर, सबैभन्दा ठूलो आक्रोश देशका प्रधानमन्त्री स्कट मोरिसनतर्फ निर्देशित देखिन्छ । डढेलोको समयमा हवाई टापुमा बिदामा गएका कारण धेरै जनताबाट उनी आलोचित भए । ठूलो संख्यामा मानिस जलवायु परिवर्तनप्रति गम्भीर नेतृत्व कहिले पाइने होला भन्ने जायज प्रश्न सोध्न थालेका छन् । हामीलाई यो ग्रहको थप विनाश रोक्न कदम चाल्न नडराउने नेतृत्वको तत्कालै आवश्यकता छ । 

आदिवासी जनता यो प्राचीन भूमिका संरक्षक हुन् । देशका नेताले तिनको ज्ञानलाई महत्व दिनुपर्छ । आदिवासी ज्ञानलाई गम्भीरताका साथ सुन्न सुरु गरेपछि तत्कालै परिणाम नआउला, तर तिनले भविष्यका विध्वंशकारी डढेलोलाई रोक्न सहयोग गर्नेछ । म प्रायः यानरका शब्दलाई मार्गनिर्देशन मान्ने गर्छु, जसमा म हाम्रो प्राचीन ज्ञानको सामर्थ बोध गर्छु । हाम्रो मानवताले प्रदान गर्न सक्ने सबैभन्दा ठूलो कुरा मानवता हो, किनभने हामीसँग सधैँ रहने भनेको मानवता नै हो ।

"via The New York Times"
नयाँ पत्रिका र द न्युयोर्क टाइम्सको सहकार्य
युनिभर्सिटी अफ मेलबर्नका प्राध्यापक एलेक्सिस राइट अस्ट्रेलियाका एक आदिवासी जाति वान्यीका सदस्य हुन् ।