१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
सुरञ्जन घिमिरे काठमाडौं
२०७६ माघ ६ सोमबार २२:०५:००
Read Time : > 1 मिनेट
समाचार

नेता, कार्यकर्तालाई नेकपाको आचारसंहिता

Read Time : > 1 मिनेट
सुरञ्जन घिमिरे काठमाडौं
२०७६ माघ ६ सोमबार २२:०५:००

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आफ्ना नेता कार्यकर्ताका लागि आचारसंहिता लागू गर्ने भएको छ ।

पूर्वमाओवादी र पूर्वएमालेबीच पार्टी एकता भएको १९ महिनापछि नेकपाले नेता र कार्यकर्ताका लागि १२ पृष्ठ लामो परिपत्र जारी गर्दै ११ बुँदे आचारसंहिता तोकेको हो । पार्टी सचिवालयले पारित गरेको आचारसंहितालाई पार्टीको विशेष परिपत्रमार्फत जिल्लाभरका कार्यकर्तासमक्ष पुर्‍याइने भएको छ ।

गुट बनाउन नपाइने
परिपत्रमा पार्टीमा गुटबन्दी गर्न नपाइने, मन मिल्ने कार्यकर्ताबिच पोजिसन बनाउने, स्वार्थ समूह वा स्वार्थी तत्त्वहरूको झुन्ड निर्माण गरेर पार्टीभित्र विवाद उत्पन्न गर्न नपाइने उल्लेख छ । संगठनात्मक कार्ययोजना नाम दिएको बुँदामा उल्लेख छ, ‘पार्टीको आधिकारिक नीति र नेतृत्वविरुद्ध गोप्य रूपमा समूह निर्माण गरी पार्टीलाई नकारात्मक रूपमा प्रभावित गर्ने क्रियाकलाप गुटबन्दी हो । यसले सही विचार कार्यक्रम र योजना कार्यान्वयन गर्न अवरोध उत्पन्न गर्दछ ।’

महिनामा १ पटक वनभोज
परिपत्रको बुँदा (ङ)मा नेता, कार्यकर्ता तथा सदस्यले घरैमा सामूहिक खाना खानुपर्ने उल्लेख छ । आचारसंहिताअनुसार कार्यकर्ताले दिनभर काम गर्नुपर्नेछ भने १६ वर्ष पुगेका घरका अन्य सदस्यसँग मिलेर छलफल गरी कार्यविभाजन गर्नु पर्नेछ । त्यस्तै नेता, कार्यकर्ताले जन्मदिन घरमै मनाउनु पर्नेछ । त्यस्तै नेता तथा कार्यकर्तालाई महिनामा एक दिन गाउँ वा टोलका सबै परिवारबीच वनभोज वा सहभोज गर्न र त्यस्ता कार्यक्रममा मद्यपान, धूमपान र उच्छृङ्खल व्यवहार गर्न नपाइने पनि आचारसंहितामा उल्लेख छ । आचारसंहितामा पार्टीलाई आफ्नो कमाइबाट नियमित रूपमा सदस्यता शुल्क र लेबी बुझाउनुपर्ने पनि उल्लेख गरिएको छ ।

तँ भने कारबाही
आचारसंहितामा अभिव्यक्तिका क्रममा मर्यादित, सरल र मिठासपूर्ण तरिका अपनाउनुपर्ने उल्लेख छ । कसैलाई पनि हेला–होचो, एकारान्त तथा तँ भन्न प्रतिबन्ध लगाइएको छ । बालबालिका, अशक्त र ज्येष्ठ नागरिकलाई काम लगाउन नहुने र उनीहरूसित प्रेम, सहयोग र सद्भावपूर्ण व्यवहार गर्नुपर्नेसमेत उल्लेख छ । परिवारमा गालीगलौज, झगडा, भेदभाव र छुवाछूत पूर्ण रूपले अन्त्य गर्नुपर्ने, चाडपर्व र अन्य कामका लागि खर्च गर्दा मितव्ययिता अपनाउनुपर्ने तथा घरभित्र र बाहिर महिलाप्रति सम्मान प्रकट गर्नुपर्ने आचारसंहितामा भनिएको छ । यस्तै आचारसंहितामा पाँच वर्ष पुगेका बालबालिकालाई अनिवार्य रूपमा विद्यालय पठाउनुपर्ने उल्लेख छ ।