१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ माघ ६ सोमबार २०:२९:००
Read Time : > 1 मिनेट
खेलकुद

मनाङ मस्र्याङ्दीको मुख्य प्रायोजक आयल निगम

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ माघ ६ सोमबार २०:२९:००

नेपाल आयल निगम लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर)अन्तर्गत ‘ए’ डिभिजन फुटबल क्लब मनाङ मस्र्याङ्दीलाई मुख्य प्रायोजन गरेको छ ।

सोमबार एक कार्यक्रमबीच एक वर्षका लागि मनाङलाई ३५ लाख रुपैयाँमा मुख्य प्रयोजन गर्ने सम्बन्धी सम्झौतामा निगम र मनाङबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौता लगत्तै निगमले पहिलो किस्ता बापत ५० प्रतिशत रकमसमेत प्रदान गरेको थियो । आयल निगमले खोटाङको हलेसीमा धर्मशाला निर्माणका लागि पाँच करोड रुपैयाँ उपलब्ध गराएपछिको यो नै ठूलो सिएसआर हो । सम्झौतापत्र आदानप्रदान कार्यक्रममा बोल्दै निगमका प्रबन्ध निर्देशक सुरेन्द्रकुमार पौडेलले मनाङमार्फत समग्र फुटबल क्षेत्रको विकासमा योगदान गर्न चाहेको बताए ।

‘हामीले मनाङलाई मात्र प्रायोजन गरेका होइनौँ, समग्र फुटवल क्षेत्रको विकासका लागि योगदान गर्न चाहेका हौँ,’ उनले भने, ‘मनाङले पूर्व मेचीदेखि महाकालीसम्म र देश बाहिरसमेत प्रतियोगिता खेल्ने गरेका कारण आयल निगमको नाम र लोगो अंकित जर्सीमा देखिँदा हाम्रो पनि ब्राण्डिङ हुने विश्वास लिएका छांँ ।’ कार्यक्रममा आयल निगमको स्वतन्त्र कर्मचारी युनियनका अध्यक्ष विकास बखतीले सामाजिक कार्यमा आयल निगम अरु संस्था भन्दा अब्बल रहेको प्रमाणित गर्न क्रियाशील रहेको बताए ।

‘हामीले फुटबलको विकासका लागि मनाङसँग गरेको सम्झौता आफैमा इतिहास हो । हामी मनाङसँग एक वर्ष मात्र होइन, निक्कै लामो समयसम्म जोडिएर काम गर्न चाहन्छौँ,’ उनले भने । सो कार्यक्रममा उपस्थित अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्माछिरिङ शेर्पाले मनाङसँग भएको प्रायोजन सम्झौता ऐतिहासिक भएको बताए ।

‘आयल निगम र मनाङबीच भएको प्रायोजन सम्झौता ऐतिहासिक हो । यस्ता सम्झौताले गर्दा नेपाली फुटबल क्षेत्र फेरि पुनर्जिवित भएको छ,’ अध्यक्ष शेपाले भने । आयल निगमले सिएसआर शीर्षकबाट मनाङका लागि गरेको लगानी खेर नजाने पनि उनले दाबी गरे । ‘मनाङ अब्बल ए डिभिजन क्लब हो । यसले देश, विदेशमा खेलहरू खेल्दा आयल निगमको प्रचारप्रसारमा ठूलो सहयोग मिल्छ,’ उनले भने ।

मनाङका अध्यक्ष छिम्पी उर्गेन गुरुङले आयल निगमलाई क्लबले उच्च प्राथमिकतामा राखेर देशभर प्रचारप्रसार गर्ने बताए । फुटबल क्षेत्रको विकासका लागि आयल निगमले गरेको प्रायोजनको प्रशंसा गर्दै उनले भने, ‘अहिले एक वर्षका लागि मात्र सम्झौता भएको छ तर भविष्यमा पनि यस्तै साथ पाइरहने अपेक्षा गरेका छौँ ।’ उनले मनाङ मस्र्याङ्दी क्लब ए डिभिजनमा नम्बर एक रहेको दाबी गर्दै प्रयोजकहरूलाई खेलका माध्यमबाट सन्तुष्ट पार्ने बताए ।