मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
मिलन दाहाल । काठमाडाैं
२०७६ माघ ६ सोमबार १९:५७:००
Read Time : > 2 मिनेट
समाचार

११ र १२ को नयाँ पाठ्यक्रममा गणित समावेश नभएको भन्दै विरोध, नयाँ पाठ्यक्रम लागू हुनु पूर्व नै विवादित

Read Time : > 2 मिनेट
मिलन दाहाल । काठमाडाैं
२०७६ माघ ६ सोमबार १९:५७:००

पाठ्यक्रम विकास केन्द्र(सिडिसी) ले आगामी शैक्षिक सत्रदेखी कक्षा ११ र १२ को पाठ्यक्रम परिमार्जन गरि लागू गर्न खोजेको नयाँ पाठ्यक्रम लागू गर्नु पूर्व नै विवादमा तानिएको छ । 

सिडिसीले तयार पारेका कक्षा ११ र १२ को नयाँ पाठ्यक्रममा गणित विषय समावेश नगरिएको विषय बाहिरिएपछि विज्ञहरुले त्यसको बिरोध गरेका हुन । परिमार्जित पाठ्यक्रममा गणित विषय समावेश नभउको भन्दै यस क्षेत्रका सरोकारवालाहरुले पाठ्यक्रम प्रति विरोध जनाएका हुन । 

गणितको महत्वलाई पाठ्यक्रम विकास केन्द्र र नेपाल सरकारले बुझन् नसकेका कारण हटाउन खोजिएको त्रिभुवन विश्वविद्यालय गणित केन्द्रिय विभागका प्रध्यापक डा. टंकनाथ धमलाले बताए । विज्ञानको भाषा गणित भएका कारण पनि यसलाई अनिवार्य गर्नुपर्ने उनको माग छ । भाषा विना  विज्ञान पढियो भने त्यसको कुनै महत्व नहुने उनले बताए । विज्ञानका सम्पुर्ण नतिजाहरु गणितीय भाषामा ढाल्नुपर्ने भएका कारण गणित विना विज्ञान पढाइन्छ भने त्यो विज्ञान कमजोर हुने उनको भनाई छ ।
धमलाले विज्ञान बाहेकका विषय पढ्नेलाई वैकल्पिक विषयका रुपमा राख्न सकिने भए पनि विज्ञान पढ्ने विद्यार्थीका लागि गणित विषय अनिवार्य हुनु पर्ने बताए । उनले संकाय अनुसार विद्यार्थीलाई पढाउने हो भने विज्ञान संकायमा गणितलाई अनिवार्य गर्नुपर्ने माग उनको छ । 

विज्ञान तथा प्रविधीको मेरुदण्ड मानिएको गणित विषयलाई पाठ्यक्रम निर्माणकर्ताले किन आक्रमण गरीराखेका छन् त्यस कुरालाई आफुले नबुझेको नेपाल गणित समाजका सह(सचिव तथा केन्द्रीय गणित विभागका उपप्राध्यापक डा. जिवन काफ्ले बताए । विज्ञान तथा प्रविधीको युगमा गणित तथा विज्ञानका विषयहरुलाई महत्व दिनुपर्नेमा त्यसको ठिक विपरीत तरिकाले निती निर्माणकर्ताहरु गइरहेको उनको ठम्याई छ । गणित विषयको अध्ययन अध्यापनले विद्यार्थीको सिप, आत्मविश्वास, सिर्जनसिलता, गहिराईसम्म सोच्न सक्ने क्षमताको विकास गर्ने भएकाले गणित विषय अति आवश्यक रहेको उनको भनाई छ । 

काफ्लेका अनुसार हालको पाठ्यक्रममा विज्ञान विधाका विद्यार्थीले ११ कक्षामा अंग्रेजी अनिवार्य र चार वटा ऐच्छिक विषयहरु गरी जम्मा ५ वटा विषय र १२ कक्षामा अंग्रेजी तथा नेपाली अनिवार्य र ३ वटा ऐच्छिक गरी जम्मा ५ वटा विषय पढ्छन् ।  तर अहिले सिडिसीले बनाएको नयाँ प्रारुपमा ११ कक्षामा अंग्रेजी, नेपाली, सामाजिक शिक्षा अनिवार्य र ३ वटा ऐच्छिक विषयहरु गरेर जम्मा ६ वटा पढ्नेछन् तथा १२ कक्षामा अंग्रेजी, नेपाली तथा जिवन उपयोगी र ३ वटा ऐच्छिक विषयहरु गरेर जम्मा ६ वटा पढ्नेछन ।

यसरी विषयहरु ५ वटाबाट ६ वटा थपिए पनि गणित, विज्ञान तथा प्रविधीलाई ओझेलमा पार्ने खोजिएको काफ्लेले बताए । अन्य देशहरुमा कतै माध्यम भाषाबाहेक अरुलाई ऐच्छिक हुने तथा कतै गणित तथा विज्ञानलाई अनिवार्य रुपमा सामेल गरिएको हुने उनले बताए । ११ र १२ दुवैमा तीन-तीन वटा अनिवार्य विषय राखेर विद्यार्थीको रुचिकर विषयहरु पढ्नबाट बन्चित गरिएको उनले आरोप लगाए । 

विज्ञान र प्रविधिलाई मात्र नभएर सबैलाई गणित विषय आवश्यक रहेको उनले बताए । सरकारको निती अनुसार जागिर खान लोकसेवामा गणित विषय समावेश गरिएको र जनशक्ति गणित जानेको खोज्ने तर पाठ्यक्रममा हटाउदैँ जाने कुरा तथा गणित विषय चाहिदैन भन्ने विषय सरकारको नितीसँग मेल नखाएको उनको भनाई छ । त्यस्तै हालसालै त्रिवि को इन्जिनियरिङ्ग अध्ययन सस्ंथान आइओइमा प्रवेश परक्षिामा गणितको भार ४० बाट बढाएर ५० बनाएको कुराले पनि गणितको महत्वलाई दर्शाएको उनको तर्क छ । 

कक्षा ११ र १२ को विषय परिमार्जन भएको कुरा सत्य भए पनि गणित विषय हटाइएको कुरा सत्य नभएको पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक लेखनाथ पौडेलले बताए । 

‘जबरजस्ती गणित पढाउनुपर्छ भनेर हुदैँन, इच्छा हुनेले आफैँ पढ्न सक्नछन्’ उनले भने ‘गणित विषय पहिले पनि ऐक्षिक विषयमा थियो र लागु हुने नयाँ पाठ्यक्रममा पनि विद्यार्थीहरुले ऐक्षिक विषय अन्तर्गत पढ्न सक्छन् ।’