मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ माघ ६ सोमबार १७:३१:००
Read Time : > 1 मिनेट
समाचार

रसुवामा जनगणना २०७८ को तयारी सुरु

Read Time : > 1 मिनेट
२०७६ माघ ६ सोमबार १७:३१:००

रसुवामा राष्ट्रिय जनगणना २०७८ को तयारी सुरु भएको छ । तथ्यांक कार्यालय नुवाकोटले सोमबार जिल्ला प्रशासन कार्यालय रसुवामा एक कार्यक्रम आयोजना गरी राष्ट्रिय जनगणना २०७८ को तयारी सुरु भएको जनाएको हो । 

जिल्लास्तरिय अन्तक्रिया तथा छलफल कार्यक्रममा राष्ट्रिय जनगणनाको तयारी पनि सुरु भएको तथ्याङ्क अधिकृत नरेन्द्र शर्मा भट्टले बताए । तथ्यगत विवरणमा राखिने सूचक र अबको दुई वर्षपछि हुने राष्ट्रिय जनगणना सञ्चालन तथा व्यवस्थापन निर्देशिका स्वीकृतिको आवश्यक प्रक्रिया अघि बढेको उनले बताए । 

सबै स्थानीय तहको गणनाको नक्सा तयार गर्ने, जनगणना व्यवस्थापन र सञ्चालन निर्देशिका तथा मापदण्ड तयार गरी स्वीकृति लिने, जनगणनामा आवश्यक प्रश्नावली तयार गर्ने काम भइरहेको समेत उनले बताए । त्यसैगरी, पाँच वर्षको बजेट व्यवस्थापनका लागि सरकार र दातृ निकायसँग सहयोग र समन्वय गर्ने, जनगणना सञ्चालन गर्नुपूर्व नमुना सर्वेक्षण तयारी गर्ने लगायतका काम भइरहेको भन्दै जनशक्तिलाई तालिम दिने, प्रचारप्रसार र सूचना शिक्षा तयारी, गणना सामग्री खरिदजस्ता कार्य पनि निरन्तर गर्दै जाने बताइएको छ । 

‘मेरो गणना : मेरो सहभागितामा’ भन्ने नाराका साथ सुरु गर्न लागिएको राष्ट्रिय जनगणनामा सहज पहुँच, उच्च नेटवर्क र व्यवस्थापन जस्ता पक्षका आधारमा ट्याबलेट र कागजी प्रश्नावली प्रणाली हुँदै बिदेशस्थित कुटनैतिक नियोगमा द्वितीय गणना मार्फत राष्ट्रिय जनगणना सम्पन्न गर्ने लक्ष्य राखेको तथ्यांक कार्यालय नुवाकोटले जनाएकोे छ ।

दश वर्ष पछि हुन लागेको जनगणनामा २०७८ को २५ वैशाखदेखि १५ जेठसम्म प्रत्येक घरपरिवारको सूचीकरण गरिने भएको छ । यसैगरी, २५ जेठदेखि ८ असारसम्म मूलगणना गरिने भएकाले तथ्य अंकमा आधारित रहेर जनगणनामा सहभागि हुन सबै नागरिकलाई आग्रह गरिएको छ । 

राष्ट्रिय जनगणना २०७८ को तयारी बिषयक अन्तक्रियामा देशभरका गाउँगाउँमा खटिने गणकको रूपमा प्रयोग गरिने शिक्षकको विद्यालय तह पश्चात गणित बिषय अध्ययन गरेकालाई समेत खटाउने तयारी रहेको कार्यालयले जनाएको छ ।