१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ माघ ६ सोमबार १०:३६:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

यसकारण हुन्छ बालबालिकामा मस्तिष्क पक्षघात

Read Time : > 1 मिनेट
२०७६ माघ ६ सोमबार १०:३६:००

 डा. अखिल ताम्राकार
बालरोग विशेषज्ञ
कान्तिपुर अस्पताल

मस्तिष्कको पक्षघात बालबालिकामा हुने अपांगताको प्रमुख कारण हो । बच्चा गर्भमा रहँदा, जन्मने प्रक्रियामा हुँदा र जन्मिसकेको तीन वर्षसम्म मस्तिष्कको पक्षघात हुन सक्छ । यसले मस्तिष्कको कुनै भाग नष्ट गरिदिने वा मस्तिष्कको वृद्धिविकासमा रोकावट सिर्जना गरिदिने गर्छ । मस्तिष्क पक्षघात हुँदा मांसपेशी कमजोर हुने वा काम गर्नै नसक्ने, बच्चा सुस्त मनस्थितिको हुने, बोल्न, सुन्न, देख्न नसक्ने, छारेरोगजस्ता लक्षण देखिने गर्छन्  ।

कारण

  •  बच्चामा मस्तिष्क पक्षघात हुनुका धेरै कारण छन् । यदि बच्चाले कुनै कारण लामो समयसम्म सास फेर्न नसकेमा मस्तिष्कमा असर पर्छ । फलस्वरूप बच्चा अपांग भएर जन्मिन्छ । 
  •  करिब ७० प्रतिशत मस्तिष्क पक्षघात गर्भावस्थामा हुने गर्छ । गर्भावस्थामा चोट लाग्नु, गर्भवतीमा रेडिएसन एक्स्पोजर हुनु, थाइराइडको समस्या, गर्भवतीमा संक्रमण देखिनु, स्वास्थ्यमा हानि गर्ने खानेकुराको सेवनलगायत मस्तिष्क पक्षघातका कारण हुन् । 
  •  बच्चा जन्मिने प्रक्रियाका दौरानसमेत मस्तिष्कघात हुने सम्भावना अत्यधिक हुन्छ । बच्चा जन्मिसकेपछि विभिन्न किसिमका संक्रमण, वंशाणुगत रोग, थाइराइडमा समस्या, मेनेन्जाइटिस, दिमागमा असर पर्ने गरी चोटपटक लागेमा मस्तिष्कघात हुने जोखिम रहन्छ । 

लक्षण 

  •  सुरुवातको चरणमा हाड तथा नसा लुलो हुने गर्छ । बिस्तारै हात–खुट्टा कडा हुँदै जान्छ । जसले गर्दा लुगा लगाउन पनि गाह्रो हुँदै जान्छ । 
  •  मस्तिष्क पक्षघात भएका ४० देखि ५० प्रतिशत बच्चा सुस्त मनस्थिति भएर जन्मिन्छन् । 
  •  उमेरअनुसार शारीरिक तथा मानसिक विकास हुँदैन । कतिपयमा शरीरको एकापट्टि भागमा प्यारालाइसिस पनि हुने गर्छ । बिस्तारै आँखा नदेख्ने, नसुन्ने, बोल्न नसक्ने, अनुभव गर्न वा प्रतिक्रिया जनाउन नसक्नेजस्ता समस्या देखिन थाल्छन् । 
  •  मांसपेशी लुला हुने वा धेरै कडा हुँदा शरीर सन्तुलनमा रहन सक्दैन । करिब १५ प्रतिशतमा छारेरोगजस्तै समस्या देखिन्छ । शरीरमा कम्पन हुन्छ । बच्चाहरूमा खाएको नपच्ने वा खाँदा सर्किने, निमोनिया हुने हुन्छ । 

उपचार

मस्तिस्क पक्षघातको लक्षण देखापरेमा चिकित्सकको सल्लाह लिनुपर्छ । एमआरआई, इसिजी आदिको माध्यमबाट यो समस्या पत्ता लगाउन सकिन्छ । मस्तिष्क पक्षघातको पूर्ण उपचार हुँदैन । थेरापी र शल्यचिकित्साबाट बच्चालाई पुनस्र्थापना गर्न सकिन्छ । बच्चाको शरीर सन्तुलनमा राख्न फिजियोथेरापी गरिन्छ ।

उपचारका क्रममा बालरोग विशेषज्ञ, हाडजोर्नी रोग विशेषज्ञ, नसारोग विशेषज्ञलगायत धेरै विशेषज्ञको आवश्यकता पर्छ । बच्चालाई थप विकलांग हुन नदिन र आफ्नो काम आफैँ गर्न सक्ने बनाउन उपचार आवश्यक हुन्छ ।