मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
पारस मुकारुङ
२०७६ माघ ६ सोमबार ०८:२०:००
Read Time : > 4 मिनेट
दृष्टिकोण

रेडियो नेपालका गीतमा म्युजिक नेपालको रजाइँ

Read Time : > 4 मिनेट
पारस मुकारुङ
२०७६ माघ ६ सोमबार ०८:२०:००

घरीघरी त लाग्छ, रेडियो नेपालको उत्पादन बालुवाटार या गोकर्णको जग्गा हो, जसमा अमुक व्यापारीको रजाइँ चलिरहेछ

हामीलाई धेरैपछि मात्र थाहा भयो, रोयल्टी के हो भनेर । आफ्नो बौद्धिक सम्पत्तिमाथि कुनै पनि स्रष्टाको हक हुन्छ । यसलाई कानुनले पनि सुरक्षित गरेको छ । मरेपछिको ५० वर्षसम्म पनि बौद्धिक सम्पत्तिमा उसको हक हुन्छ । नेपालको सन्दर्भमा हेर्दा स्रष्टाहरूले कुनै पनि ठाउँबाट राम्रोसँग रोयल्टी प्राप्त गरिरहेको अवस्था छैन । स्रष्टाको रोयल्टी केही सीमित व्यक्ति र संस्थाले भरपुर प्रयोग गरिरहेका छन् । त्यो कुरा बल्ल थाहा भएको छ । हामी आफ्नो बौद्धिक सम्पत्तिमाथि हक दाबी गरिरहेका छौँ । 

हामीले आफ्नो हक दाबी किन गर्छौं ? श्रद्धेय गायक अरुण थापाका कति गीत सुपहिट छन् ? अहिलेको पुस्ताले पनि अरुण थापालाई उत्तिकै रुचाउँछ । तर, उहाँको लास बागबजारको गल्लीबाट उठाउनुपर्छ । एउटा स्रष्टाले त्यसरी मर्नुपर्ने अवस्था किन आउँछ ? उसले जीवनभर आफूलाई सिर्जना कर्ममा लगाएको हुन्छ । यदि उसको सिर्जनाले उचित मूल्य पाउने भए अरुण थापा जस्ता स्रष्टा गल्ली र गेस्ट हाउसमा भेटिने थिएनन् । अहिले पनि कतिपय अवस्थामा स्रष्टाको लास जलाउने दाउरा किन्ने पैसा हुन्न । सबै मिलेर चन्दा उठाउनुपर्छ । झनै अरुण थापाको समयमा कस्तो थियो होला ? हामी अनुमान गर्न सक्छौँ । त्यो वेला अहिलेजस्तो संघसंस्था खडा भइसकेका थिएनन् । स्रष्टाको त्यस्तो निरीह मृत्युले खुब दुखाउँथ्यो । त्यसपछि हामीले स्रष्टाका लागि भनेर गीतकार, संगीतकार, प्रस्तोता संघजस्ता संस्थाको अवधारणा ल्याएका हौँ । 

यहाँ अरुण थापाजस्ता सयौँका लास सहरका गल्ली–गल्लीमा भेटिन्छन् । जबकि उनीहरूको सिर्जना संसारभर बेचेर कोही व्यक्ति र संस्था धनी बनिरहेको छन् । करोडौँ आम्दानी लिइरहेका छन् । कार चढेर हिँडिरहेका छन् । तर, स्रष्टाले पाउनुपर्ने न्यूनतम रोयल्टी पनि पाएका छैनन् । अनि हामी आन्दोलित नभए को हुन्छ ? सिर्जनाको कुरालाई परै राखिदिऊँ । संगीतकार संघले वर्षैपिच्छे देउसी खेलेर संगीतकर्मी कोष खडा गरेको छ । यसको मूलभूत उद्देश्य एउटै हो– स्रष्टाहरू बिरामी पर्दा उपचार गर्न सकियोस् । मर्दा दाउरा किन्न सकियोस्, बेवारिसे मृत्यु नहोस् । हामीले त्यही देउसी खेलेको रकमबाट बिरामी स्रष्टालाई आर्थिक सहयोग गरिरहेका छौँ । जोसुकै मर्दा पनि लास उठाउन जान्छौँ । तर, हाम्रो सिर्जना कहाँ छ, कसले खाइरहेको छ ?

हाम्रो सिर्जनाले मूल्य पाउनुपर्छ भनेर हामी आन्दोलित भएका हौँ । सिर्जनाको मूल्य केही व्यावसायिक कम्पनीले फुलपातीको दिन दिने बक्सिस होइन, न हो कुनै दान, दक्षिणा नै । यो त हाम्रो अधिकारको कुरा हो । हामीले चन्दा होइन, सिर्जनाको मूल्य मागेका हौँ । एउटा सर्जक बाँचुन्जेल उसले सिर्जना कर्म गर्छ । पैसा आउने उसको अरू बाटो हुँदैन । त्यसैबाट उसले परिवारको खर्च धान्नुपर्ने हुन्छ । हाम्रै सिर्जना बेचिरहेकाहरूसँग हामीले आफूले पाउनुपर्ने प्रतिशतको दाबी गरेका हौँ । कसैले हाम्रै सिर्जनाको व्यापार गरिरहेको छ भने हामीले दाबी गर्न पाउने कि नपाउने ? 

यातायातका साधनबाट रोयल्टी पाउनुपर्छ भनेर ८–१० वर्षदेखि कुरा उठाइरहेका छौँ । तर, यातायात कार्यालयको हाकिम परिवर्तन हुनासाथ नियम खारेज गरिदिन्छ । झनै यो सरकारले अस्ति गीतका कारण दुर्घटना बढ्यो भनेर गीत नै बन्द गरिदिए । यसरी सरकारले ल्याउने हरेक नीतिले पनि हामीलाई खुम्च्याइराखेको छ । यातायात मन्त्रालयले निर्देशिकामा के लेखेको छ भने, डिलक्स गाडीको चार गुणा चार सिट हुनुपर्ने, पानीको व्यवस्था हुनुपर्ने, पत्रपत्रिका, म्युजिक सिस्टम हुनुपर्ने उल्लेख गरेको छ । त्यहीअनुसार भाडादर यातायात व्यवसायीले तोक्छ । उसले यातायात मन्त्रालयको निर्देशिकले तोकेबमोजिमका हरेक शीर्षक छुट्याएर तोक्ने भाडादरमा लागू गरेको हुन्छ ।

मानौँ, काठमाडौंबाट धरानको भाडादर १२ सय छ । त्यो १२ सय यात्रुले पानी, पत्रपत्रिका, संगीतलगायत शीर्षकमा तिर्ने रकम जोडिएर बनेको हो । अब त्यो शीर्षकमा संगीतलाई जति छुट्याइएको छ, त्यो त हामीले पाउनुपर्‍यो नि ! हामीले रोयल्टीको कुरा गर्दा यातायात व्यवसायीले भिख मागेजस्तो गर्छन् । त्यो हाम्रो सिर्जनाको मूल्य हो नि ! यातायात मात्र होइन, हरेक क्षेत्रमा हामी रोयल्टीबाट वञ्चित छौँ । अहिले हामी म्युजिक नेपालविरुद्ध आन्दोलनमा छौँ । मुद्दामा जाने तयारीमा छौँ । म्युजिक नेपालले अहिले जति र जस्तो काम गरिरहेको छ, त्यो सरासर गलत हो । उसले रेडियो नेपाल र रत्न रेकर्डिङ संस्थानको ९० प्रतिशत ज्यादा गीतको कपीराइट लिएको छ, त्यो पनि गीतकार, संगीतकार, प्रस्तोता र निर्मातामध्ये कुनै एक पक्षसँग मात्र सम्झौता गरेर । एक पक्षसँग मात्र सम्झौता गर्दा अरूचाहिँ अरुण थापा हुनु ? 

झनै रेडियो नेपाल त राज्य हो, राज्यको सम्पत्ति हो । रेडियो नेपाल र रत्न रेकर्डिङ संस्थानमा रेकर्ड भएका जति पनि गीत–संगीत छन्, त्यो सम्पत्ति एउटा व्यक्ति वा संस्थाले मात्र प्रयोग गर्न पाउँदैन । यसमा रेडियो नेपाल मौन छ । अझै रेडियो नेपालबाट म्युजिक नेपाल पुगेका छन् गीतहरू । कसले, कसरी पुर्‍यायो त्यहाँसम्म ? अब प्रश्न बेच्नेमाथि मात्र होइन, पुर्‍याउने हुलाकीमाथि पनि हो । रेडियो नेपालले उत्पादन गरेका गीतमा राज्यको अधिकार छ । के बालुवाटारको जग्गा या गोकर्णको जग्गा हुन् ती सिर्जना ? म्युजिक नेपालले रेडियो नेपाललाई एक रुपैयाँ बुझाएको छैन ।

आर्थिक अधिकारबाट राज्य मौन छ । घरीघरी त लाग्छ, रेडियो नेपालको उत्पादन बालुवाटार या गोकर्णको जग्गा हो, जसमा अमुक व्यापारीले रजाइँ गरिरहेको छ । हामीले बालुवाटार या गोकर्णको जग्गाबारेमा त प्रशस्त बोल्यौँ, तर यस विषयमा पनि बोल्नुपर्छ । रेडियो नेपालबाट ५० हजार हाराहारीको संख्यामा त्यति धेरै कन्टेन्ट म्युजिक नेपालले कसरी आफ्नो बनायो ? यदि यो केस राजनीतिक हुन्थ्यो भने मिडियाले पनि उचाल्थ्यो होला । हामी कलाकारलाई मनोरञ्जनको साधन मानेर कसैले मतलवै गरेनन् । नत्र यति लामो समयसम्म यसरी अपचनल हुने थिएन । 

केही समयअघि संगीतकार संघ र गीतकार संघ मिलेर रेडियो नेपाललाई प्रश्न गरेका थियौँ कि तपाईंहरूले लिखित रूपमै म्युजिक नेपाललाई कन्टेन्ट दिनुभएको हो ? जबकि रेडियो नेपालमा रेकर्डेड आफ्नै गीत पनि सर्जकले लैजाँदै गर्दा हस्ताक्षर गर्नुपर्छ ‘यो सिर्जना गैरव्यावसायिक प्रयोजनका लागि मात्र प्रयोग गर्नेछु’ भनेर । तर, कुनै लगानी नै नभएको बिचौलिया कम्पनीले कसरी व्यावसायिक बनायो ? हाम्रो आन्दोलन यही प्रश्नको उत्तरका लागि हो ।

हामीले रेडियो नेपाललाई प्रश्न गर्दा रेडियो नेपालका निर्देशक सुरेशकुमार कार्कीले कुनै पनि सिर्जना लिखित रूपमा कुनै व्यक्ति र संस्थालाई रेडियो नेपालले नदिएको बताए । गीत–संगीत मात्रै होइन, कार्यक्रम, नाटक, भाषणलगायत विभिन्न महत्वपूर्ण उत्पादन कसैलाई पनि लिखित रूपमा नदिएका बताए । रेडियो नेपालले विज्ञप्ति नै जारी गर्‍यो । अब के प्रमाणित हुन्छ भने, म्युजिक नेपालले रेडियो नेपालका गीत चोरी गरेर आफ्नो सर्वाधिकार राखेको हो ? 

हामीले के खोजिरहेका छौँ भने ती गीत–संगीत म्युजिक नेपालले कसरी लियो त ? म्युजिक नेपालले सम्झौता नै गरेको छैन । उसले एकाधिकार प्रयोग ग¥यो, मनोमानी गर्‍यो । सर्वाधिकार हुनका लागि स्रष्टा, संगीतकार, गीतकार, प्रस्तोता र रेडियो नेपालसँग सम्झौता गर्नुपथ्र्यो । त्यसपछि हुनुपथ्र्यो, मैले बिजनेस गरेबापत यति प्रतिशत यसरी रोयल्टी बाँड्छु । रेडियो नेपालको उत्पादन भएकाले रेडियो नेपाललाई यति बुझाउँछु । तर, कुनै सम्झौता भएको छैन, यो सरासर चोरी हो । राज्यको सम्पत्ति कसैले पनि चोरी गरेर व्यवसाय गर्न पाउँदैन । रेडियो नेपाल राज्यको एउटा निकाय हो, त्यसको सम्पत्ति कुनै संस्थाले बेचेर खान पाउँदैन । 

स्रष्टा बाँच्यो भने, सबै धनी हुने हो । स्रष्टाले सिर्जनामार्फत भाषा, संस्कृति, इतिहासलाई झनै बलियो बनाएर बचाइराख्ने हो । तर, यहाँ त स्रष्टाको सम्पत्तिमाथि नै दादागिरी छ । सिर्जनाको रोयल्टी लिन जाँदा स्रष्टालाई विवरण दिइन्न । स्रष्टालाई जगेर्ना नगरी उसको सिर्जनाको व्यापार गर्ने अधिकार कसैलाई छैन । स्रष्टा सिर्जनाका मूल हुन् । मूल जरो नै सुकाउँछौँ भने हामी उसले कस्तो फल दिन्छ ? अहिले हामी सिर्जनाको सबै मूल्य पाउनुपर्छ भनेर हिँडिरहेका छैनौँ ।

कपिराइट ऐनअनुसार रोयल्टी मागिरहेका हौँ । स्रष्टाको सिर्जना बेचेर कमाएको रकमबाट सर्जकले पाउनुपर्ने रकम छ्ट्याऊ भनेका हौँ । बितेर गएका स्रष्टाको अधिकार सुनिश्चित गर्न सक्यौँ भने आउने पुस्ताले अझै राम्रो सिर्जना दिएर भाषा, संस्कृतिलाई झनै बलियो बनाएर लैजाने हो । अहिले हामीले लडिरहेको रोयल्टीको लडाइँ आउने पुस्ताले लड्न नपरोस्, ऊ ढुक्कले सिर्जना कर्ममा लागोस् भन्ने हाम्रो सपना हो । तर, यसरी नै नेपाली संगीतमा माफियातन्त्र चलिरहन्छ भने अझै कयौँ दशक अरुण थापाका लास गल्ली–गल्लीमा गनाइरहनेछन् । बेवारिसे भइरहनेछन् । यसबारे सचेत हुन जरुरी छ । 

(लेखक संगीतकार संघका महासचिव हुन्)