मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७६ माघ ६ सोमबार ०७:२०:००
Read Time : > 2 मिनेट
अर्थ

७५६ मेगावाटको तमोर आयोजनामा १ खर्ब चिनियाँ लगानी

Read Time : > 2 मिनेट
२०७६ माघ ६ सोमबार ०७:२०:००
  • आयोजनामा ७४ प्रतिशत चिनियाँ सरकारी कम्पनी पावर चाइना र २६ प्रतिशत नेपाली कम्पनी एचआइडिसिएलको लगानी हुने
  • दुई कम्पनीको जेभीलाई सर्वेक्षण अनुमति दिने समझदारी, डेढ वर्षभित्र डिपिआर र दुई वर्षभित्रै परियोजना विकास सम्झौता गरिने

साढे ७ सय मेगावाटको तमोर जलाशययुक्त जलविद्युत् आयोजनामा चिनियाँ कम्पनीले १ खर्ब रुपैयाँ लगानी गर्ने भएको छ ।   चिनियाँ सरकारी कम्पनी पावर चाइनाले नेपाली कम्पनीसँगको संयुक्त उपक्रममा (जेभी) मा १ खर्ब रुपैयाँ लगानी गर्ने भएको हो । आयोजनाको कुल लागत १ खर्ब ३७ अर्ब रुपैयाँ अनुमान गरिएको छ । त्यसमा २६ प्रतिशत लगानी गर्ने नेपाली कम्पनी हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) ले भने करिब ३७ अर्ब रुपैयाँ व्यहोर्नेछ । जेभीमा चिनियाँ कम्पनीको ७४ प्रतिशत हिस्सा रहनेछ । आयोजना अघि बढाउन सर्वेक्षण, अध्ययन तथा विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार गर्ने कार्यका लागि उक्त जेभीसँग आइतबार सहमतिपत्रमा हस्ताक्षर भएको छ । 

समझदारीपत्रमा बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी, एचआइडिसिएका प्रमुख कार्यकारी अधिकृत छविराज पोखरेल र पावर चाइनाका प्रतिनिधिले हस्ताक्षर गरेको बोर्डका प्रवक्ता बलराम रिज्यालले जानकारी दिए । ‘समझदारी भएकै मितिबाट १८ महिनाभित्र अध्ययन सकेर डिपिआर तयार गर्ने सर्तमा समझदारी भएको छ,’ उनले भने, ‘कुनै कारणले काम हुन नसके ६ महिना थप गर्न सकिनेछ ।’ अब उक्त जेभी कम्पनीले वडासमक्ष आवेदन गरेपछि अनुमतिपत्र प्रदान गरिने उनले बताए । 

साढे तीन दशकअघि जाइकाले पहिचार गरे पनि ओझेलमा परेको यो आयोजनालाई लगानी बोर्डले ०७५ चैतमा भएको सम्मेलनमा लगानी आह्वान गरेको थियो । त्यसमा लगानी प्रस्ताव गर्नेमध्ये एचआइडिसिएल र पावर चाइनाको संयुक्त उपक्रमलगायत जापानी कम्पनी फुजी इलेक्ट्रिक, कतारको नब्रास जलविद्युत् कम्पनी र अमेरिकी जे पावरसँगको संयुक्त उपक्रमको नेपाली कम्पनी म्याट्रिक्स इन्टरनेसनल ‘सर्ट लिस्ट’मा परेका थिए । तर, संक्षिप्त सूचीमा परेका कम्पनीहरूसँग बोर्डले प्रस्ताव माग्दै सूचना जारी (रिक्वेस्ट फर प्रपोजल) गरेको थियो । यसमा एचआइडिसिएल–पावर चाइना जेभी छानिएको हो । 

 डिपिआरपछि पिडिए वार्ता 
डिपिआर तयार भएपछि उक्त डिपिआरकै आधारमा दुवै पक्षबीच परियोजना विकास सम्झौता (पिडिए) वार्ता सुरु गरिनेछ । अर्थात्, २ वर्षभित्र आयोजना विकासका लागि सम्झौता गर्न पिडिए वार्ता सुरु हुनेछ । करिब १ खर्ब ३७ अर्ब रुपैयाँ लगानी हुने अनुमान गरिएको परियोजनामा पावर चाइनाले ७४ प्रतिशत र एचआइडिसिएलले २६ प्रतिशत लगानी गर्ने समझदारी दुई कम्पनीबीच भइसकेको छ ।

 प्राधिकरणले गरेको अध्ययन खर्च लगानीकर्ताले व्यहोर्नुपर्ने 
यसअघि विद्युत् प्राधिकरण आयोजनाको सम्भाव्यता अध्ययन गर्दा लागेको खर्च उपलब्ध गराउन माग गरेको छ । प्राधिकरणले ४ चैत ०६८ मा आयोजना अध्ययन गर्न लाइसेन्स माग गरेको थियो । ऊर्जा मन्त्रालयले ३० साउन ०७० मा २ सय मेगावाट क्षमताको आयोजनाको अध्ययन अनुमति दिएको थियो । तर, प्राधिकरणले अध्ययन प्रतिवेदनले ७ सय ६२ मेगावाटको आयोजना बनाउँदा उच्च प्रतिफल प्राप्त हुने देखाएको थियो । 

आयोजना आकर्षक रहेको भन्दै निर्माणमा लैजान प्राधिकरणले ०७३ सालमै सहायक कम्पनीमा तमोर पावर कम्पनी लिमिटेड दर्ता गरेको थियो । तर, मन्त्रालयले यो परियोजना प्राधिकरणलाई दिएन । २ वर्षका लागि दिइएको लाइसेन्सको म्याद थप पनि भएन । आयोजनाको अध्ययनमा प्राधिकरणले गरेको खर्च (लगानी) फिर्ता गर्न बोर्डसँग माग गरेको छ । तर, उक्त परियोजना विकासकर्ताले नै व्यहोर्नुपर्ने बोर्डले जनाएको छ । 

 तमोरको बाँध प्रयोग गरी तमोर–चिसाङ डाइभर्सनको योजना  
प्राधिकरणले गरेको अध्ययनअनुसार आयोजनाको बाँधबाट तमोर–चिसाङ डाइभर्सन योजनासमेत अघि बढाएको छ । यसबाट थप ६० मेगावाट विद्युत् प्राप्त हुने अनुमान गरिएको छ । त्यस्तै, झापा, मोरङ र सुनसरीका झन्डै ३० हजार हेक्टरमा सिँचाइ हुनेछ । तर, नयाँ लगानीकर्तासँग यसबारे समेत छलफल गर्न बाँकी रहेको छ ।   

पहिचान भएको ३४ वर्षपछि बल्ल अध्ययन
पाँचथर र तेह्रथुमको सीमा सप्तकोसीको सहायक नदी तमोरमा यो आयोजना पर्छ । बाँधस्थल तेह्रथुमको ओख्रे र पाँचथरको स्याबरुम्बा गाविसमा पर्छ । धरान–धनकुटा सडकको मूलघाटदेखि ३० किलोमिटरको दूरीमा छ । यो पहुँचमार्ग खुलिसकेको छ । जाइकाले ०४१/४२ मै ‘कोसी नदी जलस्रोत विकासको गुरुयोजना अध्ययन’मार्फत यो आयोजनाको अध्ययन गरी आकर्षक ठहर गरेको थियो ।