मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
फाइल फोटो
मित्र भण्डारी काठमाडाैं
२०७६ माघ ५ आइतबार २०:१४:००
Read Time : > 1 मिनेट
समाचार

प्रेमीलाई विश्वास गर्दा प्रेमिकाको जागिर संकटमा

Read Time : > 1 मिनेट
मित्र भण्डारी काठमाडाैं
२०७६ माघ ५ आइतबार २०:१४:००

प्रहरी कर्मचारीले बोक्ने पेस्तोल (हतियार) तथा संचार साधनलगायत अपरेशनमा प्रयोग हुने सामाग्री डिउटीबाहेक अन्य समयमा बोक्ने वा प्रयोग गर्न पाइदैन् । यी सामाग्री डिउटी समयबाहेक अरू अवस्थामा बोक्नु परे उपल्लो निकायमा जानकारी गरी पूर्व स्वीकृति लिनुपर्छ । 

हतियार बाहिर लैजान पर्ने भए कारणसहितको कागजी प्रक्रिया पूरा गरी 'ग्यारेन्टी' पत्रमा हस्ताक्षर गर्नु पर्छ । जसमा हतियार हराए वा चोरी भएमा सजायको भागिदार हुनु पर्ने व्यवस्था रहेका हुन्छ । प्रहरी कर्मचारीले बोकेको हतियार हराए १४ वर्ष जेल सजाय हुने कानुनी व्यवस्था छ । 

यस्तै, घटना भयो जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत प्रहरी जवान रनिता केसीको जीवनमा । उनले बोक्दै आएको पेस्तोल कोठाबाट हरायो । सोही प्रकरणमा उनी यतिबेला निलम्बनमा परेकी छन् । धनुषा प्रहरीले उनीमाथि अनुसन्धान प्रकियाअगाडि बढाएको छ ।

यस्ताे थियाे, घटना

गत ३० मंसिर साँझ प्रहरी जवान केसीले पेस्तोल कोठामा लिएर गएकी थिइन् । सोही दिन उनले बोक्ने गरेको पेस्तोल चोरी भयो । पेस्तोल चोर्ने व्यक्ति अरू नभई उनकै प्रेमी थिए- सिवेन्द्र यादव । नवलपरासी रामग्राम नगरपालिका–१० स्थायी घर भएका उनीहरूको प्रेम सम्बन्ध लामो थियो ।

केसी प्रहरीमा भर्ना भएपछि उनको पोस्टिङ धनुषा भयो । उनीसँगै यादव पनि उतै गएर सँगै बस्दै आएका थिए । उनीहरूबीच सामान्य विवाद भएपछि यादवले प्रेमिकाले बोक्दै आएको पेस्तोल बोकेर हिँडे ।

प्रेमिकाले बोक्दै आएको हतियार लिएर भागेका यादव गत ३ पुषमा नेपाल–भारत सिमाना जयनगरबाट पक्राउ परे । पेस्तोलबारे जानकारी नहुँदासम्म केसीलाई जिल्ला प्रहरी कार्यालय धनुषाले कतै जान दिएको थिएन । 

यादवले प्रेमिकाबाहेक आफू बस्ने छुट्टै कोठाबाट पेस्तोल फेला परेको थियो । उनी हाल पुर्पपक्षका लागि जेल चलान भएका छन् ।

निलम्बनमा परेकी प्रहरी जवान केसीमाथि प्रहरीले अनुसन्धान जारी राखेका छ । उनीबारे अदालती कारबाहीका लागि 'प्रहरी विषेश अदालत' गठन गरी मुद्दा दर्ता गरे पनि विचाराधीन छ । जवान केसी उच्च अदालत जनकपुरकी न्यायाधीश शकुन्तला घिमेरेको सुरक्षा गार्डका रुपमा खटिएकी हुँदा आफूले बोक्ने पेस्तोल साथमा राख्दै आएकी थिइन् । 

प्रेमिकालाई घुर्क्याउन यादवले पेस्तोल बोकेर हिडेपछि कानुनी झमेला परेका छन् । साथै उनीहरूको प्रेम सम्बन्धसमेत दुई किनारामा पुगेको छ ।

पेस्तोल हराएको भोलिपल्ट जिल्ला प्रहरी कार्यालयमा जानकारी गराएकी केसीले ३ पुसमा केही राहत पाइन् । प्रहरीले पेस्तोल बोकेर फरार भएका आफ्नै प्रेमी यादव पक्राउ परेसँगै उनले राहत पाइन् । तर कानुनी झमेलाबाट भने सफाइ पाउन सकेकी छैनन् । उनको जागिर के हुने हो कुनै टुंगो लागेको छैन । उनीमाथि आफूले बोकेको पेस्तोलको संरक्षण गर्न नसकेको र लापरवाही गरेका भन्दै प्रदेश-२ प्रहरीले कारबाहीको प्रक्रिया अगाडि बढाएको छ ।

प्रहरी विषेश अदालतको आगामी बस्ने इजलासले केसीको मुद्दा टुंगोमा पुर्याउने धनुषा प्रहरीले जनाएको छ । प्रहरी विषेश अदालतमा सरकारी वकिल, जिल्ला प्रशासन कार्यालयको अधिकृत र  अनुसन्धानमा खटिएको प्रहरी निरीक्षक गरी तीन सदस्य रहने व्यवस्था छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रामेश्वर कार्कीका अनुसार डिउटीमा रहेका प्रहरी कर्मचारीले आफ्नो हतियारको जिम्मा लिएर मात्र प्रयोग गर्नु पर्ने हुन्छ । सोहीअनुसार प्रहरी जवानलाई हतियार दिइने व्यवस्था छ । त्यसको संरक्षण उनै प्रहरीको हुने भएकाले निलम्बन गरी अनुसन्धान गरिएको हो । यसको टुंगो प्रहरी विषेश अदालतबाट नै हुनेछ ।