१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नरजङ तामाङ हुम्ला
२०७६ माघ ५ आइतबार १७:३९:००
Read Time : < 1 मिनेट
समाचार

हुम्लामा पनि छाउगोठ भत्काउने अभियान सुरु

Read Time : < 1 मिनेट
नरजङ तामाङ हुम्ला
२०७६ माघ ५ आइतबार १७:३९:००

सरकारले छाउगोठ हटाउन स्थानीय प्रशासनलाई निर्देशन दिएपछि हुम्लामा पनि छाउगोठ भत्काउने अभियान सुरु भएको छ ।

स्थानीय तहका जनप्रतिनिधि, स्थानीय महिला, प्रहरी प्रशासन छाउगोठ भत्काउने अभियानमा जुटेका छन् । प्रमुख जिल्ला अधिकारी विनिता भट्टराईका अनुसार खार्पुनाथ गाउँपालिका– ४ को छिप्रा र ५ को खपेलगाउँमा स्थानीय तह, स्थानीय महिला र प्रहरी प्रशासनको रोहबरमा सात वटा छाउगोठ भत्काइएको छ । छाउगोठ भत्काउन सम्बन्धित वडाका वडाध्यक्षहरू आफैँ पनि सक्रिय रूपमा लागेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय, स्थानीय तह र प्रहरीले तयार पारेको लिष्टमा जिल्लाभर २७ वटा छाउगोठ छन् । यो लिष्ट प्रारम्भिक मात्र भएको भन्दै जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरले पूर्ण विवरण आउन भने बाँकी रहेको बताए । जिल्ला प्रशासनले सर्केगार्ड, अदानचुली, चंखेली, ताजाकोट र सिमकोट गाउँपालिकामा छाउगोठ भत्काउने अभियानलाई पहिलो प्राथमिकतामा राखेको छ । मुलुकी अपराध संहितामा छाउपडीलाई अपराधका रूपमा परिभाषित गर्दै छाउगोठमा बस्न र बस्न पठाउने दुवैलाई तीन महिना कैद र तीन हजार जरिवानाको व्यवस्था गरिएको छ ।

यसअघि जिल्लास्थित विभिन्न गैरसरकारी संस्थाको पहलमा छाउपडीमुक्त घोषणा गरिए पनि पुनः छाउगोठ निर्माण गरिएका छन् । छाउपडी परम्परामा महिनावारी र सुत्केरी भएकी महिलालाई घरदेखि अलग्गै रहेको छाउगोठमा राख्ने चलन छ । महिनावारी हुँदा ५ देखि ९ दिन र सुत्केरी हुँदा कम्तीमा १५ दिन छाउ बार्ने गरिन्छ । छाउगोठमै महिलाको ज्यान जाने गरेको भन्दै गृहमन्त्रालयले स्थानीय प्रशासनलाई छाउगोठ हटाउन कडा निर्देशन दिएको छ ।