मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ ५ आइतबार १६:२५:००
Read Time : > 1 मिनेट
समाचार

गोकर्णको जग्गा लिज बापत यतिले दिएभन्दा ५० करोड बढी तिर्छु, मलाई दिनुस् : कांग्रेस नेता रायमाझी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ ५ आइतबार १६:२५:००

कांग्रेसका राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझीले गोकर्ण रिसोर्टको जग्गा लिज वापत यति हाल्डिङ्स प्रालिले दिए भन्दा ५० करोड बढी आफुले तिर्ने भन्दै भाडामा आफुलाई दिन सरकारसमक्ष प्रस्ताव गरेका छन् ।

राष्ट्रियसभाको आइतबारको बैठकको विशेष समयमा बोल्दै राष्ट्रियसभा सदस्य रायमाझीले अहिले भाडामा लिएको कम्पनिले भन्दा आफुले ५० करोड रुपैयाँ बढी दिने भन्दै आफूलाई भाडामा दिन सरकारलाई चुनौति एिका छन् । उनले सरकारका मन्त्री, सभाध्यक्ष र माननीयहरुलाई साक्षी राखेर आफुले सरकारलाई ५० करोड बढी दिने प्रस्ताव राखेका हुन् । 

‘सरकारका मन्त्री ज्युहरु उपस्थित हुनुहुन्छ । सम्माननीय अध्यक्ष ज्यू र माननीय ज्यूहरुसबैलाई साँक्षी राखेर म भन्न चाहन्छु । त्यो रिसोर्स जुन हैसियत र बाटोमा दियो, जसरी दियो सरकारलाई मेरो प्रस्ताव छ आज,’ उनले भने, ‘म सरकारलाई प्रस्ताव राख्न चाहन्छु । जति पैसामा दिएको छ, त्यो भन्दा ५० करोड बढी म तिर्न तयार छु । सरकार दिन तयार छ मलाई ? छैन । किन दिदैन भने त्यहाँ ५० करोड भन्दा बढीको अनियमितता भएको छ ।’

उनले समय नसकिँदै नेपाल ट्रष्टको जग्गा गोकर्ण रिसोर्टलाई भाडामा दिने काममा ५० करोड बढी आर्थिक अनियमितता भएको दाबी पनि गरे । उनले प्रधानमन्त्री केही गिरोहको घेराभित्र मात्रै रमाउने गरेको र उनीहरुकै रिपोटिङका आधारमा मुलुकको विश्लेषण गर्ने गरिएको भन्दै गम्भीर आपत्ती जनाए । 

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट गर्नुपर्ने कामहरु पनि बालुवाटारबाट गर्ने गरेको उल्लेख गर्दै सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा ‘प्रधानमन्त्रीका बाल्यकालमा लगाएका वस्त्रहरु राख्ने हो ?’ भनी प्रश्न गरे ।

उनले नेपाल विशेष सेवा सम्बन्धी विधेयकले नागरिकको व्यक्तिगत फोन ट्याब गर्न समेत पाउने गरि ल्याईएको विधेयक स्वीकार गर्न नसकिने बताए ।

‘हिजो राजा ज्ञानेन्द्रले कू गरेर मोबाईल बन्द गर्दा बेठिक र आज जनताको फोन ट्याप गर्न पाउने विधेयक ल्याएर नयाँ महाराजा बन्न खोज्ने कसरी ठिक हुन सक्छ सम्माननीय अध्यक्ष महोदय ?’ उनले प्रश्न गरे । 
राष्ट्रियसभा सदस्य राजकुमार कुँवरले १० वर्षे शसस्त्र द्वन्द्वपछि त्यसकै आडमा सरकारमा पुगेकाहरुले तत्कालिन द्वन्द्वमा योगदान दिएका घाइते योद्धालाई वेवास्ता गर्ने काम भएको गुनासो गरे । उनले सरकारमा पुगेपपछि काम नलाग्ने जनयुद्ध भन्न थालिएको भन्दै वास्तवमा कम्युनिस्टको सरकार हो भने वेपत्ता नागरिकको स्थिति सार्वजनिक गरि घाइते अपाङ्गको उपचार र उचित व्यवस्थापनमा ध्यान दिन आग्रह गरे । 

उनले नेपाली समाजमा एमसीसीको बारेमा भुसको आगो सल्के जस्तो भएको भन्दै त्यसबारे थप स्पष्ट पार्न आवश्यक रहेको बताए । उनले मदन भण्डारी लोकमार्ग बांगो टिंगो नभएर सिधा हुनुपर्छ र रोल्पा र सल्यान बञ्चित हुनु हुँदैन भनेर आफुले राखेको धारणा बारे सरकारको धारणा नआएको भन्दै थप स्पष्ट पार्न माग गरे ।

राष्ट्रियसभा सदस्य कोमल ओलीले मिलेनीयम च्यालेन्ज कर्पोरेशनका बारेमा दलहरुबाटै स्पष्ट विरोध नआएको र यसबारे भ्रम फैलाउने काम भएको भन्दै यस तर्फ सचेत हुन सरकारको ध्यानाकर्षण गराए ।