मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
तस्बिर : दीपेन्द्र ढुंगाना
२०७६ माघ ५ आइतबार ११:४७:००
Read Time : > 2 मिनेट
नयाँCity

भक्तपुर सहर : अरनिको वारि अरनिको पारि

Read Time : > 2 मिनेट
२०७६ माघ ५ आइतबार ११:४७:००

सहरका बस्ती

नेपाल र चीन जोड्ने पहिलो सडक हो, अरनिको राजमार्ग । काठमाडौं, भक्तपुर, काभ्रे र सिन्धुपाल्चोक हुँदै चीनको स्वशासित क्षेत्र तिब्बतको खासासम्म जोड्छ, यस मार्गले । यही राजमार्गले भक्तपुरमा भने सूर्यविनायक र भक्तपुर नगरपालिका गरी दुई महत्वपूर्ण  हिस्सालाई विभाजन गरेको छ ।

काठमाडौंतर्फबाट जाँदा अरनिको राजमार्गको वारि रहेको भक्तपुर नगरपालिका दरबार स्क्वायर, पोट्री स्क्वायर, दत्तात्रेय र न्यातपोल मन्दिरजस्ता पुरातात्विक महत्वका सम्पदाले भरिपूर्ण छ । पारिपट्टि भने सूर्यविनायक र डोलेश्वर महादेव मन्दिर, घ्याम्पेडाँडा, रानीकोटजस्ता मठमन्दिर र पर्यटकीय गन्तव्य छन् ।

अरनिको राजमार्गले यी दुई नगरपालिकाको प्रशासनिक विभाजन मात्र गरेको छैन, भिन्न रहनसहन र संस्कृतिलाई पनि छुट्याएको छ । बायाँतर्फ भक्तपुर नगरपालिकामा रैथाने नेवार समुदाय र उनीहरूको पुरानो रहनसहन पाइन्छ । दायाँतर्फ बाह्मण, क्षत्री, तामाङ र मंगोलियन समुदायकोे बाहुल्यता छ । भक्तपुर नगरपालिका क्षेत्रमा पुरातन संस्कृति झल्काउने घरहरू छन् ।

सूर्यविनायकतर्फ भने आधुनिक जीवनशैली, कंक्रिटका भवन र मिश्रित बसोवास देख्न सकिन्छ । भाषा, बोलीचाली र व्यवसायमा भिन्नता पाइन्छ । एकातर्फ परम्परागत शैली र अर्कोतर्फ आधुनिक समाजको ऐनाजस्तो देखिन्छ । भक्तपुरतर्फ हाकुपटासी र दौरासुरुवालमा सजिएका महिला र पुरुषको आवतजावत बाक्लो देखिन्छ । सूर्यविनायकतर्फ ठ्याक्कै नेवारी परम्पराको सिको कम देखिन्छ ।

‘भक्तपुरको पुरानो राजनीतिक र भौतिक प्रणाली अनि आधुनिक समाजबीच विभाजन रेखा बनेको छ, अरनिको राजमार्ग,’ संस्कृतिविद् तेजेश्वरबाबु ग्वंग भन्छन् । पुरानो नगर राज्यको झल्को दिन्छ, भक्तपुरले । जतिवेला भक्तपुर नगर बनिसकेको थियो, सूर्यविनायकतर्फ घना जंगल थियो । भक्तपुरकै वरिपरि रहेका नगरकोट र चाँगुनारायण क्षेत्र पनि जंगल नै थिए । भक्तपुरले आफ्नो पुरानो पहिचान कायमै राख्यो । घना जंगल फाँडेर बसेका बस्तीले भने आधुनिक स्वरूप पाए ।

भक्तपुरतर्फका नगरकोट र चाँगुनारायणमा पनि केही हदसम्म पुरातन नेवारी संस्कारको झल्को पाइन्छ । बदलियो त केवल सूर्यविनायक नगर क्षेत्र । मिश्रित समुदायको बसोवासका कारण त्यस क्षेत्रमा पुरातन नेवारी संस्कृतिको विस्तार कम भयो । विभिन्न जातजातिको विविधता पाइन्छ, त्यस क्षेत्रमा । सूर्यविनायक नगरपालिकाका स्थायी बासिन्दा ग्वंग भन्छन्, ‘मैले घर बनाउँदा वरिपरि फाँट मात्र थियो । घर विरलै थिए । तर, अहिले थोरै खुला स्थान पनि देखिँदैन ।’ उनको पैतृक घर भने भक्तपुर नगरपालिकामा पर्छ ।

अरनिको राजमार्गले नेपाललाई चीनसँग मात्र जोड्दैन, भक्तपुरको हकमा पुरातन संस्कार, संस्कृति अनि आधुनिकताबीच विभाजन रेखाको काम पनि गरेको छ

भक्तपुर क्याम्पसमा इतिहास विषयका पूर्वसह–प्राध्यापक विश्वमोहन जोशीका अनुसार सूर्यविनायकभित्रका गुन्डु, सिपाडोललगायत स्थानमा पहिल्यैदेखि थोरै नेवार थिए भने ब्राह्मण, क्षत्री र तामाङ जातिको बाहुल्यता थियो । यस्तै, उपत्यकाबाहिरबाट आएकाहरूले पनि त्यहीँ घरजग्गा जोडे । ‘सोहीअनुसारले त्यहाँ रहनसहनको विकसित भयो,’ उनी भन्छन् । 

भक्तपुर नगरपालिकाका एकदेखि १० नम्बर वडासम्म पहिल्यैदेखि नेवार समुदायको बसोवास थियो । उनीहरूले नै परम्परागत जात्रा, पहिरन र जीवनशैलीलाई निरन्तरता दिए । अरनिको पारिपट्टि भने मिश्रित समुदायको बसोवासका कारण भक्तपुरभन्दा भिन्न रहनसहन विकास भयो । ‘यसखाले विविधतालाई स्वाभाविक मान्नुपर्छ,’ जोशी भन्छन् ।

नेपाल सरकारले सम्पदा संरक्षणका लागि परियोजना नै सञ्चालन गरेको थियो, भक्तपुरतर्फ । काठमाडौं र पाटनमा रहेका पुरातात्विक सम्पदाका लागि पनि उक्त सरकारी योजना कार्यान्वयनमा थियो । सम्पदा संरक्षण अभियान काठमाडौं र पाटनमा भन्दा भक्तपुरमा बढी सफल देखिएको ग्वंग बताउँछन् । उनका अनुसार त्यसको कारण पनि रैथाने नेवार समुदायको बाहुल्यता रहनु हो । ‘आफ्नो घरको माया परिवारकै सदस्यलाई बढी हुने रहेछ,’ ग्वंग भन्छन्, ‘त्यही परिपाटी नेपाल सरकारका योजनाहरूमा पनि लागू भएको पाइन्छ ।’

उपत्यकामा देशभरका मानिसको बसोवास छ । दशकौँदेखि यहाँ बसिरहेकाहरूको ध्यान कला र सम्पदाको संरक्षणमा देखिनु स्वाभाविकै हो । हुन त पछि आएका काठमाडौंका बासिन्दामा यहाँका कला र संस्कृतिको जगेर्नामा ध्यान कम देखिँदैन । यहाँको मौलिकता बचाउन उपत्यकाका बासिन्दा सचेत देखिन्छन् । किनकि, त्यही मौलिकतामा पुरातन नेपालको पहिचान संरक्षण गर्दै यहाँको पर्यटकीय विकासको पाटो अन्तरनिहित छ ।