मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
सुरेन्द्रकुमार कामती
२०७५ माघ २ बुधबार १०:०५:००
Read Time : > 1 मिनेट
प्रदेश

बाढीपीडितलाई लक्षित गर्दै सुरक्षित भवन बनाइँदै

Read Time : > 1 मिनेट
सुरेन्द्रकुमार कामती
२०७५ माघ २ बुधबार १०:०५:००

आफ्नै टोलमा बन्दै गरेको सुरक्षित भवन देखेर सिरहा नगरपालिका १२ सारस्वरकट्टीकी ७२ वर्षीया पूरणीदेवी यादव खुसी छिन् । कमलाको पूर्वीय तटमा रहेको सारस्वरकट्टीकी पूरणीदेवीले बर्सेनि बाढीकै कारण घरबार छाडेर सुरक्षित स्थानमा भाग्नुपर्ने बाध्यता हट्ने सोचेर प्रसन्नता प्रकट गरिन् । ‘बुहारी भई आएपछि बर्सेनि साउन–भदौमा कमला नदीको बाढीको सन्त्रासमा बस्नुपर्ने अवस्था थियो,’ उनले भनिन्, ‘तर, अब घरबार छाडेर अन्यत्र भाग्नुपर्दैन ।’

पूरणीदेवीजस्तै गेनादेवी यादवले आउँदो वर्षायाममा गाउँघर छाडेर भाग्नुपर्ने अवस्था नहरने बताइन् । ‘आफ्नै टोलमा बन्दै गरेको सुरक्षित भवनमै टोलका सबै सुरक्षित रूपमा बस्न सक्छौँ,’ गेनादेवीले भनिन् । ४५ वर्षीया गेनादेवीले वर्षात्मा बाढी आउने डरले रातभर निदाउन नसक्ने अवस्था रहेको सुनाइन् । 

२५ लाखमा सुरक्षित भवन
१ सय २८ घरधुरीलाई लक्षित गरी सुरक्षित भवन निर्माण सारस्वरकट्टीमा भइरहेको छ । ४ सय ८७ जनसंख्या रहेको उक्त टोलमा सिरहा नगरपालिका, स्थानीय उपभोक्ता र दातृनिकायको सहयोगमा २५ लाख ३८ हजार चार सय १० रुपैयाँको लागतमा सुरक्षित भवन बन्दै छ । सिरहा नगरपालिकाले ५ लाख, दातृनिकायले १८ लाख १७ हजार दुई सय पाँच रुपैयाँ र स्थानीय उपभोक्ताको दुई लाख २३ हजार दुई सय २५ रुपैयाँको लागतमा भवन निर्माण हुँदै छ । उक्त सुरक्षित भवनको निर्माण पूरा गरी समुदायलाई हस्तान्तरण गर्न ५ प्रतिशत काम बाँकी रहेको सिरहा नगरपालिकाका इन्जिनियर जय साहले बताए ।

दुईतले भवन निर्माणको काम अन्तिम चरणमा पुगेको अन्तरसीमा बाढी उत्थानशील परियोजना सिरहाका कार्यक्रम संयोजक नीराजन चौधरीले बताए । उक्त कार्यक्रमअन्र्तगत २०७४ चैतबाट सुरक्षित भवन निर्माण सुरु गरिएको हो । विपत्को वेला जोखिमबाट जोगिन सहयोगी होस् भन्ने उद्देश्यले सुरक्षित भवन निर्माण गरिएको आसमान नेपालका कार्यक्रम व्यवस्थापक विजय यादवले बताए । प्लास्टर र ढोका लगाउन बाँकी रहेको स्थानीय निर्माण समितिले जनाएको छ ।

भवन निर्माणपछि चिस्यान केन्द्र
परियोजनाले सुरक्षित भवन निर्माणसँगै स्थानीयको आयआर्जनका लागि दूध संकलन र चिस्यान केन्द्र खोल्ने तयारी गरिरहेको छ । विपत्का वेला सुरक्षित हुन र अन्य वेला आयआर्जनमा सहयोग पुग्ने गरी दूध संकलन केन्द्र र चिस्यान केन्द्रका रूपमा विकसित गर्ने उद्देश्य रहेको परियोजना संयोजक चौधरीले बताए ।