Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
काठमाडौं
२०७६ माघ ५ आइतबार ०८:३९:००
Read Time : > 1 मिनेट
खेलकुद

आर्मीद्वारा एमएम कपको उपाधि रक्षा

Read Time : > 1 मिनेट
काठमाडौं
२०७६ माघ ५ आइतबार ०८:३९:००

म्यान अफ द म्याच सुसन भारीले २४ रन खर्चेर चार विकेट लिँदा पुलिस ८५ रनले पराजित

त्रिभुवन आर्मी क्लबले मनमोहन स्मृति राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिता (एमएम कप)को उपाधि रक्षा गरेको छ । इनरुवा मैदानमा शनिबार भएको विभागीय ‘डर्बी’ फाइनलमा नेपाल पुलिस क्लबलाई ८५ रनले पराजित गर्दै आर्मीले उपाधि पक्का गरेको हो । आर्मीले गत वर्ष पनि पुलिसलाई नै पराजित गर्दै उपाधि जितेको थियो । उपाधिसँगै आर्मीले चार लाख प्राप्त गरेको छ । उपविजेता पुलिसले दुई लाखमा चित्त बुझायो । इनरुवा रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले ४८.५ ओभरमा सबै विकेट गुमाएर १८४ रनको योगफल तय गरेको थियो । प्रत्युत्तरमा पुलिस २४.४ ओभरमा ९९ रनमै समेटिन पुगेको थियो ।

पुलिसलाई लक्ष्यको आधा भागमै रोक्न आर्मीका बायाँहाते स्पिनर सुसन भारीले चार विकेट लिए । ६ ओभर बलिङ गरेका सुसनले २४ रन मात्रै खर्चिएका थिए । उनी फाइनल खेलको उत्कृष्ट खेलाडीसमेत चुनिए । उनीसँगै साहब आलमले तीन र कुशल मल्लले दुई विकेट लिँदा पुलिसको ब्याटिङ इनिङ्स ध्वस्त भयो । पुलिसका लागि कुशल भुर्तेलले २७ बलमा ३१ रन जोडेका थिए ।  अन्य खेलाडीले योभन्दा माथिको योगदान गर्न सकेनन् ।

कुशलले आफ्नो इनिङ्समा दुई छक्का र तीन चौका प्रहार गरे । यसैगरी, अनिल शाहले १८ बलमा २१ र अमित श्रेष्ठले २३ रनको योगदान गर्दा अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् । पुलिसका तीन खेलाडी पवन सर्राफ, ललित भण्डारी र सागर ढकाल डकआउट भए । पुलिसको ब्याटिङ इनिङ्समा प्रारम्भिक ब्याट्सम्यान सुनिल धमला आठ, दीपेन्द्रसिंह ऐरी पाँच, दिलीप नाथ चार र कप्तान मञ्जित श्रेष्ठ एक रनमै आउट हुन पुगे । त्यसअघि आर्मीका लागि कप्तान विनोद भण्डारीले ४० रन योगदान दिएका थिए । विनोदले आफ्नो इनिङ्समा ६६ बलको सामना गरी चार चौका प्रहार गरेका थिए ।

राजेश पुलामी मगरले ३१ रन जोड्न ४९ बलमा चार चौका हिर्काए । ओपनर राजु रिजालले २२ रन बनाए । उनले ३६ बलमा चार चौका ठोके । विक्रम सोबले १५, कुशल मल्लले १३ र रोहितकुमार पौडेलले ११ रन योगदान दिए । पुलिसका दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी र सागर ढकालले समान तीन विकेट लिएका थिए । ९.५ ओभर बलिङ गरेका दीपेन्द्रले २७, ललितले ३२ र सागरले २९ रन खर्चिएका थिए । यद्यपि, उनीहरूको प्रदर्शन टोलीलाई जितसम्म डोहो¥याउन पर्याप्त बनेन । बाँकी एक विकेट पवन सर्राफको नाममा रह्यो ।

सुसन सर्वाेत्कृष्ट खेलाडी 
आर्मीका बलर सुसन भारी प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी घोषित भए । उनले प्रतियोगितामा चार खेलबाट सर्वाधिक १५ विकेट लिए । उनले ५५ हजार रुपैयाँ प्राप्त गरेका छन् । यस्तै, आर्मीकै कुशल मल्ल प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यान र सुदूरपश्चिम प्रदेशका विनोद लामा उत्कृष्ट बलर घोषित भए । कुशलले चार खेलबाट एक शतकसहित १९६ रन जोडेका थिए । यस्तै, विनोदले तीन खेलबाट १४ विकेट लिए । उत्कृष्ट ब्याट्सम्यान र बलर घोषित कुशल र विनोदले समान २१ हजार प्राप्त गरे ।