१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७६ माघ ५ आइतबार ०७:०९:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

ललितपुरका सबै गाउँपालिका एम्बुलेन्सविहीन : दूध बोक्ने ट्यांकरले बोक्छन् बिरामी

Read Time : > 1 मिनेट
२०७६ माघ ५ आइतबार ०७:०९:००

ललितपुरका तीनै गाउँपालिका एम्बुलेन्सविहीन छन् । स्थानीय तहमा जनप्रतिनिधि आएको तीन वर्ष बितिसक्दा पनि उनीहरूको प्राथमिकतामा नागरिकको स्वास्थ्य उपचार नपर्दा स्थानीयवासी तरकारी बोक्ने गाडी र दूध बोक्ने ट्यांकरमा बिरामी राखेर अस्पताल लैजान बाध्य छन् ।

ललितपुरको बागमती गाउँपालिका, कोन्ज्योसोम गाउँपालिका र महांकाल गाउँपालिका एम्बुलेन्सविहीन छन् । यहाँका बासिन्दा गाउँमा कोही बिरामी परे दूध बोक्ने ट्यांकर र तरकारी बोक्ने गाडीमार्फत अस्पताल पु-याउँछन् । गाउँमा यस्ता गाडी पनि नपाए ललितपुरकै सहरी क्षेत्र चापागाउँ, सातदोबाटो, लेलेलगायतबाट एम्बुलेन्स बोलाउने गरेको स्थानीय बताउँछन् । यी स्थानबाट गाउँपालिकासम्म एम्बुलेन्स पुग्न कम्तीमा ४५ मिनेट लाग्छ । गाउँमा सहजै सवारीसाधन नपाउँदा गम्भीर प्रकृतिका बिरामीले उपचार अभावमा ज्यानै गुमाउनुपर्ने बाध्यतासमेत छ । 

दलचोकीका मदन थापाका अनुसार दुर्घटनामा परेका र प्रसूति बेथा लागेका बिरामी सबैभन्दा धेरै मारमा पर्छन् । उनले भने, ‘गाउँमा एम्बुलेन्स छैन । केही बिरामी परे लेले, लगनखेल, सातदोबाटोलगायतका ठाउँबाट एम्बुलेन्स मगाउँछौँ ।’ प्रसूति बेथा लाग्दा दूध बोक्ने ट्यांकर वा अन्य सवारीसाधनमा अस्पताल लैजाँदा बीचबाटोमै तलमाथि हुने हो कि भन्ने डर लाग्ने गरेको स्थानीय ज्ञानु नगरकोटीको भनाइ छ । उनले भनिन्, ‘प्रसूति बेथा, दुर्घटनाजस्ता घटना हुँदा एम्बुलेन्स बोलाउन समय लाग्छ । जसले गर्दा दूध बोक्ने ट्यांकर वा अन्य गाडी खोजेर अस्पताल पु-याउँछौँ । यस्तो वेला बिरामी अस्पतालसम्म पुग्छ कि पुग्दैन भन्ने लाग्छ ।’ महांकाल गाउँपालिकाकी उपाध्यक्ष कमला लामा तामाङले पनि एम्बुलेन्स अभावमा स्थानीयले समस्या भोगिरहेको स्वीकार गरिन् । 

गाउँपालिकाहरूले वडास्तरीय स्वास्थ्यचौकीबाट आधारभूत स्वास्थ्य सेवा भने प्रवाह गरिरहेका छन् । तर, आधारभूत स्वास्थ्य सेवाबाहेकका सेवा लिनुपर्दा ठूला अस्पताल जानुपर्ने हुन्छ ।  बागमती गाउँपालिका ललितपुर महानगरपालिकाको एकान्तकुनाबाट ३० किलोमिटर दूरीमा छ । यस्तै, कोन्ज्योसोम गाउँपालिका लगनखेलबाट २४ किलोमिटर  र महांकाल गाउँपालिका ५० किलोमिटर दूरीमा छ । 

 केही समयपछि सञ्चालन गर्दै छौँ
कमला लामा तामाङ उपाध्यक्ष,महांकाल गाउँपालिका

महांकाल गाउँपालिकाकी उपाध्यक्ष कमला लामा तामाङका अनुसार गाउँपालिकाको आफ्नै एम्बुलेन्स नभए पनि केही समयअघि बैतर्नीधाम सुधार समितिले एम्बुलेन्स दिएको थियो । यो अहिले मर्मतका क्रममा भएकाले सञ्चालन हुन सकेको छैन । साथै, नेपाल रेडक्रस सोसाइटीसँग पनि एम्बुलेन्सका लागि पहल भइरहेको उनले बताइन् । समितिले दिएको एम्बुलेन्समा रङरोगन भइरहेको र केही समयपछि सञ्चालनमा आउने उनले दाबी गरिन् । 

एक साताभित्रै आउँछ
गोपीलाल सिंतान अध्यक्ष,कोन्ज्योसोम गाउँपालि

कोन्ज्योसोम गाउँपालिका अध्यक्ष गोपीलाल सिंतानले एक साताभित्र गाउँमा एम्बुलेन्स सञ्चालन हुने प्रतिबद्धता जनाए । उनले भने, ‘हामीले खरिद प्रक्रिया पूरा गरिसकेका छौँ । अहिले एम्बुलेन्स भन्सार छुटको प्रक्रियामा छ । एक साताभित्र गाउँमा एम्बुलेन्स आउँछ ।’ आवश्यकताअनुसार गाउँपालिकाकै गाडीले पनि बिरामीलाई अस्पताल लैजाने गरेको उनको भनाइ छ ।

यसै वर्ष एम्बुलेन्स खरिद गर्छौँ
वीरबहादुर लोप्चन,अध्यक्ष बागमती गाउँपालिका

बागमती गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनका अनुसार एम्बुलेन्स खरिदका लागि गत अर्थिक वर्षमै प्रक्रिया अगाडि बढाइसकेको छ । तर, खरिद प्रक्रिया लम्बिँदा ढिला भइरहेको छ । उनले भने, ‘चालू आर्थिक वर्षमा एम्बुलेन्स खरिदका लागि अर्थ मन्त्रालयबाट अनुमति लिने प्रक्रियामा छौँ । अबको डेढ महिनामा एम्बुलेन्स गाउँमा आइसक्छ ।’ एम्बुलेन्स खरिद गर्दा सरकारलाई एक प्रतिशत राजस्व तिरेपछि भन्सारलगायतमा कर छुट हुने भएकाले केही समय लागेको उनको भनाइ छ ।