१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
धनगढीको नोभा अस्पतालमा उपचार गराउँदै घाइते गीता र ईश्वरी
२०७६ माघ ५ आइतबार ०६:२६:००
Read Time : < 1 मिनेट
समाचार

महिनावारी हुँदा घरको बाटो हिँडेको भन्दै छिमेकी पुरुषबाट कुटिए दुई महिला

महिनावारी भएकी महिलाको आँखा लागेर भैँसीले दूध नदिएको आरोप

Read Time : < 1 मिनेट
२०७६ माघ ५ आइतबार ०६:२६:००

सरकारले महिला हिंसा र कुसंस्कार अन्त्य गर्न कर्णाली र सुदूरपश्चिमका गाउँ–गाउँमा छाउगोठ भत्काउँदै हिँडेको छ । तर, सुदूरपश्चिमकै कञ्चनपुरमा महिनावारी हुँदा आफ्नो घरको बाटो हिँडेको भन्दै एक पुरुषले दुई महिलालाई निर्घात कुटेका छन् । 

बेलडाँडी गाउँपालिका–१ टाइगर बस्तीका दलबहादुर शाहले शुक्रबार छिमेकी गीता खड्का र ईश्वरी खड्कामाथि हातपात गरेका हुन् । महिनावारीका वेला घरको बाटो हिँड्दा आँखा लागेर भैँसीले दूध नदिएको आरोप लगाउँदै शाहले कुटेको पीडितहरूले बताएका छन् । गीता र ईश्वरी देउरानी–जेठानी हुन् । 

‘मिन्स भएको वेला मेरो घरको बाटो किन हिँडेको भन्दै देउरानीलाई दलबहादुरले गाली ग¥यो,’ धनगढीको नोभा अस्पतालमा उपचाररत ईश्वरीले भनिन्, ‘मैले तथानाम नबोल्नुस् भनेपछि हामी दिदी–बहिनीलाई नै कुटपिट ग¥यो ।’ गीताको पनि नोभा अस्पतालमै उपचार भइरहेको छ । खड्का परिवार आरक्षपीडित भएकाले शाह परिवारकै जमिनमा बस्दै आएको छ । दुवै परिवारको सधैँ हिँड्ने बाटो नै एउटै छ । तर, त्यही बाटो प्रयोग गर्दा आफ्नो घरको बाटो हिँडेको आरोप लगाएर दलबहादुरले कुटपिट गरेका हुन् । 

दलबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलडाँडीले जनाएको छ । छिमेकी, स्थानीय र महिला अधिकारकर्मीले घटनाको छानबिन गरी दोषीमाथि कारबाहीको माग गरेका छन् । 

‘सरकारले छाउपडी उन्मूलनका लागि देशव्यापी अभियान चलाएको छ, तर बेलडाँडीको घटनाले त्यो अभियानमाथि नै प्रहार गरेको छ,’ अधिकारकर्मी माया नेगीले भनिन् । दोषीलाई उन्मुक्ति दिन चलखेल गरे आन्दोलनमा उत्रिने महिला अधिकारकर्मीले चेतावनीसमेत दिएका छन् ।