मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
२०७६ माघ ४ शनिबार १०:४१:००
Read Time : > 2 मिनेट
विश्व

अस्ट्रेलियामा  उँटको नियति

Read Time : > 2 मिनेट
२०७६ माघ ४ शनिबार १०:४१:००

युरोप ‘आविष्कार युग’मा नेतृत्वदायी शक्ति थियो । युरोपेली लामो यात्रा गरेर नयाँ–नयाँ ठाउँ र विषय खोजी गरिरहेका थिए । यसैक्रममा १७औँ शताब्दीको सुरुआत अर्थात् सन् १६०६ मा डच यात्री विलेम जान्सजुन अस्ट्रेलियामा पाइला राख्ने पहिलो युरोपेली बने । 

चार सय ४० वर्षअघि अस्ट्रेलियामा उनले पाइला टेक्दासम्म कहिँ कतै पनि उँट अस्तित्वमा थिएन । तर, आज विश्वकै सर्वाधिक जंगली उँट अस्ट्रेलियामा पाइन्छन् । जंगली उँटको संख्या झन्डै तीन लाख रहेको अनुमान छ । उँटबाट हैरान भएपछि अहिले अस्ट्रेलिया यसको सफायामा लागेको छ । उँटलाई अर्कै ग्रहको प्रजाति वा विषालु किटाणुजस्तो व्यवहार गर्दै यसको संख्या फैलनबाट रोक्ने प्रयासमा छ । 

जनवरी ८ देखि अस्ट्रेलियामा सुरु भएको पाँचदिने उँट मार्ने अपरेसनमा हेलिकोप्टर प्रयोग गरी जंगली उँटको सामूहिक संहार गरियो । सञ्चारमाध्यमले पाँचदेखि १० हजारसम्म उँट मारिएको जनाएका छन् । र, यस अपरेसनको विश्वव्यापी निन्दा भएको छ । धेरैले यसलाई अमानवीयताको पराकष्ठा भनेका छन् । 

अस्ट्रेलियामा जान्सजोन पुगेको झन्डै दुई सय ३० वर्षसम्म पनि उँटको बथान देखिँदैन्थ्यो । उँट खासमा अस्टेलियाको रैथाने प्रजाति होइन, बरु युरोपेलीले  औपनिवेशिक आवश्यकता पूर्ति गर्न लगेका थिए । १९औँ शताब्दीको सुरुआतमा बेलायतीहरू यस महादेशका कुना–कुनासम्म पुग्न चाहन्थे, सुक्खा मौसममा उनीहरूको घोडाले राम्रोसँग काम गर्दैन्थ्यो । 

विदेशबाट उँट ल्याएर पाल्न थालेको एक सय ६० वर्षपछि अहिले अस्ट्रेलियामा हेलिकोप्टर प्रयोग गरेर मार्न थालिएको छ । पाँच दिनमा दश हजार उँट मारिएका छन् भने अझै मारिँदै छन् । 
 

त्यसपछि न्यु साउथ वेल्स सरकारले अक्टुबर १८४० मा उँट ल्यायो । कानरी आइल्यान्डबाट पहिलोपटक चारवटा  उँट ल्याइयो । ह्यारी नामको एउटा उँट मात्रै अस्टेलियाको वातावरणमा बाँच्न सफल भयो । ह्यारीको अन्त्य पनि राम्रो भएन । ह्यारीमाथि आफ्नै मालिकलाई मारेको आरोप लाग्यो र उसलाई गोली हानेर मारियो । 

ह्यारीको दुर्भाग्यका बाबजुद उँट आयात रोकिएन र डिसेम्बर १८४० मा एउटा भाले र अर्को पोथी उँट अस्टेलिया पुर्‍याइयो । अर्को वर्ष थप दुई र यसरी नै उँट थपिए । घोडाको दाँजोमा अस्टेलियाका सुक्खा भूभागमा उँट प्रभावकारी देखिए । यातायातका साधनका रूपमा माग बढ्यो, हप्तौँसम्म पानी नखाई हिँड्नसक्ने क्षमताबाट सुक्खा क्षेत्रमा लामो यात्रा गर्ने यात्रीलाई फाइदा पुग्यो ।

यसपछि दशकौँसम्म अस्ट्रेलियाको दैनिक जीवनमा उँट महत्वपूर्ण हिस्सा रह्यो । त्यसैले, त सन् १९०७ मा ब्रिटिसहरूले एकैपटक झन्डै २० हजार उँट अस्टेलियामा आयात गरे । अधिकांश उँट अफगानिस्तान, भारत र अरब विश्वबाट लगियो । उँटसँगै उँट चलाउने व्यक्तिहरूसमेत झिकाइयो । उनीहरू अधिकांश मुसलमान समुदायका थिए । दशकौँसम्म उँटले अस्टेलियाको व्यापार र विकासमा महत्वपूर्ण योगदान गर्‍यो । उपनिवेशकालमा उँट प्रतिष्ठाको विषय र बहुमूल्य सम्पत्ति थियो । 

फेरियो अवस्था 

टाढाको भूमिमा उँटले आफ्नो घर त भेट्यायो, तर लामो समयसम्म अवस्था अनुकूल रहेन सकेन । २०औँ शताब्दीको सुरुआतसँगै मोटरगाडीको लोकप्रियता बढ्यो र अस्ट्रेलिया यसबाट अछुतो रहन सकेन । सन् १९२० यता मानिसहरूले उँटलाई घरबाट निकालेर त्यसको सट्टा मोटरगाडी प्रयोग गर्न थाले । अर्को, दशकसम्म अस्टेलियामा घरेलु उँटको संख्या खस्कियो र जंगली उँट बढे । घरबाट निस्किएपछि जंगली बनेका यी उँटको संख्या दुई गुणा चौगुणा हुँदै बढ्न थाल्यो । 

सन् १९६९ मा यस्ता जंगली उँटको संख्या झन्डै १५ हजारदेखि २० हजार पुग्यो । त्यसपछिको २० वर्षमा यो संख्या दुई गुणाले बढ्यो । सन् २००१ देखि २००८ को अवधिमा यो संख्या सर्वाधिक बढ्यो । र, अनुसन्धानबाट ६ लाख रहेको पत्ता लाग्यो ।

जंगली जनावरविद्हरूले अस्ट्रेलियामा घुमन्ते उँटको व्यवस्थापन नगर्ने हो भने आठदेखि १० वर्षमा दोब्बर पुग्नसक्ने चेतावनी दिए । त्यसपछि अस्ट्रेलियन सरकारले एक्सन प्लान तयार गर्‍यो । अनि ठूलो संख्यामा सामूहिक संहार थाल्यो । २०१३ सम्म यो संख्या तीन लाखमा झारियो । आजको दिनमा जंगली उँटहरू पश्चिम अस्टेलिया, दक्षिण अस्टेलिया, क्विन्सल्यान्ड र उत्तरी भूभागमा पाइन्छन् । यसरी अस्ट्रेलियामा कुनै समय ठूलो सम्पत्ति मानिएको उँट अहिले काम नलाग्ने बनेको छ । 

के उँट समस्या हो ?

आफ्ना पुर्खाहरू मानिसको दमनबाट मुक्त भएको झन्डै एक शताब्दीयता आज यी उँट अस्ट्रेलियाका धेरै ठाउँमा स्वतन्त्र घुम्छन्, खान्छन् र सुत्छन् । उँटहरूले आफू र आफ्ना पशुपंक्षीले प्रयोग गर्ने सीमित पानी खाइदिने गरेको गुनासो आदिवासी अस्टेलियनहरूको छ । जंगली उँट बस्ने क्षेत्र अस्टेलियाको सर्वाधिक सुक्खा क्षेत्रमध्ये पर्छ । सन् २०१९ मा यहाँको तापक्रम निकै उच्च रह्यो र पानी पनि परेन । पानीको अभाव थप बढ्यो । उँटले पानीका स्रोत प्रदूषित गरेको, अन्नबालीमा क्षति र तारबार भत्काइदिएको स्थानीय बताउँछन् । 

उँटले सांस्कृतिक महत्व बोकेका क्षेत्र विशेषगरी चिहान भत्काइदिएको र मृतात्माको चिहानमाथि बनाइएका रूखसमेत लडाइदिएको उनीहरूको गुनासो छ । त्यस्तै, सिकारलाई अवरोध गर्ने र भगाइदिने गरेर सिकारीहरूको बाटोमा व्यवधान खडा गरेको उनीहरूको आरोप छ । अधिकारीहरूका अनुसार उँटले बर्सेनि झन्डै १० मिलियन अमेरिकी डलरबराबर क्षति पुर्‍याउने गरेको छ ।
(एजेन्सीको सहयोगमा)