मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
अशेष मल्ल नाटककार
२०७६ माघ ४ शनिबार १०:११:००
Read Time : > 1 मिनेट
सप्तरंग

साहित्यमा नलागेको  भए कृषिमा लाग्थें : अशेष मल्ल

Read Time : > 1 मिनेट
२०७६ माघ ४ शनिबार १०:११:००

बिहान ब्रह्म मुहूर्तमा उठ्छु । बिहान ४ देखि ४ः३० बजेसम्मको समयलाई ब्रह्म मुहूर्त मानिन्छ । उठिसकेपछि ध्यान गर्छु । पूर्वीय दर्शनमा सूर्य उदाउनुभन्दा अगाडिको समयलाई सबैभन्दा महत्वपूर्ण समय मानिन्छ । यस समयमा ध्यान गरे ब्रह्माण्डको शक्तिशाली ऊर्जा प्राप्त हुन्छ भन्ने विश्वास छ ।

ध्यान सकिएपछि योग गर्छु । राति सुत्ने वेलामा ओखर र देशी बदाम भिजाएर राख्छु । बिहानको नित्यकर्म सकिएपछि त्यही भिजाएको ओखर र देशी बदाम खान्छु । यो अरूलाई खान सल्लाह दिन्छु । 

बिहान ७ बजेपछिकोे समय सर्वनाम थिएटरबाट सुरु हुन्छ । सर्वनाममा तीन–तीन महिनाको एक्टिङ कोर्स छ । अहिले सोह्रौँ ब्याच चलिरहेको छ । अब सत्रौँ ब्याच सुुरु हुन्छ । म त्यहाँ कक्षा लिन जान्छु । १० बजे कक्षा सकिएपछि पत्रपत्रिका पढ्छु । पत्रपत्रिका पढ्ने लत लागेको छ । 

पत्रपत्रिका पढेपछि बिहानको ब्रेकफास्ट खान्छु । माछा, मासु, चुरोट, रक्सी केही खादिनँ । पूर्ण रूपमा साकाहारी हुँ । खाना खाने समय मध्याह्न १ बजे हो । दिउँसो रिहर्सल र मिटिङ हुन्छ । त्यसपछिको समय भेटघाटमा बित्छ । साँझ घर फर्किसकेपछि केही समय ध्यान गर्छु । ध्यान गर्ने पनि लत नै लागिसकेको छ । 

रातिको समयमा लेख्ने गर्छु । अन्य समयमा पनि लेख्छु, तर रातिको समय लेख्नको लागि महत्वपूर्ण समय हो । त्यसपछिको समयमा सामाजिक सञ्जाल र टिभी हेर्छुु । विश्वभरि चलिरहेको संगीत र नाटकबारे खोजीखोजी हेर्ने गर्छु ।

कला–साहित्य क्षेत्रमा कविता, कथा र चित्रकलामा बढी रुचि छ । २५ भन्दा बढी किताब लेखिसकेको छु । साहित्य र रंगमञ्चमा नलागेको भए कृषिमा लाग्ने थिएँ । कृषिमा धेरै रुचि छ । घरको छतमा कागती, धनियाँलगायत रोपेको छु । हामी सबै अल्छी भएका छौँ । 

घरको छतमा रोप्दा आफैँलाई खानको लागि पनि पुग्छ । फुर्सदको समयमा पूर्वीय दर्शन पढ्ने गर्छु । प्राचीन समयको सबैभन्दा ठूलो दर्शन पूर्वीय दर्शन नै हो । हामीसँग गीता छ । कैयौँ पुराण छन् । मलाई सबैभन्दा बढी मन पर्ने दर्शन गौतम बुद्धको दर्शन हो । अहिले विपश्नाबारे लेखिरहेको छु । केही वर्षदेखि हरेक साझ यसलाई पूर्णरूप दिन लागिपरेको छु ।