मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ ३ शुक्रबार १९:२५:००
Read Time : > 1 मिनेट
समाचार

परिवारसहित आत्महत्याको प्रयास गर्ने विनयमाथि कर्तव्य ज्यान मुद्दा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ ३ शुक्रबार १९:२५:००

बिहीबार बिहान चन्द्रागिरी नगरपालीका–४ का ३८ वर्षीय विनय लामिछाने, श्रीमती जमुना र दुई छोराहरू ससुराली जाने भन्दै घरबाट निस्के । जमुनाको माइती परिवार धादिङस्थित आदमघाटमा बस्दै आएका छन् । तर उनीहरु आदमघाटमा पसेनन्, करिब २५ किलोमिटर अगाडि बढेर गाडीबाट ओर्लिए ।

विनयकाे परिवार धादिङ रोराङ गाउँपालिका–४ बाँदरे र पारीपट्टी गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ स्युरेनी जाेड्ने झोलुङ्गे पुलमा पुगे । उनीहरू झोलुङ्गे पुल तरेर पारी पुग्दा साँझकाे ६ बजेको थियो । त्यहाँ खाजा पसलमा पसे । विनय र जमुनाले नास्ता खाएनन्, बच्चाहरूलाई दुध किनेर खुवाए ।

जिल्ला प्रहरी कार्यालय बेनीघाट वृतका प्रमुख डिएसपी खगेन्द्र बहादुर खड्काले दिएको जानकारीअनुसार बच्चालाई दुध खुवाएपछि उनीहरु त्रिशुली नदीको किनार हुँदै अगाडि बढे । एक-एक बच्चा बाेकेका उनीहरु नदीमा बग्न थालेपछि तत्काल स्थानीय प्रत्यक्षदर्शीले प्रहरीलाई खबर गरेका थिए । तत्कालै घटनास्थल पुगेका प्रहरीले स्थानीय र्‍याफ्टिङ्ग व्यवसायीको सहयोगमा विनयलाई जिवित उद्धार गर्न सफल भयो । तर श्रीमती जमुना र बच्चाहरूकाे उद्धार गर्न प्रहरी असफल भयाे । जमुनाकाे शव तीन सय मिटर तल फेला पर्‍याे भने बच्चाहरू बेपत्ता भए । अहिले शसस्त्र प्रहरीको गोताखोर र नेपाल प्रहरीको टाेलीले बच्चाहरूकाे शव खाेजी गरिरहेकाे छ ।

सुसाइड नोट 

विनयले श्रीमतीसहित त्रिशुलीमा डुबेर आत्महत्या गरेको सुचना पाएसँगै थानकोट प्रहरीले उनको घरमा पुगेर अनुसन्धान गरेको थियाे । उनी थानकोटस्थित मंगोलदय बहुमुखी क्याम्पसका लेक्चर र १० वर्षदेखि अनलाइन व्यापार गदै आएकाे खुलेको छ । सोही व्यापारमा उनले ठूलो रकम गुमाएकाले ऋण तिर्न नसक्ने अवस्थामा पुगेपछि आत्महत्याको बाटो रोजेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनीहरूले आत्महत्याको प्रयास गर्नुअघि लेखेको सुसाइड नोट प्रहरीले फेला पारेको छ ।

चार लाइनमा लेखिएको सुसाइड नोटमा विनयले ऋण लिएका व्यक्तिको नाम र रकम खुलाइएको छ । सो लिष्टअनुसार उनले विभिन्न व्यक्तिबाट लिएको ऋण झन्डै १ करोड ५० लाख देखिएकाे छ । उनले सुसाइड नोटमा सबैभन्दा पहिला आफ्ना हजुरबुवासँग माफी मागेका छन् । त्यसपछि आमा, बच्चाहरू, आफन्त र साथीभाइलाई आफू ऋणबाट उठ्नै नसक्ने गरी फसेकाले आत्महत्याको बाटो रोजेको बताएका छन । 

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले प्रहरीको स्थलगत अनुसन्धानबाट विनय ऋणका कारण डिप्रेसनमा परी यस्तो निर्णयमा पुगेको बताए ।

विनयमाथि कर्तव्य ज्यान मुद्दा

जिल्ला प्रहरी कार्यालयले दुई नाबालकसहित श्रीमतीको मृत्युमा संलग्न रहेकाे भन्दै विनयलाइ कर्तव्य ज्यान मुद्दा अगाडि बढाउने भएको छ । जिल्ला प्रहरी कार्यलय धादिङका प्रमुख एसपी रविन्द्र अधिकारी भन्छन, ‘यो आत्महत्याभन्दा पनि हत्या नै हो । विनय यसका मुख्य अभियुक्त हुन् । उनले गरेको गलत निर्णयबाट दुई निर्दोश नाबालकसहित श्रीमतीको ज्यान गएको छ । उनीविरुद्ध कर्तव्य ज्यान सम्बन्धी कसुरमा मुद्दा चलाउछौँ ।’