१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
मित्र भण्डारी  काठमाडाैं
२०७६ माघ ३ शुक्रबार १४:४०:००
Read Time : > 1 मिनेट
समाचार

विनयको सुसाइड नोटः मिटरब्याजी ऋणका कारण आत्महत्या !

Read Time : > 1 मिनेट
मित्र भण्डारी  काठमाडाैं
२०७६ माघ ३ शुक्रबार १४:४०:००

धादिङ्गको झोलुङे पुलबाट बिहीबार त्रिशुली नदीमा हाम फालेको परिवारले व्यवसाय संचालनका लागि चर्को व्याजमा लिएको ऋण तिर्न नसक्दा सामुहिक आत्महत्याको बाटो रोजेको खुलेको छ ।

व्यवसाय सञ्चालनका लागि मिटर ब्याजीमा लिएको ऋण तिर्न धौ धौ परेपछि परिवारसहित सामुहिक आत्महत्याको बाटो रोज्नु परेको खुलेको प्रहरीले जनाएको हो । काठमाडौंको चन्द्रागिरी–४ स्थायी घर भएका विनय लामिछानेको सुईसाईड नोटबाट यस्तो तथ्य खुलेको प्रहरीले जनाएको छ ।

लामिछाने दुई नाबालक छोरा, श्रीमती जमुनासहित माघे संक्रान्ति मनाउन बुधबार ससुराली गाउँ गोरखाको घ्याल्चोक पुगेका थिए । संक्रान्ति मनाएर बिहीबार काठमाडौं फर्कने क्रममा साँझ साढे ६ बजे धादिङको बेनिघाटस्थित बाँदरे झोलुङ्गे पुलबाट उनको परिवार त्रिशुलीमा हाम फालेको थियो । स्थानीय र्याफटिङ व्यवसायीको सहयोगमा बेनिघाटबाट विनयको परिवारको उद्धारका लागि प्रहरी टोली खटिएको थियो ।

जिल्ला प्रहरी कार्यलय धादिङका प्रमुख प्रहरी उपरिक्षक रविन्द्र रेग्मीका अनुसार विनयको सकुशल उद्धार भएको छ भने मृत अवस्थामा उनकी श्रीमती जमुनाको शव फेला परेको छ । नदीमा हराइरहेका दुई वर्ष र ६ वर्षका छोराहरुको खोजी जारी छ । उद्दार गरिएका विनयको प्रारम्भिक उपचारपछि प्रहरीले घटनाबारे सोधपुछ गरेको थियो । उनले व्यवसाय सन्चालनका लागि लिएको ऋण र चर्को ब्याज तिर्न नसक्ने अवस्थामा पुगेपछि सामुहिक आत्महत्याको बाटो रोज्न पुगेको बताएका छन् ।

विनय–जमुनाको सुसाइड नोट

थानकोट प्रहरीले विनय लामिछानेको घरबाट सुसाइड नोट फेला पारेको छ । उक्त सुसाइड नोटमा विनयले कृषिजन्य तथा खुद्रा व्यापार सञ्चालनका लागि लिएको ऋण र त्यसको चर्को ब्याजका कारण आत्महत्या गरेको उल्लेख गरेका छन् ।

विनय थानकोटस्थित मंगोलदय बहुमुखी क्याम्पसका लेक्चरर हुन् । जमुनाले भने घरमा व्यापार गर्दै आएकी थिइन् । महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख डिएसपी धनश्याम सापाकोटाका अनुसार विनय र जमुनाले घ्याल्चोक जानुअघि लेखेको सुसाइट नोटमा आफूहरु अन्तिम पटक ससुराली र जमुना अन्तिम पटक माइती गएको उल्लेख गरेका छन् । मृतक जमुना रेग्मी लामिछानेले आफ्नो फेसबुकमा ऋणकै कारण नाबालक छोरासहित आत्महत्या गर्नु परेको स्टाटस लेखेकी थिइन् ।

रेग्मीका अनुसार सो घटनाको विस्तृत अनुसन्धान सुरु भएको छ । प्रहरीले मिटर ब्याजमा पैसा लगानी गर्ने समूह माथिसमेत अनुसन्धान सुरु गरेको जनाएको छ । रेग्मीले भने ‘लामिछाने परिवारले चर्को ब्याजको ऋण तिर्न नसकेको र लगानी गर्नेले पैसा असुल्न चर्को दवाव दिएको हुन सक्छ, हामी विस्तृत अनुसन्धान गरिरहेका छौँ ।’