१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
आर विक्रम सिंह
२०७६ माघ ३ शुक्रबार ०८:४४:००
Read Time : > 1 मिनेट
दृष्टिकोण

मिसाइल राजनीतिको प्रदर्शन

Read Time : > 1 मिनेट
आर विक्रम सिंह
२०७६ माघ ३ शुक्रबार ०८:४४:००

मध्यपूर्वको घटनाक्रम एक्कासि यु–टर्न भएको छ । अहिले यहाँ मिसाइल राजनीति प्रदर्शन भइरहेको छ । अमेरिकी आर्थिक प्रतिबन्धबाट घेरिएको इरानले प्रतिक्रियाको विकल्प चयनमा ठूलो गल्ती गर्‍यो । आइएसआईको उदयले शक्ति सन्तुलनको स्थिरतालाई नराम्रोसँग प्रभावित गरेको थियो । बग्दादीको इस्लामिक स्टेटविरुद्ध भएको गृहयुद्धमा इराकलाई आफ्नो पुरानो शत्रु इरानबाट पनि ठूलो सहयोग प्राप्त भयो । युद्धको विध्वंसले इराकलाई इरानसँग सम्बन्ध राम्रो बनाउने अवसर थियो र इरानको भूमिका सिया बाहुल्य इराकमा बढ्दै गयो । 

मध्यपूर्वको राजनीतिक विषयमा चर्चा गर्दा, यहाँ मुख्य तीन वा चार खेलाडीको वर्चस्व देखिन्छ । साउदी अरबको वर्चस्वलाई इरानले चुनौती दिइरहेको छ । साउदी अरबको तेलखानीमा भएको ड्रोन हमला साउदीविरुद्ध मात्रै होइन, अमेरिकामाथि पनि चुनौती थियो । यसअघि तेलको ट्यांकर विवादमा दुनियाँले इरानको दादागिरी देखिसकेको छ । अमेरिका–इरान आणविक सम्झौता निष्प्रभावी भएर यसअघि नै विवादको दायरामा आइसकेको थियो ।

अमेरिकी अड्डामा इरान समर्थित सिया मिलिसियाले हमला गरेपछि अमेरिकाले पनि इरानी जनरल सुलेमानीको हत्या गर्‍यो । त्यसपछि इरानले आफ्ना जनताको सन्तुष्टिका लागि अमेरिकी दुई अड्डामा मिसाइल हमला गर्‍यो र पहिलो बदला पूरा भयो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आणविक हतियार बनाउन नदिनका लागि उसका आणविक रिएक्टर र सुविधामाथि हमलाको अधिकार सुरक्षित राखिएको बताएका छन् । यो स्पष्ट छ कि आणविक हतियार बनाएको आशंका हुनासाथ अमेरिकाले उसका आणविक उत्पादनगृहमा हमला गर्न ढिलाइ गर्नेछैन । 

अब, इरानले आफ्नो आणविक नीतिलाई पुनः परिभाषित गर्नुपर्ने समय आएको छ । इरानसँग भारत र युरोपेली देशको माध्यमबाट नयाँ परमाणु सम्झौताको दिशामा अघि बढ्ने एक मात्र विकल्प छ । इरानी इस्लामिक क्रान्तिकै समयदेखि हामीले देखेको छौँ कि इरानले आफ्नो धार्मिक लक्ष्यलाई आफ्नो राष्ट्रिय हितभन्दा माथि राख्दै आएको छ । आर्थिक प्रतिबन्धका कारण आर्थिक विकासका प्रत्येक स्तरमा इरान पछि परिरहेको छ । अब उसले बुझेको हुनुपर्छ कि यस प्रतिबन्धबाट मुक्ति कति आवश्यक छ ।

अमेरिकाले हमलाबाट मध्यपूर्वमा साउदी अरबको स्थिति सुरक्षित गरिदिएको छ । वार्ता मात्रै पर्याप्त हुँदैन, शक्तिको समुचित प्रदर्शनले राजनीतिलाई सार्थक बनाउँछ । अर्को, महत्वाकांक्षी शक्ति टर्की हो, उसले आफ्नो आणविक महत्वकांक्षालाई दबाएर राखेको छ । टर्की नेटो समूहको देश हो, तर अहिले उसको आचरण गैरनेटो देशजस्तो देखिएको छ । यता साउदी राजकुमार सलमानको प्रयासपछि यहाँ परिवर्तनको हावा चल्न थालेको छ । खुलापन आउँदै छ । महिलालाई केही अधिकार दिइएका छन् भने दुई क्षेत्रीय प्रतिद्वन्द्वी इरान र टर्की मध्यकालीन इस्लामतर्फ अघि बढ्दै छन् । मध्यपूर्वको राजनीतिमा महत्वपूर्ण धुरी इजरायल रहिआएको छ । लगभग सबै अरब देशको नीतिगत लक्ष्य इजरायललाई समाप्त गर्नु हो । तर, शक्तिशाली इजरायलसँग भिडेर कुनै इस्लामिक देश अल्झन पनि चाहँदैनन् । 

अमेरिकी आक्रमणको सुलेमानी एपिसोडपछि पश्चिम एसियाको राजनीतिमा कुनै त्यस्तो खेलाडी देखिएको छैन, जसले फेरि कुनै खतरनाक चाल चाल्न सकोस् । एक आक्रमणमार्फत अमेरिकाले आफ्नो गुम्दै गरेको ‘बिग ब्रदर’को हैसियत पुनः प्राप्त गरेको छ । 

(लेखक अमर उजाला डटकमका स्तम्भकार हुन्)अमर उजाला डटकमबाट