१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
काठमाडौं
२०७६ माघ ३ शुक्रबार ०८:२६:००
Read Time : > 1 मिनेट
खेलकुद

आर्मीको प्रतिद्वन्द्वी पुलिस

Read Time : > 1 मिनेट
काठमाडौं
२०७६ माघ ३ शुक्रबार ०८:२६:००

सागर ढकालको घातक बलिङको मद्दतमा नेपाल पुलिस क्लब मनमोहन स्मृति एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । पुलिसले अब उपाधिका लागि त्रिभुवन आर्मीविरुद्ध शनिबार प्रतिस्पर्धा गर्नेछ । इनरुवा मैदानमा पुलिसले अन्तिम दुई यात्रा पक्का गर्ने क्रममा बिहीबार सुदूरपश्चिम प्रदेशमाथि ९९ रनको जित निकाल्यो । पुलिसको जितमा सागरले मात्र नौ रन खर्चेर पाँच विकेट लिए । 

सुदूरपश्चिम १३० रनमा समेटियो
टस जितेर ब्याटिङ गरेको पुलिसले ४९ ओभरमा सबै विकेट गुमाएर २२९ रन बनाएको थियो । प्रत्युत्तरमा सुदूरपश्चिमले सागरको बलको सामना गर्न नसक्दा ३३.४ ओभरमा १३० रन मात्र जोड्यो । पुलिसको ब्याटिङ इनिङ्समा दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय योगदान दिए । दीपेन्द्रले ७६ बलमा ६ चौका र एक छक्काको मद्दतमा ६८ रन बनाए ।

त्यस्तै, नवौँ नम्बरमा ब्याटिङका लागि आएका ललित भण्डारीले ४० बलमा दुई चौका र चार छक्का प्रहार गर्दै ४० रन योगदान दिए । त्यसअघि अनिल साहले ३१ र योगेन्द्रसिंह कार्कीले २९ रन जोडेका थिए । कुशल भुर्तेलको नाममा १७ रन रह्यो । सुदूरपश्चिमका शेर मल्ल, विनोद लामा र आकाश चन्दले समान तीन विकेट लिए ।

सुदूरपश्चिमको कमजोर ब्याटिङ 
२३० रनको लक्ष्य लिएर मैदानमा उत्रिएको सुदूरपश्चिमका लागि पाँचौँ नम्बरमा ब्याटिङ गरेका किरण ठगुन्नाले सर्वाधिक ३९ रन योगदान दिए । ओपनर गजेन्द्र बोहोरा र खडक बोहोराले पहिलो विकेटका लागि २३ रनको साझेदारी गरे । गजेन्द्रले १२ र खडकले १४ रन जोडे । नवौँ नम्बरमा आएका आकाश चन्दले २३ रनको नटआउट योगदान दिए ।

उनले ३४ बलमा दुई चौका र एक छक्का प्रहार गरेका थिए । पुलिसका बलरले २१ अतिरिक्त रन दिए । सागरले ६.४ ओभर बलिङ गर्दै नौ रन मात्र दिए । उनले आफ्नो इनिङ्समा एक मेडन राखे । त्यस्तै, ललितनारायण राजवंशीले सात ओभर बलिङ गर्दै २३ रन खर्चेर तीन विकेट लिए ।