मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ माघ ३ शुक्रबार ०६:३१:००
Read Time : < 1 मिनेट
प्रदेश

शंकास्पद मृत्यु भएकी महिलाको दाहसंस्कारको तयारी : घाटबाट शव बरामद, श्रीमान् पक्राउ

Read Time : < 1 मिनेट
२०७६ माघ ३ शुक्रबार ०६:३१:००

विराटनगर ८ संघिया घाटमा जलाउन ठिक्क पारिएको अवस्थामा प्रहरीले एक महिलाको शव नियन्त्रणमा लिएको छ । सोही वडाकी २८ वर्षीया प्रेमादेवी साहको शव बिहीबार प्रहरीले अनुसन्धानका लागि भन्दै नियन्त्रणमा लिएको हो । 

पति गोविन्द साहसँग राति सँगै सुतेकी प्रेमादेवी बिहान मृत अवस्थामा फेला परेकी थिइन् । खाटबाट लडेर उनको मृत्यु भएको दाबी उनका पतिले गरेका छन् । तर, माइती पक्षले भने उनको हत्या भएको भन्दै प्रहरीलाई उजुरी गरेका छन् । माइती र गाउँलेको मौखिक उजुरीका आधारमा घाटमा पुगेको प्रहरीले जलाउन ठिक्क पारेको अवस्थामा शव नियन्त्रणमा लिएको हो । 

घरबाट शव उठाउने क्रममा गाउँलेले घाँटीमा आलो चोट देखेपछि हत्या भएको आशंका गर्दै प्रहरी र माइती पक्षलाई खबर गरेका थिए । गाउँलेले जानकारी गराएपछि बिहीबार दिउँसो २ बजे वडा प्रहरी कार्यालय विराटनगरको टोलीले घाटमै पुगेर शव नियन्त्रणमा लिएको  मोरङ प्रहरी प्रवक्ता डिएसपी लोकदर्शन थापाले जानकारी दिए । ‘पतिसँग राति एउटै खाटमा सुतेकी महिलाको मृत्यु भएको र घाँटीमा आलो चोट रहेको पाइएपछि शव नियन्त्रणमा लिएका हौँ,’ थापाले भने, ‘मृतक महिलाका पति गोविन्द साहलाई पनि अनुसन्धानका लागि पक्राउ गरेका छौँ ।’

 हत्या भएको माइती पक्षको दाबी

सुनसरीको बराहक्षेत्र माइती भएकी प्रेमादेवी बिरामी थिइन् । ८ र १० वर्षका दुई छोराकी आमा उनी केही दिनअघि मात्र माइतीबाट घर फर्केकी गाउँलेहरूले बताए । उनका दाजु राजु साहले बहिनीको हत्या भएको दाबी गरे । 

शव नियन्त्रणमा लिएपछि प्रहरीले पोस्टमार्टमका लागि कोसी अस्पताल विराटनगरमा पठाएको छ । प्रेमाको दाइजो वा अन्य कुनै कारणले घाँटी थिचेर हत्या भएको हुन सक्ने आशंका प्रहरीले गरेको छ ।