मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ माघ २ बिहीबार ११:४०:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

जाडोको मारमा बालबालिका र वृद्धवृद्धा

Read Time : > 1 मिनेट
२०७६ माघ २ बिहीबार ११:४०:००

७६ वर्षीया दुर्गादेवी ढुंगाना गत डेढ सातादेखि कान्तिपुर अस्पतालमा उपचार गराइरहेकी छिन् । उनी दमकी दीर्घरोगी हुन् । चिसो बढेसँगै स्वास्थ्य अवस्था जटिल बनेकाले अस्पताल भर्ना हुनुपरेको बताउँछिन् । ‘घरमै औषधि र अक्सिजन लिइरहेकी थिएँ, एलर्जीले सताएपछि अस्पताल भर्ना भएँ,’ उनले भनिन् । ६७ वर्षीय सत्तरसिंह तामाङ गत सात वर्षदेखि निरन्तर सिओपिडी अर्थात् श्वासप्रश्वाससम्बन्धी समस्याबाट ग्रस्त छन् । चिसोले समस्या बढेपछि उनी गत शनिबारदेखि अस्पतालमा छन् । 

१८ महिने शिशु शिरीष आचार्य रुघाखोकीले सताएपछि एक साताअघि अस्पताल भर्ना भएका थिए । अस्पतालमा निमोनियाको उपचार भइरहेको छ । सात वर्षीय कुसुम क्षत्री र ३ वर्षीय रोशन विश्वकर्मा पनि निमोनियाकै उपचार गराइरहेका छन् । जाडो बढेसँगै ज्वरो आउने, लगातार सुक्खा खोकी लाग्ने, टाउको दुख्नेजस्ता स्वास्थ्य समस्या लिएर बिरामीहरू अस्पताल आउने गरेका छन् । 

मुटु, श्वासप्रश्वास र दमका दीर्घरोगी तथा कुपोषित बालबालिका चिसोको मारमा धेरै पर्ने गरेको चिकित्सकहरू बताउँछन् । टिचिङ अस्पतालका छातीरोग विशेषज्ञ डा. नीरज बमका अनुसार चिसोले रक्तप्रवाहको कमी हुँदा स्ट्रोक, मांसपेशी र जोर्नीको दुखाइ, दम र निमोनियाको समस्या धेरै देखिने गर्छ । ‘पहिलेदेखि श्वासप्रश्वासको समस्या भएका बिरामीमा जाडोयाममा संक्रमण बढ्ने गर्छ । दमका बिरामीमा दमको मात्रा बढ्ने गर्दछ ।

जाडोमा वायु प्रदूषण बढ्ने हुँदा छातीमा संक्रमण बढ्ने गर्दछ । जसकारण अन्य समयमा सामान्य देखिने दम बढ्छ,’ बमले भने । चिसो बढेसँगै अधिंकाश अस्पतालमा मुटु, श्वासप्रश्वास, दमका पुराना बिरामी, बालबालिका र वृद्धवृद्धा धेरै भेटिन्छन् । अत्यधिक चिसोले झाडापखाला, निमोनिया, टाउको दुख्ने, श्वासप्रश्वाससम्बन्धी समस्या, रुघाखोकी, एलर्जी, छाला सुक्खा भएर फुट्ने वा दाग देखिने, खाना नपच्ने, हातखुट्टा तथा जोर्नी सुन्निनेलगायत समस्या बढ्ने चिकित्सकहरू बताउँछन् । 

 डा. नवीन रौनियार
कन्सल्ट्यान्ट फिजिसियन
कान्तिपुर अस्पताल  

वायु प्रदूषणले समस्या 
सुक्खा मौसम र वायु प्रदूषण जाडोमा स्वास्थ्य समस्या बढ्ने प्रमुख कारण हुन् । एलर्जिक राइनाइटिस, एलर्जिक कफ, साइनसाइटिस, टन्सिलाइटिस, ब्रोङ्काइटिस, सिओपिडी, दम, रुघाखोकी, निमोनिया आदि रोगले अन्य मौसमको दाँजोमा यस मौसममा बढी सताउँछ । यसबाट बालबालिका, वृद्धवृद्धा र गर्भवती महिला बढी प्रभावित हुन्छन् । 

चिसो बढेसँगै अधिकांश अस्पतालमा मुटु, श्वासप्रश्वास, दमका बिरामी, बालबालिका र वृद्धवृद्धा धेरै भेटिन्छन् 

श्वासप्रश्वासमा समस्या
श्वासप्रश्वासको समस्या भएकाहरूका लागि चिसो मौसम निकै कष्टकर हुन्छ । खासगरी दम, आस्थमा र अन्य समस्या यो मौसममा बल्झिन सक्छ । थोरै काम गर्दा पनि दम फुल्ने, काम गर्न गाह्रो हुने, सास फेर्न समस्या हुनेजस्ता समस्या देखिन्छन् । स्वस्थ व्यक्तिमा समेत प्रदूषणका कारण ब्रोङ्काइटिसले जटिल समस्या निम्त्याउँछ । दम धेरै बढेमा मुटुमा पनि समस्या देखिन्छ । त्यसैेले दमका बिरामीले जाडोमा स्वास्थ्यको विशेष ख्याल गर्नुपर्ने हुन्छ । 
रुघाखोकी
सामान्यतया यो समयमा रोगका कीटाणु हावामा तैरिरहन्छन् । त्यसैले रोगको संक्रमण छिटो हुन्छ । रोगप्रतिरोधी क्षमता कम भएका व्यक्तिमा रुघाखोकीको संक्तमण छिटो हुन्छ । यो एउटा भाइरल संक्रमण हो । रुघाखोकी एक व्यक्तिबाट अर्कोमा सजिलै सर्ने हुँदा धेरैजना प्रभावित हुन्छन् । शरीरलाई न्यानो राख्न सके यस्ता भाइरल संक्रमणबाट बच्न सकिन्छ । 
निमोनिया
निमोनियाबाट प्रायः दुई वर्षमुनिका बालबालिका र वृद्धवृद्धा प्रभावित हुन्छन् । ब्याक्टेरिया र फंगसका कारण निमोनिया हुने गर्दछ । निमोनिया हुँदा रुघाखोकी र श्वासप्रश्वासको पनि समस्या आउने गर्छ । 
फोक्सोमा संक्रमण
जाडो मौसममा फोक्सोको संक्रमण बढ्ने सम्भावना अत्यधिक हुन्छ । खासगरी, श्वासप्रश्वासका बिरामी र वृद्धवृद्धामा फोक्सोको समस्या देखिन सक्छ । प्रतिरोधी क्षमता स्वतः कम भएकाले वृद्धवृद्धा बढी प्रभावित हुन्छन् । 
हृदयाघात
जाडो मौसममा हृदयाघातको जोखिम पनि बढ्छ । चिसोले गर्दा रगतमा कोलेस्ट्रोल, सिपिआर, फ्रिब्रिनोजेन, फ्याक्टर सेभेनजस्ता तत्व बढेर जान्छन् । जसले गर्दा नसा खुम्चिन्छ र हृदयाघातको जोखिम बढ्छ ।