मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
प्राश्ना शाक्य
२०७६ माघ २ बिहीबार ११:२४:००
Read Time : > 1 मिनेट
सप्तरंग

नेपाली संगीतमा झुम्ने संस्कृति : प्राश्ना शाक्य

Read Time : > 1 मिनेट
२०७६ माघ २ बिहीबार ११:२४:००

गीत संवाद

‘आवाज देऊ’ गीतले प्राश्ना शाक्यको आवाजलाई नेपाली संगीतमा स्थापित गरायो । ‘मेरो सांगीतिक यात्रा यही गीतबाट सुरु भयो,’ उनी भन्छिन् । हुन त, उनले १५ वर्षको उमेरमै ‘हाई हेलो’ नामक एल्बम ल्याएकी थिइन् । तर, त्यो खासै चर्चामा आएन । ०५९ सालमा ‘आवाज’ नामक एल्बम ल्याइन् । त्यही एल्बममा समावेश थियो, ‘आवाज देऊ’ बोलको गीत । सोही गीतबाट ‘उत्कृष्ट महिला पप गायन’तर्फको पुरस्कार पनि पाइन् ।

त्यतिवेला उनका लागि त्यति ठूलो पुरस्कार पाउनु अनपेक्षित थियो । र, त्यसबाट उनलाई गायन यात्रामा अझ अगाडि बढ्न प्रेरणा प्राप्त भयो । गत १२ पुसमा बलिउड गायिका आशा भोस्लेसामु गीत गाउने अवसर पाइन् । त्यो आफ्ना लागि सबैभन्दा स्मरणीय क्षण रहेको उनी बताउँछिन् । उनी सानैदेखि भोस्लेका गीत गुनगुनाउँथिन् ।‘लाइभ’ गाउनुको मज्जा ‘ट्र्याक’मा भन्दा धेरै भिन्न हुने उनी बताउँछिन् । नेपाल टेलिभिजनबाट प्रसारण हुने ‘तिम्रो सुर मेरो गीत’ कार्यक्रमको विजेता बनेकी थिइन्, उनी । हालसम्म उनका चारवटा एल्बम बजारमा आएका छन् । सोलोबाहेक धेरै कलेक्सन एल्बममा पनि उनले स्वर दिएकी छिन् ।

यसबीचमा केही समय उनी सांगीतिक क्षेत्रमा देखिइनन् । अहिले सोही ग्याप हटाउन लागिपरेकी छिन् । हालै उनको ‘सिम्पल–सिम्पल नानी’ गीत रिलिज भएको छ । आठ महिनाअघि ‘आई लभ यू’ बोलको गीत ल्याएकी थिइन् । भाइरल हुने ट्रेन्ड चलेकाले अहिले ‘डान्सिङ आइटम’का गीत बढी चलेका छन्, बजारमा ।

सुन्नेभन्दा झुम्ने संस्कृति छ, अहिले । पहिले कलाकारलाई कन्सर्ट र टेलिभिजन अन्तर्वार्तामा मात्र देख्न पाइन्थ्यो । अहिले सामाजिक सञ्जालहरूमा सहजै देख्न पाइन्छ ।

मेलोडियस र आधुनिक गीतको बजार खस्किनुको कारक उनी त्यही ट्रेन्डलाई मान्छिन् । भन्छिन्, ‘हामी हराएका होइनौँ, पछिल्लो ट्रेन्डका कारण नेपथ्यमा परेका हौँ ।’ उनको बुझाइमा पहिले गीत सुन्ने चलन थियो, अहिलेका दर्शक÷श्रोता सुन्नभन्दा नाच्न मन पराउँछन् । ‘सुन्नेभन्दा झुम्ने संस्कृति छ, अहिले,’ उनी भन्छिन्, ‘पहिले कलाकारलाई कन्सर्ट र टेलिभिजन अन्तरवार्तामा मात्र देख्न पाइन्थ्यो । अहिले सामाजिक सञ्जालहरूमा सहजै देख्न पाइन्छ ।’

कलाकारको क्रेज भने कहिल्यै नसकिने उनको बुझाइ छ । भन्छिन्, ‘एक समय अञ्जु पन्त र मिलन अमात्यको थियो । अहिले कोही अरू चलिरहेका छन् ।’ अहिले गायक–गायिका दर्शकमाझ देखापरिरहनुपर्ने स्थिति रहेको उनको बुझाइ छ । भन्छिन्, ‘एक समय थियो, एउटा गीत गाएपछि, वर्षौं हराउँदा पनि फरक पर्दैनथ्यो ।’ नेपाली संगीतको वर्तमान रफ्तारलाई सकारात्मक मान्छिन्, उनी । तर, आफूहरूले सिकेको अग्रजप्रतिको आदर र सम्मान भने अहिले हराएको उनको ठम्याइ छ ।