Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
काठमाडौं
२०७६ माघ २ बिहीबार ०९:३५:००
Read Time : < 1 मिनेट
समाचार

लन्डनमा शरण माग्ने कूटनीतिज्ञ शर्माको निधन

Read Time : < 1 मिनेट
काठमाडौं
२०७६ माघ २ बिहीबार ०९:३५:००

 पूर्वपरराष्ट्रसचिव मुरारीराज शर्माको मंगलबार बिहान लन्डनमा निधन भएको छ । संयुक्त राष्ट्रसंघका लागि पूर्वस्थायी प्रतिनिधि र बेलायतका लागि पूर्वराजदूतसमेत रहेका ६८ वर्षीय शर्माको लन्डनमा निधन भएको हो । मंगलबार ‘मर्निङ वाक’ सकेर घर पुगेलगत्तै हृदयाघातबाट शर्माको निधन भएको पारिवारजनले जनाएका छन् । 

पूर्वपरराष्ट्रसचिव मदनकुमार भट्टराईले लन्डनमा रहेका शर्माको मंगलबार निधन भएको सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन् । भट्टराई शर्मासँग निकट सम्पर्कमा थिए । शर्मा नेपालका १८औँ परराष्ट्रसचिव हुन् । परराष्ट्र मन्त्रालय सुधार कार्यदलको संयोजकसमेत रहेका शर्मा साहित्यकारसमेत हुन् । परराष्ट्रबाहेक अर्थ, गृह तथा सामान्य प्रशासन मन्त्रालयमा पनि उनले काम गरका थिए । उपसचिवका रूपमा उनी परराष्ट्र मन्त्रालयमा प्रवेश गरेका थिए । 

बेलायतमा राजदूत रहेका शर्मालाई प्रचण्ड नेतृत्वको सरकारले फिर्ता बोलाएको थियो । तर, उनले नेपालमा माओवादी सरकार रहेको र असुरक्षा भएको भन्दै शरणार्थीका रूपमा बेलायतमा बस्न माग गर्दै निवेदन दिएका थिए । कूटनीतिक मान्यताविपरीत काम गरेको भन्दै ०६५ चैतमा सरकारले बर्खास्त गरेको थियो ।  त्यसपछि शर्मा बेलायत र काठमाडौं आउने–जाने गर्दै आएका थिए । बेलायतमा शरण मागेपछि उनको चौतर्फी आलोचना भएको थियो । 

तत्कालीन जर्मनीका लागि नेपाली राजदूत रहेका डा.मदनकुमार भट्टराईका अनुसार प्रचण्ड पहिलोपटक प्रधानमन्त्री हुँदा युरोप भ्रमणका क्रममा जर्मनीमा नेपाली राजदूतहरूको सम्मेलन आयोजना भएको थियो । युरोपका विभिन्न देशमा रहेका राजदूतलाई सहभागी गराइएको सम्मेलनमा बेलायतका लागि राजदूत रहेका शर्मा सहभागी भएका थिएनन् । उनले उपनियोग प्रमुख वा कोही कूटनीतिक अधिकारी पनि पठाएका थिएनन् । बरु शर्माले तत्कालीन पर्यटनमन्त्री हिसिला यमीको लन्डन भ्रमण हुने भएकाले भ्याइएन भन्ने जबाफ पठाएका थिए । 

त्यसपछि शर्मालाई सरकारले फिर्ता बोलाएको थियो । फिर्ता आउन अस्वीकार गरेपछि उनलाई सरकारले बर्खास्त गरेको थियो । उनीसँग संगत गरेका परराष्ट्र अधिकारीका अनुसार शर्मा ठाडो स्वाभावका योग्य सचिव थिए ।