मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
डा. केशव शर्मा
२०७६ माघ २ बिहीबार ०९:१५:००
Read Time : > 5 मिनेट
दृष्टिकोण

भूकम्पप्रतिरोधी निर्माण

Read Time : > 5 मिनेट
डा. केशव शर्मा
२०७६ माघ २ बिहीबार ०९:१५:००

विगतको भूकम्पबाट शिक्षा लिने हो भने, बहुविपद्प्रतिरोधी संरचनामा अघि बढ्नुको कुनै विकल्प छैन 

१९९० माघ २ गते गएको विनाशकारी भूकम्पको सम्झनामा विगत दुई दशकदेखि मनाउन थालिएको राष्ट्रिय भूकम्प दिवस यस वर्ष पनि विभिन्न कार्यक्रम गरेर मनाइँदै छ । करिब एक शताब्दी पहिला गएको भूकम्पको असर अहिलेको पुस्तामा खासै नपरे पनि पाँच वर्षअघि गोरखा केन्द्रबिन्दु भएर गएको भूकम्पले हामी धेरैलाई असर गर्‍यो । त्यो भूकम्पबाट आठ लाखभन्दा बढी घर, सात हजारभन्दा बढी विद्यालय भवन र हजारौँ पुरातात्विक  महत्वका संरचना ध्वस्त तथा क्षतिग्रस्त भए । यसले पारेको सामाजिक तथा आर्थिक क्षति अथाह छ । यी सबै क्षतिको पुनस्र्थापना तथा पुननिर्माण गर्न आठ सय अर्बभन्दा बढी खर्च हुनेछ । भूकम्प गएको पाँच वर्षसम्म पनि ती संरचनाको पुनर्निर्माण हुन सकेको छैन । 

भूकम्पको क्षति न्यूनीकरण गर्ने सशक्त उपाय भनेकै भूकम्पप्रतिरोधी निर्माण हो । आवासीय तथा सार्वजनिक भवनदेखि पुलपुलेसा, बाटो, खानेपानी, जलविद्युत् योजना, बाँध आदि सबै संरचना भूकम्पप्रतिरोधी निर्माण गर्न नसकिने भने होइन । विशेषगरी हाम्रो देशमा ठुल्ठूला संरचना नभएका तथा सुनामीको सम्भावना नभएकाले भूकम्पमा धेरैजसो मानिसको मृत्‍यु आफ्नो र सार्वजनिक घरमा थिचिएर भयो । त्यसैले भूकम्पमा हुने क्षतिलाई न्यूनीकरण गर्न भवन आचारसंहिताको पालना गर्नु पहिलो सर्त हुन आउँछ । पछिल्लो भूकम्पको २१ वर्षअघि नै नेपालमा भवन आचारसंहिता बनेको भए पनि यसको कार्यान्वयन हुन नसक्दा काठमाडौंलगायत क्षेत्रमा ठूलो संख्यामा घर भत्किएर मानवीय क्षति भयो । हालै मात्र पहिलाको भवन निर्माण आचारसंहितालाई परिमार्जन गरी भूकम्पप्रतिरोधी भवन आचारसंहिता–०७६ लागू गरिएको छ । 

यसको पूर्ण कार्यान्वयन गर्न सके मात्र भूकम्पबाट हुने मानवीय र भौतिक क्षति कम गर्न सकिन्छ । ०७२ को भूकम्पलगत्तै गरिएको अध्ययनमा भवन आचारसंहिता तथा इन्जिनियरिङका सामान्य विधि पनि भवन निर्माणमा नअपनाइएको पाइएको थियो । १५–२० वर्षको अवधिमा चिलीमा पनि ८ म्याग्निच्युडभन्दा उपल्लो स्तरको भूकम्प आइरहेको छ, तर त्यहाँ विगत केही दशकदेखि क्षति न्यून हुँदै गइरहेको छ ।

नेपालमा आएको ०७२को भूकम्पको केही समयपछि चिलीमा पनि शक्तिशाली भूकम्प आयो, तर त्यहाँ नेपालको तुलनामा मानवीय र भौतिक क्षति निकै न्यून भयो । त्यसो त भूकम्पबाट हुने क्षति, केन्द्रबिन्दुको दूरी, गहिराइ र भू–बनोटमा भर पर्छ । चिलीमा किन न्यून क्षति भयो भन्दा त्यहाँ भवन बनाउँदा आचारसंहिता लागू गरिएको छ । नेपाल भूकम्पको उच्च जोखिमयुक्त क्षेत्रमा पर्ने भए पनि चिलीमा जस्तै बारम्बार ठूलो भूकम्प नआएकाले यहाँ भूकम्प आउँछ भन्नेमा खासै विश्वास थिएन । यसैले भूकम्पप्रतिरोधात्मक भौतिक पूर्वाधार निर्माणमा कसैको चासो गएन ।

पछिल्लो भूकम्पले केही झस्काए पनि भूकम्पपछिको निर्माण प्रक्रिया हेर्दा हामी अझै सचेत हुन नसकेको प्रस्ट हुन्छ । अहिलेको नयाँ राज्य संरचनामा प्रत्येक नगरपालिका र गाउ“पालिकामा सिभिल इन्जिनियर तथा आर्किटेक्चरको दरबन्दी व्यवस्था गरिएको छ । यसअघि तत्कालीन नगरोन्मुख गाउँ विकास समितिबाहेक अन्य गाविसमा इन्जिनियरको व्यवस्था थिएन । तर, यसरी गाउँपालिका गएका नयाँ इन्जिनियरमध्ये अधिकांशमा भूकम्पप्रतिरोधी निर्माणको राम्रो ज्ञान नहुन सक्छ । राज्यले ती इन्जिनियरलाई स्थान विशेषमा स्थानीय सामग्रीको प्रयोग गरेर बहुविपद्प्रतिरोधी संरचना निर्माण कसरी गर्न सकिन्छ भन्ने तालिम दिनु अत्यावश्यक छ ।  

भूकम्पमा भत्किएका अधिकांश घर ढुंगा, काँचो तथा पाकेको इँटाको जोडाइबाट बनेका थिए । हाम्रो आर्थिक, सामाजिक कारणले गर्दा आधुनिक घरले अझै केही दशक त्यस्ता घरलाई पूर्ण प्रतिस्थापन गर्न सक्ने अवस्था छैन । ढुंगा, काँचो तथा पाकेको इँटाले बन्ने घरलाई कसरी भूकम्पप्रतिरोधी बनाउन सकिन्छ भन्नेबारे अध्ययन–अनुसन्धान हुन जरुरी छ । देशको करिब ७५.५ प्रतिशत घर मेसिनरी प्रविधिमा आधारित छन् । तर यो विषयको पढाइ हाम्रो देशमा हुँदैन ।

हाम्रो इन्जिनियरिङ कोर्समा स्टिल, आरसिसीजस्ता विषयमा मात्र अध्यापन गराइन्छ । ढुंगा, काँचो तथा पाकेको इँटाको चिनाइबाट बनेको संरचना अध्ययन छ“दै छैन भन्दा पनि हुन्छ । त्यसैले हाम्रा इन्जिनियरमा घर ढुंगा, काँचो तथा पाकेको इँटाको चिनाइबाट बनेको संरचनाको डिजाइन तथा निर्माण कसरी गर्ने भन्ने ज्ञान छैन । जसले गर्दा विशेष गरी ग्रामीण भेगमा भूकम्पप्रतिरोधी भवन निर्माणमा कठिनाइ देखिएको छ । यसका लागि हाम्रा इन्जिनियरिङ पढाउने संस्थान र विश्वविद्यालय दोषी देखिन्छन् । 

गत भूकम्पमा पाँच लाख घर पूर्ण क्षति भए भन्ने हो भने करिब ३ लाख ७५ हजार घर ढुंगा, काँचो तथा पाकेको इँटाको चिनाइबाट बनेका थिए, जसलाई हाम्रो इन्जिनियरिङको पढाइले चिन्दैन । अनि हामी कसरी भूकम्पप्रतिरोधी निर्माण गर्न सक्छौँ । जबकि हाम्रो भिरपाखा तथा सामुदायिक वनमा पाइने बाँस तथा काठसँगै ढुंगा र इँटाको प्रयोग गरेर भूकम्पप्रतिरोधी घर बनाउन सकिन्छ । यस्तै, घर सामाजिक, संस्कृतिक, आर्थिक, भौगोलिक तथा वातावरणीय हिसाबले ढलान गरिएको पक्की घरभन्दा उपयुक्त हुन सक्छ । चिली तथा टर्कीजस्ता भूकम्पको अति जोखिममा रहेका देशमा पनि काँचो इँटा, ढुंगा र माटोले बनेका घर पनि भूकम्पप्रतिरोधी हुन सक्छन् भनेर सफल प्रयोग गरिसकिएको छ । अब हामीले हाम्रो मौलिक घरलाई कसरी बढीभन्दा बढी बहुविपद्प्रतिरोधी बनाउन सकिन्छ भनेर अनुसन्धान गर्न जरुरी छ । 

हाम्रा विद्यालय तथा विश्वविद्यालयमा विपद् न्यूनीकरण तथा व्यवस्थापन विषयमा मात्र पढाइ हुने गरेको छ । विश्वविद्यालयबाट अध्ययन पूरा गरेका इन्जिनियरमा समेत भूकम्प तथा अन्य विपद्बारे ज्ञानको कमी पाइन्छ । त्यसैले यस क्षेत्रका विज्ञलाई नेपाल झिकाइ नेपाली प्राध्यापक तथा अनुसन्धानकर्मीलाई तालिम दिलाउन उपयुक्त देखिन्छ । गुजरातमा सन् २००१मा भूकम्प आएपछि त्यहाँको पुनर्निर्माण प्राधिकरणले भूकम्पविज्ञको राय लिएर इन्जिनियरिङको डिप्लोमादेखि स्नाकोत्तर तहसम्मका पाठ्यक्रममा भूकम्पप्रतिरोधी निर्माणको विषय थपेको थियो । भूकम्पका आधारभूत विषयः जस्तै, भूकम्पप्रतिरोधी निर्माण, भूकम्पीय जोखिम आकलन, प्रबलीकरणलगायत कुरालाई इन्जिनियरिङको पाठ्यक्रममा समावेश गर्नुपर्छ । नेपाल उच्च भूकम्पीय जोखिममा भए पनि हाम्रोमा भूकम्पबारे अध्यापन, अनुसन्धान र तालिम दिनका लागि कुनै पनि संस्था छैन ।

हालै मात्र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण गठन भएको छ, जसले अब यस्ता संस्थाको स्थापना गर्दै उद्देश्यअनुसार काम गर्नेछ भन्ने विश्वास गर्न सकिन्छ । भूकम्पीय जोखिममा रहेका विकसित राष्ट्रले भने भूकम्प अनुसन्धान केन्द्र स्थापना गरेका हुन्छन् । सन् २०१० र २०११मा आएको भूकम्पले ठूलो क्षति भएपछि सुविधासम्पन्न विश्वविद्यालय हु“दाहु“दै पनि न्युजिल्यान्ड सरकारले १० मिलियन डलर खर्चेर हालै भूकम्प र संरचनाको अध्ययन, अनुसन्धान गर्न ठूलो प्रयोगशाला निर्माण गरेको छ । गुजरात सरकारले पनि सन् २००१को भूकम्पपछि अमेरिकाको ‘अर्थ इन्स्टिच्युट अफ कोलम्बिया युनिभर्सिटी’को सहयोगमा भूकम्प अनुसन्धान केन्द्र स्थापना गरेको छ । हाम्रो देशका विश्वविद्यालयमा भूकम्पप्रतिरोधी निर्माणको अनुसन्धानका लागि अत्यन्त आवश्यक पर्ने ‘सेकिङ टेबल’ र माटोले भूकम्पको कम्पनको वेला कस्तो प्रतिक्रिया दिन्छ भन्ने अध्ययन गर्ने ‘ट्राइअक्सिअल’ उपकरणजस्ता आधारभूत उपकरण पनि छैनन् । 

एसियाली विकास बैंक र चीन सरकारको सहयोगमा नेपाल भूकम्प पुनर्वास र पुनर्निर्माण कार्यक्रमअन्तर्गत डिजाइन गरिएको भूकम्पप्रतिरोधी विद्यालयको पाकिस्तानको ‘युनिभर्सिटी अफ इन्जिनियरिङ एन्ड टेक्नोलोजी’मा रहेको सेकिङ टेबलमा गत वर्ष परीक्षण गरिएको छ । यदि सरकारले पहल गरेर यी उपकरण ल्याउन सकेमा भूकम्पप्रतिरोधी निर्माणको अनुसन्धानमा नेपालले फड्को मार्न सक्छ । तर, हालै इन्जिनियरिङ अध्ययन संस्थानमा ढुंगा–माटोको गारोले भूकम्पमा कस्तो प्रदर्शन गर्छ र यसलाई भूकम्पप्रतिरोधी बनाउन के गर्न सकिन्छ भन्ने केही परीक्षण भएका छन्, जुन साह्रै सहानीय छ । 

हाम्रो देशको विश्वविद्यालयमा भूकम्पप्रतिरोधी निर्माणको अनुसन्धानका लागि अत्यन्त आवश्यक पर्ने ‘सेकिङ टेबल’ र माटोले भूकम्पको कम्पनको वेला कस्तो प्रतिक्रिया दिन्छ भन्ने अध्ययन गर्ने ‘ट्राइअक्सिअल’ उपकरणजस्ता आधारभूत उपकरण पनि छैनन्

भूकम्पको स्रोत, माटो तथा चट्टानको प्रकार, भौगोलिक अवस्थिति आदिले भूकम्पको प्रभाव निर्धारण गर्ने गर्छ । त्यसैले हाम्रो देशमा भूकम्पीय जोखिम न्यूनीकरण गर्न नेपाललाई नै आधार मानेर अनुसन्धान हुनुपर्छ । अन्यत्र अनुसन्धान भएर प्रतिपादन भएका सिद्धान्तले हाम्रोमा सफल परिणाम नदिन सक्छन् । जस्तै, कतिपय संरचना डिजाइन गर्दा भारतीय आचारसंहितालाई अवलम्बन गर्ने गरिन्छ, जुन सही नहुन सक्छन् । भूकम्प भन्नेबित्तिकै घर भत्कने मात्रै हुँदैन भनेर हामीले बुझ्नुपर्नेछ । हजारौँ मेगावाट बिजुली उत्पादन गर्न बुढीगण्डकीमा बाँध बनाउने विषय होस् अथवा रेललगायतको विस्तारमा निर्माण गरिने ठूला परियोजना नै किन नहून् विस्तृत भूकम्पीय जोखिम आकलन नगरीकन निर्माण गरिने पूर्वाधार अत्यन्त जोखिमपूर्ण हुन्छन् । अहिले तीनवटै तहमा स्मार्ट सिटी बनाउने चर्चाले निकै महत्व पाएको छ, तर भवन आचार संहितालाई कार्यान्वयन गर्न इन्कार गरी निर्माण गरिने भौतिक पूर्वाधारलाई स्मार्ट सिटी भन्न सकिँदैन । भू–उपयोग नीतिविना गरिएको निर्माण दीर्घकालीन हुन सक्दैन । 

त्यसैले सर्वप्रथम सबै भूगोलको अनुसन्धान गरी कुन भू–भाग केका लागि प्रयोग गर्ने भन्ने वर्गीकरण नगरीकन स्मार्ट सिटीको परिकल्पना गर्न सकिँदैन । संघीयतामा गए पनि विपद् न्यूनीकरण र विपद् व्यवस्थापनमा कुन तहको सरकारले कस्तो दायित्व निर्वाह गर्ने भन्ने नै अलमल छ । यसले उद्धार र राहतमा अलमल निम्त्याउँछ र मानवीय क्षतिको सम्भावना बढ्न पुग्छ । त्यसका साथै कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएका कम्पनी, होटेल, बैंक र अन्य सार्वजनिक संस्था अनिवार्य रूपमा भूकम्पप्रतिरोधी भवनमा हुनुपर्ने नियम ल्याउन जरुरी छ ।

सहरी क्षेत्रमा भवन आचारसंहिता पलाना नगरी बनाइएका घरमा बिजुली तथा पानीको सेवा नदिने नियम पनि कार्यान्वयनमा ल्याउन जरुरी छ । जस्तै, चिलीमा सन् २०१०को भूकम्पपछि धेरै नयाँ नियम ल्याइए । अब नयाँ बन्ने संरचनामा बेस आइसोलेसन हुनैपर्ने प्रावधान राखिएको छ । विडम्बना हाम्रोमा भने राणाकालीन संरचना अझै बाँकी छन् र जीर्ण अवस्थामा छन् । त्यस्तै, विद्यालय, क्याम्पसमा विद्यार्थी, शिक्षक र कर्मचारीलाई तथा अन्य साना ठूला विभिन्न कार्यालयमा काम गर्ने कर्मचारीलाई पनि समय–समयमा भूकम्पको पूर्वाभ्यास गराइराख्नुपर्ने हुन्छ । 

अब नयाँ बन्ने संरचना मात्रै होइन, पहिले बनेका घर तथा संरचनालाई पनि भूकम्पप्रतिरोधी बनाउन राष्ट्रिय रूपमै संरचना प्रबलीकरण अभियानमा ल्याउनुपर्छ  पुरातात्विक संरचनालाई तुरुन्तै प्रबलीकरण गरिनुपर्छ । प्रबलीकरणका लागि विशेष ज्ञान हुनु भने आवश्यक छ । रड तथा स्टिलको पाता थपेर सिमेन्ट कंक्रिटले छोप्दैमा प्रबलीकरण हुँदैन । बरु यसले त झन् जोखिम बढाउँछ । यसका साथै भूकम्पमापन केन्द्रको विस्तार र विकास गरिनुपर्छ । विशेष गरी घना बस्ती भएका स्थानमा धेरैभन्दा धेरै भूकम्पमापन यन्त्र राखिनुपर्छ ।

हाल भूकम्पप्रतिरोधी निर्माण कार्य गत भूकम्पबाट क्षति भएका जिल्लामा मात्र केन्द्रित छ । नेपाल मात्र होइन, हिमालयआसपासका सबै क्षेत्र भूकम्पीय दृष्टिले उच्च जोखिममा छन् । हुन त भूकम्पको सफल पूर्वानुमान गर्न सकिँदैन, तर भूकम्प हाम्रो क्षेत्रमा अवश्यम्भावी नै छ । अझ नेपालको पोखरादेखि पश्चिमको क्षेत्रमा त सन् १५०५ देखि ठूलो भूकम्प गएकै छैन । त्यस क्षेत्रमा बितेको झन्डै पाँच सय वर्षमा ठूलो भूकम्प जान सक्ने गरी शक्तिसञ्चय भइसकेको अध्ययनले देखाएका छन् । यसको अर्थ नेपालको पूर्व–पश्चिम क्षेत्रमा जुनसुकै वेला ठूलो भूकम्प जान सक्छ, त्यसकारण गत वर्ष भूकम्प गएको क्षेत्रमा मात्र होइन, पूरा नेपालभर विपद्प्रतिरोधी निर्माणलाई प्राथमिकतासाथ अघि बढाउन जरुरी छ । झन् गत वर्ष मध्यतराईमा देखिएको आँधीबेहरीले त बहुविपद्प्रतिरोधी संरचना निर्माणमा अघि बढ्नुपर्ने खाँचोतर्फ संकेत गरिसकेको छ । जसले गर्दा एकीकृत रूपमा विपद्को जोखिम न्यूनीकरण गर्न सकिन्छ । हामीले विगतको भूकम्पबाट शिक्षा लिने हो भने, बहुविपद्प्रतिरोधी संरचनामा अघि बढ्नुको कुनै विकल्प छैन । 

(लेखकले इन्जिनियरिङमा विद्यावारिधि गरेका छन्)