१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ माघ २ बिहीबार ०९:१८:००
Read Time : > 1 मिनेट
प्रदेश

भोटखोला क्षेत्र दुई सातादेखि सञ्चारविहीन

Read Time : > 1 मिनेट
२०७६ माघ २ बिहीबार ०९:१८:००

संखुवासभाको उत्तरी क्षेत्रमा पर्ने विकट हिमाली भोटखोला क्षेत्र दुई सातादेखि सम्पर्कविहीन भएको छ । छिमेकी मुलुक चीनसँग सिमाना जोडिएको किमाथांकालगायत सिंगो भोटखोला क्षेत्र सञ्चारविहीन भएको हो । भोटखोला गाउँपालिका वडा नम्बर २ र ४ को सिमानामा रहेको माक्पालुङ डाँडामा रहेको नेपाल टेलिकमको टावरमा समस्या आएपछि सञ्चार सेवा अवरुद्ध भएको जनाइएको छ । दुई सातादेखि आफन्तसँग कुराकानी गर्न नसकिएको भोटखोला गाउँपालिका–३ हटियाका स्थानीय सुवास भोटेले बताए ।

उनले दुई सातादेखि सञ्चार सेवाबाट वञ्चित हुँदासमेत सम्बन्धित निकायले चासो नदेखाएको बताए । टेलिफोन सेवा अवरुद्ध हुँदा टाढा रहेका आफन्तसँग सम्पर्क हुन नसकेको भोटखोला–२ च्याम्ताङका अर्का स्थानीय आङजुङ भोटेले गुनासो गरे । गोला, हटिया, च्याम्ताङ, चेपुवा, लिङगाम, छुम्सुर, रिदाकलगायत दर्जनौँ गाउँका बासिन्दा सञ्चार सेवाबाट वञ्चित भएका छन् । 

हिमपात र चट्याङको असर
उच्च हिमाली क्षेत्रमा भारी हिमपात, हावाहुरी र चट्याङ परेकाले माक्पालुङको टावरको कन्ट्रोलरमा खराबी आएका कारण भोटखोलाको टेलिफोन सेवा अवरुद्ध भएको दूरसञ्चार कार्यालय खाँदबारीका प्रमुख राधारमण भट्टराईले जानकारी दिए । उनले त्यहाँ कन्ट्रोलरमा खराबी आएको र तत्काल कन्ट्रोलर धनकुटा तथा विराटनगरबाट खोजी गर्दा फेला नपरेको बताए । 

टेलिफोन चल्दा पनि घामकै भर 
नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण अझैसम्म भोटखोला क्षेत्रमा पुगेको छैन । टेलिफोन विस्तार नभएका दुर्गम भोटखोलाको टेलिफोन सेवा घाम अस्ताएसँगै बन्द हुने गरेको स्थानीयको गुनासो छ । घामबाट सोलारको भरमा टेलिफोन सञ्चालन हुने भएकाले घाम अस्ताएसँगै बन्द हुने गरेको छ । टेलिफोन टावरमा २४सै घन्टा पावर दिने ब्याकअप नभएकाले घामसँगै अस्ताउने गरेको नेपाल टेलिकम कार्यालय खाँदबारीले जनाएको छ । सोलारबाहेक अर्को विकल्प नभएकाले ब्याकअप दिन नसकिएको र अहिलेसम्म बिटिएस टावर सोलार पावरको भरमा चलेको टेलिकम कार्यालय प्रमुख भट्टराईको भनाइ छ । 

विद्युत् विस्तार नहुँदा नेपाल टेलिकमका मोबाइल प्रयोग गर्ने भोटखोलाका नागरिकले मौसमको भरमा सेवा पाउने गरेका छन् । जाडोको समय र बर्खायाममा दिनभर घाम लागेन भने सोलारमा चार्ज नहुँदा टेलिफोन सेवा बन्द हुने गरेको स्थानीयको भनाइ छ । जिल्लाको ६ वटा स्थानको बिटिएस टावरहरू सोलरको भरमा सञ्चालन भइरहेका छन् । मकालु गाउँपालिकाको भाटभोटेनी, भोटखोला गाउँपालिकाका बाक्ले र माक्पालुङ, सभापोखरीको स्वाची र सिलिचुङ गाउँपालिकालगायत स्थानमा सोलारको भरमा बिटिएस प्रणालीमार्फत मोबाइल नेटवर्क सञ्चालन हुँदै आएको छ ।