मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
हेटौँडा
२०७६ माघ २ बिहीबार ०९:१३:००
Read Time : > 1 मिनेट
समाचार

बागमती प्रदेशमा मानवअधिकार हननका १५ सय ७१ घटना

Read Time : > 1 मिनेट
२०७६ माघ २ बिहीबार ०९:१३:००

बागमती प्रदेशमा पर्ने १३ जिल्लामा एक वर्षको अवधिमा एक हजार पाँच सय ७१ वटा मानवअधिकार हनन र ज्यादतीका घटना भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशले सन् २०१९ को जनवरीदेखि डिसेम्बरसम्म भएका मानवअधिकार हनन र ज्यादती सार्वजनिक गरेको हो । इन्सेक प्रतिवेदनमा उल्लेख भएअनुसार काठमाडौंमा सबैभन्दा बढी घटना भएका छन् । काठमाडौंमा एक वर्षको अवधिमा सात सय ३० वटा ज्यादतीका घटना भएको उल्लेख छ ।

ललितपुरमा एक सय ३०, चितवनमा एक सय सात, काभ्रेमा एक सय तीन, सिन्धुलीमा एक सय, सिन्धुपाल्चोकमा ८१ मानवअधिकार हननका घटना भएका छन् । यस्तै, भक्तपुरमा ६०, धादिङमा ४१, रसुवामा १४, रामेछापमा ३०, दोलखामा २९, मकवानपुरमा ४८ र नुवाकोटमा ६५ वटा मानवअधिकार उल्लंघन तथा ज्यादतीसम्बन्धी रहेको तथ्यांकमा उल्लेख छ ।

मेलमिलापलाई प्राथमिकता
प्रारम्भिक तथ्यांकअनुसार बागमती प्रदेशमा भएका घटनामध्ये बहुविवाह, आत्महत्या दुरुत्साहन, बाल यौन दुव्र्यवहार, बालिका बलात्कार, महिला बेचबिखन प्रयास, महिला बलात्कार, गिरफ्तार, सम्पत्ति क्षति/आगजनी, हत्या, हत्या प्रयास, परिवारजनबाट हत्याजस्ता घटना बढी देखिएको छ । परिवारजनका सदस्यबाट भएका हिंसाको कानुनी उपचारका लागि पीडितले पहल नगर्ने गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । यस्ता घटनामा कानुनी उपचारभन्दा मेलमिलापलाई प्राथमिकता दिने गरेको पाइएको इन्सेक प्रदेश संयोजक कृष्ण गौतमले बताए ।

मकवानपुरमा यस्तो छ अवस्था
मकवानपुरमा सन् २०१९ मा भएका मानवअधिकार उल्लंघन र ज्यादतीको अवस्था बढ्दो रहेको छ । इन्सेक मकवानपुर प्रतिनिधि पुष्पराज अधिकारीका अनुसार जिल्लामा मानवअधिकार उल्लंघन र ज्यादतीका घटनाबाट सन् २०१९ मा २६ बालिका, १९ महिला र चार पुरुष गरी ४९ जना पीडित भएका छन् । सन् २०१८ मा १८ महिला र एक पुरुष गरी १९ जना पीडित भएको मकवानपुरमा २०१९ मा दुई महिला र एक पुरुषको हत्या भएको छ । जिल्लामा सन् २०१७ मा २२ महिला र तीन पुरुष गरी २५ जना पीडित भएको प्रतिवेदनमा उल्लेख छ ।

घरेलु हिंसाका दुई सय ९३ उजुरी
२०१९ मा मकवानपुरमा दुई सय ९३ वटा घरेलु हिंसा भएका छन् । जिल्ला प्रहरी कार्यालयअन्तर्गतको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा दुई सय ९३ उजुरी दर्ता भएको पाइएको इन्सेकले जनाएको छ । जसमा दुई सय ४७ मिलापत्र भइसकेको छ भने ४६ वटा उजुरी कानुनी प्रक्रियामा रहेको इन्सेक प्रतिनिधि अधिकारीले जानकारी दिए । उनका अनुसार बहुविवाहका २४ वटा उजुरीमध्ये १० मिलापत्र र १४ वटा अदालती प्रक्रियामा छन् । सन् २०१९ मा महिलाविरुद्ध हुने हिंसाका घटना गत वर्षको तुलनामा वृद्धि भएको इन्सेकको दाबी छ । यस वर्ष १५ जना महिला पीडित भए ।