१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
ध्रुव बीसी
२०७५ माघ २ बुधबार ०८:५६:००
Read Time : > 1 मिनेट
समाचार

स्थानीय उत्पादनको प्रवद्र्धन : पाहुनालाई घिउ, मह र मकैको रोटी

Read Time : > 1 मिनेट
ध्रुव बीसी
२०७५ माघ २ बुधबार ०८:५६:००

अछामको बलातास्थित तिखान गाउँमा पुग्ने जोसुकै पाहुना होऊन्, सुरुमै मह खुवाएर स्वागत गरिन्छ । खानामा दही, सिस्नु, टिमुरसहितको अचार, राइतो र मकैको रोटी पस्कने गरिन्छ । दिउँसोको खाजा उसिनेको मकै र बिहान–बेलुकी चियाको सट्टा दूध खुवाइन्छ । ‘यो चलन सुरु गरिएको दुई वर्ष भयो । पाहुनालाई लोकल परिकार मात्रै दिइन्छ,’ तिखानका रतने साउदले भने, ‘स्थानीय उत्पादनको प्रवद्र्धनका लागि यस्तो गरिएको हो ।’ 

सार्वजनिक सभा समारोह आयोजना हुँदासमेत स्थानीय परिकार खुवाउने गरिएको उनले बताए । ‘गाउँको उत्पादनबाहेक अरू चिज दिइँदैन,’ उनले भने, ‘यो गाउँमा जो आउँछ उसलाई कहिल्यै नभुल्नेगरी यहाँको स्थानीय स्वाद चखाएर पठाउँछौँ ।’ दोस्रोपटक गाउँमा पाहुना लाग्न आउनेहरूले गाउँमा आउनुअघि नै फोन गरेर इच्छाअनुसारका स्थानीय परिकार अर्डर गर्ने गरेको उनले बताए । तिखानमा मात्र होइन, पूर्वी अछामको ढकारी र तुर्माखाँद गाउँपालिकाका सबै ठाउँमा स्थानीय उत्पादनको प्रवद्र्धन गर्न गाउँमै पाइने परिकार खुवाउन थालिएको छ ।

 दंग पाहुना
घुम्ती शिविर लिएर वास बस्न दुर्गम गाउँ बलाता पुगेको सरकारी टोलीलाई बिहानै मह चखाउन थालिएपछि सहायक प्रमुख जिल्ला अधिकारी शीतलबहादुर रावल र डिएसपी जनकबहादुर शाहीसहितका कर्मचारी दंग परे । स्थानीयले आफैँ सुरु गरेको यस अभियानले आगन्तुकलाई लोभ्याउन थालेको ढकारी–५ नम्बर वडासचिव लोकेन्द्रबहादुर बोगटीले बताए ।
 होमस्टेभन्दा कुसल व्यवस्था
‘यहाँ होमस्टेका रूपमा औपचारिक सुरुवात भएको छैन । तर, होमस्टेभन्दा अझै राम्रो सुविधा छ,’ उनले भने, ‘घरकै चुलोमा थपीथपी खान पाइन्छ । यहाँ बस्नुको मजा नै बेग्लै छ ।’ स्थानीय परिकार खान पाइने भएपछि कर्मचारीहरूको रोजाइमा ढकारी र तुर्माखाँदका दुर्गम गाउँ पर्न थालेको उनले बताए । तुर्माखाँद गाउँपालिकाका अध्यक्ष पुष्पराज शर्माका अनुसार स्थानीय उत्पादन प्रवद्र्धनका लागि योजना नै तयार पारिएको छ ।

पहिलो चरणमा मह उत्पादन र व्यवस्थापन तथा सिस्नो प्रशोधन सुरु गरिएको छ । ‘स्थानीय उत्पादन प्रवद्र्धन गर्ने सोच छ,’ उनले भने, ‘त्यसका लागि सुरुवात गरेका छौँ । यस्तो अभियानलाई थप गति दिइनेछ ।’ मकै, कोदो, गहुँ, चामल र कागुनोको रोटी, रागा (ढिडो), स्थानीय दाल, फर्सीको मुन्टा, फर्सी, हरियो सिमी, काँक्रो र अमलाको अचार, दूध, दही, मोही, घिउ, मह, टिमुरसहितको अचार, राइतो, गोलभेडाको चटनी यहाँ पाइने मुख्य परिकार हुन् ।