मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ माघ २ बिहीबार ०८:१६:००
Read Time : > 1 मिनेट
विश्व

रसियाली प्रधानमन्त्री  दिमित्री मेदभेदेभको राजीनामा

Read Time : > 1 मिनेट
२०७६ माघ २ बिहीबार ०८:१६:००

संविधान संशोधन गर्ने पुटिनको योजना


रसियाका प्रधानमन्त्री दिमित्री मेदभेदेभले राजीनामा दिएका छन् । राष्ट्रपति भ्लादिमिर पुटिनले संविधान परिवर्तन गर्ने घोषणा गरेपछि प्रधानमन्त्री र मन्त्रिपरिषद्का सबै सदस्यहरूले बुधबार राजीनामा दिएका हुन् ।  

पुटिनको पछिल्लो कदमले रसियाको शक्ति सन्तुलनमा महत्वपूर्ण परिवर्तन आउने प्रधानमन्त्री मेदभेदेभले जानकारी दिए । ‘राष्ट्रपतिको निर्देशनबमोजिम वर्तमान स्वरूपको सरकारले राजीनामा दिएको छ ।’ उनले सुरक्षा परिषद्मा उपप्रमुख पद सिर्जना गर्ने प्रस्तावसमेत गरेका छन् । सम्भवतः मेदभेदेभ सो पदमा रहनेछन् । 

राष्ट्रपति पुटिनले एक विज्ञप्ति सार्वजनिक गर्दै विगतमा गरेका उपलब्धिप्रति सरकारलाई धन्यवाद दिएका छन् । ‘अहिलेसम्म भएका उपलब्धिप्रति सरकारलाई धन्यवाद दिन चाहन्छु  ।’ पुटिनको चौथो कार्यकाल आगामी सन् २०२४ मा समाप्त हुँदै छ । र, वर्तमान संवैधानिक व्यवस्थाअनुसार उनी अर्को कार्यकालका लागि उम्मेदवार हुन पाउँदैनन् । रसियामा विकसित पछिल्लो राजनीतिक घटनाक्रमलाई विश्व समुदायले रुचिपूर्वक अवलोकन गरेको छ । रसियाली समाचार संस्था तासका अनुसार राष्ट्रपति पुटिनले गरेको संविधान परिवर्तनको प्रस्तावले सविधानको सम्पूर्ण धारामा मात्र महत्वपूर्ण परिवर्तन हुनेछैन बरु सम्पूर्ण शक्ति सन्तुलन, कार्यकारी शक्ति, विधायिकाको शक्ति र न्यायपालिकाको शक्तिमा समेत परिवर्तन हुनेछ । 

‘परिवर्तनका लागि हामीले हाम्रा राष्ट्रपतिलाई  आवश्यक सम्पूर्ण कदम चाल्ने विकल्प दिनुपर्छ ।’ मेदभेदेभले भने, ‘बाँकी सबै निर्णय राष्ट्रपतिले लिनेछन् ।’ राष्ट्रपति पुटिनले नयाँ सरकार गठन नहुन्जेल सरकार प्रमुखको रूपमा निरन्तरता दिन पनि आग्रह गरेका छन् । मेदभेदेभ राष्ट्रपतिका लामो समयदेखिका विश्वासपात्र हुन् । यसअघि पुटिनले रसियाको संविधानको सुधारका लागि प्याकेजसहित जनमतसंग्रहको प्रस्ताव गरेका थिए । प्रस्तावित परिवर्तनले प्रधानमन्त्री र मन्त्रिपरिषद्का सदस्य छनोट गर्ने अधिकार संसद्लाई दिनेछ । रसियाको वर्तमान प्रणालीअन्तर्गत अहिले यस्तो अधिकार राष्ट्रपतिलाई छ । 

सन् २०१८ मा तेस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित बनेका पुटिन दुई दशकदेखि रसियामा एकछत्र सत्तामा छन् । उनी पहिलोपटक सन् २००० देखि २००८ सम्म राष्ट्रपति भएका थिए । त्यसपछि सन् २००८ देखि २०१२ सम्म उनी प्रधानमन्त्री बनेका थिए जतिवेला मेदभेदेभ राष्ट्रपति थिए । उनी सन् २०१२मा दोस्रोपटक राष्ट्रपतिमा निर्वाचित भएका थिए ।