मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
काठमाडौं
२०७६ माघ २ बिहीबार ०८:१०:००
Read Time : > 1 मिनेट
खेलकुद

सन्दीपले काठमाडौंबाट इपिएल खेल्ने 

Read Time : > 1 मिनेट
काठमाडौं
२०७६ माघ २ बिहीबार ०८:१०:००

चर्चित लेगस्पिनर सन्दीप लामिछानेले काठमाडौं किङ्स इलाभेनबाट एभरेस्ट प्रिमियर लिग (इपिएल) खेल्ने भएका छन् । सन्दीपलाई इपिएलको नयाँ सिजनका लागि काठमाडौंले किनेको हो । इपिएलको नयाँ सिजन आगामी १–१५ चैतमा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुँदै छ । सन्दीपले इपिएलको अघिल्ला दुई सिजन ललितपुर प्याट्रियट्सबाट खेलेका थिए ।

इपिएलले नयाँ सिजनका लागि तय गरेको ‘प्लेयर ट्रेड’को प्रावधानअनुसार काठमाडौंसँग सन्दीपको अनुबन्ध सम्भव भएको हो । इपिएलले बुधबार ट्विटमार्फत नयाँ सिजनका लागि सन्दीपलाई काठमाडौंले किनेको जानकारी गराएको हो । 

यो प्रावधानअनुसार बेच्ने र किन्ने टोलीबीच सहमति बनेको अवस्थामा आधार मूल्य दुई लाख हुने गरी कुनै पनि टोलीले खेलाडी अनुबन्ध गर्न सक्नेछ । अनुबन्ध रकम त्योभन्दा बढी पनि हुन सक्नेछ । अनुबन्ध रकम दुई लाखभन्दा माथि भए बाँकी रकमको ६० प्रतिशत खेलाडी र बाँकी बेच्ने टोलीलाई जानेछ ।

सन्दीपको अनुबन्ध रकम भने आयोजकले खुलाएको छैन । यही प्रावधानअनुसार यसअघि दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीको पनि क्लब परिवर्तन भएको छ । दीपेन्द्रलाई काठमाडौं र सोमपाललाई चितवनले किनेका हुन् । अघिल्लो सिजनमा दीपेन्द्र चितवन र सोमपाल काठमाडौंका मार्की खेलाडी थिए ।

बिगबासमा उत्कृष्ट प्रदर्शन
अस्ट्रेलियामा चलिरहेको बिगबास लिगमा सन्दीपले बुधबार उत्कृष्ट प्रदर्शन गरेका छन् । सन्दीपकै प्रदर्शनमा मेलबर्न स्टार्सले पर्थ स्कोचर्समाथि आठ विकेटको जित हात पारेको छ । सन्दीपले तीन ओभर बलिङ गर्दा एक मेडनसहित मात्र सात रन खर्चिएर दुई महत्वपूर्ण विकेट लिए । आफ्नै मैदानमा टस जितेर ब्याटिङ गरेको पर्थ १३.५ ओभरमा ८६ रनमै समेटिएको थियो ।

प्रत्युत्तरमा मेलबर्नले १२ ओभरमा मात्रै दुई विकेट गुमाएर जित भेट्टाएको हो । ब्याटिङतर्फ मार्कस स्टोनिसले अविजित रहँदै सर्वाधिक ३९ रनको योगदान दिए । टोलीको जितमा योगदान पुर्‍याउने क्रममा सन्दीपले पर्थका आठौँ क्रमका ब्याट्सम्यान क्रिस जोर्डन (५) र झेई रिचार्डसन (१)लाई आउट गराएका थिए ।