मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ माघ २ बिहीबार ०७:०९:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

अख्तियारको डरले मालपोत र नापीमा जानै मान्दैनन् कर्मचारी

आधाभन्दा बढी मालपोत कार्यालय प्रमुखविहीन, नापीमा ५ सय प्राविधिक रिक्त

Read Time : > 1 मिनेट
२०७६ माघ २ बिहीबार ०७:०९:००

सेवाग्राहीको अत्यधिक चाप हुने मालपोत र नापीमा दरबन्दीभन्दा दुई हजार कर्मचारी अभाव छन् । लोकसेवाले पदपूर्ति नगर्दा खाली रहेका मालपोत र नापीका दरबन्दीमा अन्य कार्यालयका कर्मचारी पनि जान नमान्दा सेवा प्रवाहमै समस्या भएको छ ।

बढी अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग पछिल्लो समय मालपोत र नापीमा धेरै केन्द्रित छ । केही समययता अख्तियारले अदालतमा मुद्दा दायर गरेका कर्मचारीमा पनि मालपोत र नापीकै धेरै छन् । गत पुसमा मात्रै मालपोत र नापीका ११ कर्मचारीविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ । जसमध्ये चारजना रंगेहात पक्राउ परेका थिए । अख्तियारकै डरले पनि अन्य कार्यालयका कर्मचारी मालपोत र नापीमा जान मान्दैनन् । 

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार आधाभन्दा बढी मालपोत कार्यालय प्रमुखविहीन छन् । प्रमुख मालपोत अधिकृतको ५९ दरबन्दी भएकोमा ३१ पद रिक्त छ । त्यस्तै दुई सय ४९ मालपोत अधिकृतमध्ये ८६ को पदपूर्ति हुन सकेको छैन । विभागमा मालपोतको कुल स्वीकृत दरबन्दी तीन हजार एक सय २० रहेकोमा आठ सय २५ कर्मचारी रिक्त छन् । 

‘कर्मचारी अभावले विभागको काममा निकै असर पारेको छ, कामै गर्न सकिएको छैन । कर्मचारी पूर्ति गर्न हामीले तालुक मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग माग गरिरहेका छौँ । तर, पर्याप्त कर्मचारी पाउन सकिएको छैन,’ विभागका निर्देशक भरत गौतमले भने, ‘अहिले अधिकृत र नासुमा लोकसेवाले कर्मचारी भर्नाको प्रक्रिया थालेको छ, यसपछि पूर्ति होला कि ।’ 

त्यस्तै, नापी विभागका सूचना अधिकारी दामोदर ढकालका अनुसार विभागमा कुल दरबन्दी संख्या तीन हजार रहेकोमा नौ सय रिक्त छन् । ‘मुख्य काम गर्ने करिब पाँच सय प्राविधिक जनशक्ति नै रिक्त छन्,’ उनले भने । लोकसेवा आयोगले विज्ञापन नखुलाएका कारण रिक्त प्राविधिक पद पूर्ति हुन नसकेको उनको भनाइ छ । प्राविधिक कर्मचारीबाहेक प्रशासन, लेखालगायत कर्मचारी पनि हत्तपत्त विभागमा आउन नचाहने भएकाले समग्रमै अभाव भएको विभागका अधिकारीहरू बताउँछन् । 

मालपोत र नापीमा अत्यधिक भ्रष्टाचार हुने गरेकोतर्फ इंगित गर्दै अख्तियार प्रमुख नवीनकुमार घिमिरेले भ्रष्टाचारको अनुसन्धान गर्दै जाँदा मालपोत र नापीमा कर्मचारी नै नरहने अवस्था आएको बताएका थिए । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता जनकराज जोशी भने लोकसेवाले पदपूर्ति नगर्दा र प्राविधिक विषय भएकाले नापीमा कर्मचारी अभाव भएको बताए ।

‘नापी प्राविधिक विषय भएकाले अन्तबाट सरुवा भएर आउने सम्भावना हुँदैन । लोकसेवाबाट पदपूर्ति भएपछि आउने नापीमै हो । पोहोर साल नापी प्राविधिकको विज्ञापन नखुलेको र भएका जनशक्ति पनि समायोजन भएर प्रदेश र स्थानीय तहमा गएकाले अभाव भएको हो,’ उनले भने । 

मालपोत र नापीमा काम गर्न सजिलो छैन, त्यसैले अन्तबाट कर्मचारी आउँदैनन् : जनकराज जोशी
प्रवक्ता, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय 

नापी प्राविधिक विषय भएकाले अन्तबाट सरुवा भएर आउने सम्भावना हुँदैन । लोकसेवाबाट पदपूर्ति भएपछि आउने नापीमै हो । पोहोर साल नापी प्राविधिकको विज्ञापन नखुलेको र भएका जनशक्ति पनि समायोजन भएर प्रदेश र स्थानीय तहमा गएकाले अभाव भएको हो । जग्गा प्रशासन पनि अलि गाह्रो र प्राविधिक विषय हो । त्यसैले प्रशासनका कर्मचारी मालपोत जान असहज मान्छन् । जग्गा प्रशासनको रेकर्ड व्यवस्थित नभएकाले झन्झटका कारण पनि धरै कर्मचारीको रोजाइमा मालपोत पर्दैन ।