१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ माघ २ बिहीबार ०६:४४:००
Read Time : > 2 मिनेट
मुख्य समाचार

उपत्यकाका इँटाभट्टामा बाल मजदुर : अधिकांश इँटाभट्टामा कानुनविपरीत जोखिमपूर्ण काममा लगाइएका छन् बालबालिका

Read Time : > 2 मिनेट
२०७६ माघ २ बिहीबार ०६:४४:००

१३ वर्षीय कमल माझी हरेक बिहान चार बज्दा नबज्दै उठिसक्छन् । स्कुल जाने र पढ्ने लेख्ने उमेरका उनी स्कुल जान र लेखपढ गर्न यसरी बिहान उठेका भने होइनन् । उनलाई इँटा उद्योगले झिसमिसेमै उठ्न बाध्य पारेको हो । रामेछापबाट बाबुको साथ लागेर भक्तपुर आएका कमलको दैनिकी माटोबाट सुरु हुन्छ र माटोमै सकिन्छ । केही महिनायता पुसको चिसोले ढाडिएको माटो खेलाउनु उनको दैनिकी बनेको छ । उनी बिहानैदेखि माटोलाई चौकोस (इँटा बनाउने साँचो) मा राख्छन्, र इँटा पार्छन् । उनका बाबु हर्कबहादुर भन्छन्, ‘ पोहोर पनि आएको थियो, तर काम गर्न थालेको यही सालबाट हो ।’

छोरालाई स्कुल पठाउने रहर हर्कबहादुरमा पनि छ । तर, कमलले नै स्कुल जान नमानेको उनी बताउँछन् । सिन्धुलीको धमिलेकी लक्ष्मी माझी अहिले ३१ वर्षकी भइन् । उनले पनि १३ वर्षकै उमेरदेखि इँटा बनाउने काम थालेकी हुन् । बुबाआमाको साथ लागेर भक्तपुरको इँटाभट्टामा आउँदा उनी १३ वर्षकी थिइन् । त्यसपछि हरेक वर्ष ६ महिनाजति भक्तपुरमै बिताउने गरेको बताइन् । उनले भनिन्, ‘गाउँमा स्कुल पनि थियो, तर दुई छाक टार्ने उपाय थिएन, कलिलै उमेरमा भट्टामा काम गर्न आउनुप-यो ।’ उनले भट्टामै काम गर्ने रामेछापका झलक माझीसँग विवाह पनि गरिन् ।

अहिले उनीहरूका दुईवर्षे छोरा पनि भट्टामै छन् र उनलाई भट्टानजिकैको शिशु हेरचाह केन्द्रमा राखेको झलकले बताए । कमल र लक्ष्मीले काम गर्ने चाँगुनारायण नगरपालिका–३ झौखेलको कुमारीमाता फिक्स इँटा उद्योगको बाहिर लेखिएको छ, ‘उपत्यकाकै पहिलो बालश्रममुक्त इँटा उद्योगमा यहाँलाई स्वागत छ ।’ तर, भट्टामा अहिले पनि कमलजस्तै बालबालिका इँटा पार्ने, इँटा बोक्ने, लहर मिलाउने काम गरिरहेका छन् । कुमारीमाता फिक्स इँटा उद्योगमा मात्रै होइन भक्तपुरका सबैजसो इँटाभट्टामा बालबालिका भेटिन्छन् । 
व्यवसायीले लिखित सम्झौता टेरेनन् 

सरकारले इँटा उद्योगमा बालबालिकाको प्रयोग नगर्न निर्देशन दिए पनि अझै इँटा उद्योग बालश्रममुक्त हुन सकेको छैन । सरकारको निर्देशनलाई व्यवसायीले अटेर गरिरहेका छन् । बालश्रम ऐन,२०५६ को परिच्छेद २ मा १४ वर्ष नपुगेका बालबालिकालाई कुनै पनि प्रकारको श्रम गराउन नपाइने उल्लेख छ । सरकार र इँटा व्यवसायीबीच बालश्रम उन्मूलनबारे लिखित सम्झौता नै भएको छ । सम्झौतालगत्तै व्यवसायीले उद्योगलाई बालश्रममुक्त घोषणा पनि गरे । तर, सम्झौता कार्यान्वयन भएको छैन । 

काठमाडौं उपत्यकाका तीन जिल्लाका  एक सय आठ इँटा उद्योगमध्ये भक्तपुरमा मात्रै ६३ छन् । इँटा उद्योगलाई बालश्रममुक्त बनाउन स्थानीय तहका बाल संरक्षण समिति, जिल्ला बालकल्याण समिति र विभिन्न दातृ निकायले अघिल्लो वर्षदेखि केही प्रयास गरिरहेका छन् । अहिलेसम्म सूर्यविनायक नगरपालिकाका १२ र चाँगुनारायाण नगरपालिकाका तीन गरी १५ वटा उद्योगलाई बालश्रममुक्त घोषणा भएका छन् । तर, भट्टामा नियमित अनुगमन हुन नसक्दा बालश्रम रोकिएको छैन । बरु, बालबालिकालाई उमेर, नाम र ठेगाना ढाँट्न लगाएर काममा लगाउने गरिएको छ । 

इँटा उद्योग बालश्रममुक्त भइसकेको उद्योगीको दाबी 
उद्योग सञ्चालक भने भट्टामा बालश्रमिक नरहेका र पूर्ण निषेध गरेको दाबी गर्छन् । ‘हामी कसैलाई पनि जबर्जस्ती काममा लगाउँदैनौँ, अझ बालबालिकालाई त काममा लगाउनै मिल्दैन,’ कुमारीमाता इँटा उद्योगका सञ्चालक केशव चुवालले नयाँ पत्रिकासँग भने । नाइकेलाई बालबालिकालाई काममा प्रयोग नगर्ने स्पष्ट निर्देशन दिएको सञ्चालक चुवालले बताए । 

चाँगुनारायण नगरपालिकाका उपप्रमुख बिना बाँस्तोलाले इँटा उद्योग सञ्चालकले नगरपालिकालाई नटेर्ने गरेका दुखेसो गरिन् । ‘नियमित अनुगमन पनि गरेको छौँ, शिरदेखि पाउसम्म धुलोले पोतिएर काम गर्दै गरेका बालबालिका भट्टामा भेटिन्छन्,’ उनी भन्छिन्, ‘बालबालिका मात्रै होइनन्, किशोरी, महिला र सुत्केरीसमेत काम गरिरहेको भेटिन्छन्, उनीहरूको स्वास्थ्यमा गम्भीर असर पुगिरहेको छ ।’ उनले नगरक्षेत्रका ५२ भट्टामध्ये तीनवटा मात्रै बालश्रममुक्त रहेको बताइन् । 

इँटा उद्योगमा ४० हजार रोजगार
उपत्यकाका भट्टामा भारतीय कामदार धेरै छन् । सिन्धुली, रामेछाप, काभ्रे, सिन्धुपाल्चोक, सल्यान, दाङ, रुकुम, रोल्पालगायत जिल्ला कामदार आउँछन् । केही उद्योगमा स्थानीय कामदार पनि छन् । व्यवसायी नातिभाइ हेम्बाका अनुसार उपत्यकाका इँटा उद्योगले करिब ४० हजारलाई रोजगारी दिएको छ । सरकारको बालश्रम निवारण राष्ट्रिय गुरुयोजना (०७५–८५) ले ०७९ सम्म अमर्यादित र शोषणयुक्त बालश्रमको अन्त्य गर्ने र ०८२ सम्म सबै प्रकारका बालश्रम निवारण गर्ने लक्ष्य राखेको छ ।

सोहीअनुसार इँटाभट्टामा बालश्रम अन्त्यका लागि तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र नेपाल इँटा उद्योग महासंघका अध्यक्ष महेन्द्रबहादुर चित्रकारबीच सम्झौता भएको थियो । मन्त्री विष्टले १४ साउन ०७५ मा इँटाभट्टामा बालश्रम अन्त्य भएको घोषणा गरेका थिए । हिउँदमा परिवार नै भट्टामा आउने भएकाले विद्यालय जाने उमेरका बालबालिकासमेत भट्टामा काम गर्न बाध्य हुन्छन् । भट्टामा सामान्यतः मंसिरदेखि वैशाखसम्म इँटा बनाउने काम हुन्छ । नेपालमा ६ लाख २१ हजार बालबालिका निकृष्ट श्रममा प्रयोग हुँदै आएका छन् । ग्लोबल फेयरनेस इनिसिएटिभ (जिएफआई)ले ०७५ मा गरेको अध्ययनअनुसार नेपालमा इँटालगायत मौसमी उद्योगमा ६ लाख २१ हजार बालबालिका निकृष्ट श्रममा प्रयोग भएका छन् ।