१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
सुरञ्जन घिमिरे  काठमाडौं 
२०७६ माघ १ बुधबार १८:१६:००
Read Time : > 2 मिनेट
समाचार

तुम्बाहाम्फेको अडानमा पूर्व माओवादीको महिला सांसदको समर्थन कि विरोध ?

Read Time : > 2 मिनेट
सुरञ्जन घिमिरे  काठमाडौं 
२०७६ माघ १ बुधबार १८:१६:००

कृष्णबहादुर महराले राजिनामा दिएपछि रिक्त रहेको सभामुख चयन गर्न सत्तारुढ नेकपालाई जति अप्ठेरो परेको छ, त्यो भन्दा बढी अप्ठेरो नेकपाका पूर्व माओवादी पक्षधर महिला प्रतिनिधि सभा सदस्यहरुलाई परेको छ । 

नेकपा सचिवालयले राजिनामा गर्न निर्देशन दिएपनि उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजिनामा नदिएपछि पूर्व माओवादी पक्षधर महिला सांसदहरु अप्ठेरोमा परेका हुन् । 

संवैधानिक व्यवस्था अनुसार एउटै दल वा लिङ्गबाट सभामुख र उपसभामुख राख्न नपाउने भएकाले सभामुख पद आफ्नै पार्टीबाट बनाउने गरी नेकपा सचिवालयको २६ पुषको बैठकले तुम्बाहाम्फेलाई राजिनामा दिन निर्देशन दिएको थियो । 

तर, पूर्व सभामुख महराले गरेको दोषको भागेदार आफूलाई बनाउन नपाइने भन्दै राजिनामा दिन अस्वीकार गरिरहेकी तुम्बाहाम्फेको अडानले नेकपाका पूर्व माओवादी पक्षका नेकपा सांसदहरुलाई अप्ठेरोमा पारेको छ । 

समर्थन गर्न अप्ठेरो 
पूर्व एमाले र माओवादी केन्द्रबीच एकता हुँदा प्रमुख चार पदहरुमा भागबण्डा भएको थियो । जस अनुसार राष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रिय सभाको अध्यक्ष र प्रतिनिधि सभाको उपसभामुख एमालेको भागमा परेको थियो भने उपराष्ट्रपति, प्रतिनिधि सभाको सभामुख र राष्ट्रिय सभाको उपाध्यक्ष माओवादी केन्द्रले लिएको थियो । 

अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लगायत पूर्व माओवादी पक्षधर नेताहरुले पूर्ववत निर्णयका आधारमा रिक्त सभामुख पदमा पूर्व माओवादी पक्षधर नै हुनुपर्ने अडान लिइरहेका छन्, जसमा माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम लगायतका नेताहरुको साथ छ ।  

एउटै पार्टीबाट सभामुख र उपसभामुख दुवै हुन नसक्ने व्यवस्था नेपालको संविधान– ०७२ ले गरेको छ । यो स्थितिमा तुम्बाहाम्फे नै उपसभामुखमा कायम रहने हो भने नेकपाले पनि सभामुख पद गुमाउनुपर्ने हुन्छ । नेकपाले सभामुख पद गुमाउनुको अर्थ पूर्व माओेवादी पक्षका नेताले पनि सभामुख नपाउनु हो । 

यही कारण आफूहरु तुम्बाहाम्फेको पक्षमा उभिनसक्ने स्थिति नरहेको पूर्व माओवादी पक्षधर एक सांसदले नयाँ पत्रिकालाई बताइन् । पार्टी केन्द्रीय सदस्यसमेत रहेकी सांसद धर्मशीला चापागाइँले भनिन्, ‘महिलाका नाताले तुम्बाहाम्फेप्रति मेरो पूर्ण समर्थन छ । तर पार्टीका शीर्ष नेताको निर्णयलाई हामी सबैले मान्नुपर्छ ।’ 

तुम्बाहाम्फेबाहेक अरू सांसदले सभामुख–उपसभामुखको जिम्मेवारी सम्हाल्न सक्दैनन् भन्ने तुम्बाहाम्फेको अडान चित्त बुझ्दो नरहेको चापागाइँले बताइन् ।  

विरोध गर्नपनि अप्ठेरो 
सभामुख पद गुम्ने भएका कारण जसरी तुम्बाहाम्फेको समर्थन गर्न पूर्व माओवादी पक्षधर महिला सांसदहरुलाई अप्ठेरो छ, विरोध गर्न पनि पूर्व माओवादी पक्षधर सांसदहरुलाई अप्ठेरो परेको छ । तुम्बाहाम्फेले आफ्नै लिङ्ग (महिला) को प्रतिनिधित्व गर्नु यसको कारण हो । 

हुन त, संवैधानिक व्यवस्था अनुसार सभामुख पुरुष भए उपसभामुख महिला हुनै पर्छ । सभामुख महिला छिन् भने उपसभामुख चाहिँ पुरुष हुनैपर्छ । यस हिसावले तुम्बाहाम्फेले उपसभामुखबाट राजिनामा दिएको स्थितिमा त्यसपछि हुने निर्वाचनबाट सभामुख वा उपसभामुखमध्ये एकजना महिला हुन्छन् नै । 

तर, सभामुख महराले राजिनामा दिएको स्थितिमा प्रतिनिधि सभालाई जसरी नेतृत्व दिइन्, त्यो कारणले तुम्बाहाम्फेप्रति अधिकांसको सहानुभूति छ । महिला भएपनि कुशल नेतृत्व प्रदान गरेको भन्दै उनको प्रसंशा हुने गरेको छ । र, यही कारण नेकपाका मात्र होइन, प्रतिपक्षी कांग्रेस पार्टीलगायतका सांसदहरुले पनि तुम्बाहाम्फेकै पक्षमा समर्थन जाहेर गरेका छन् ।  

नेकपाभित्रकै ठूलो पक्षको समर्थन तुम्बाहाम्फेले पाएकै छिन्, महिला भएकै कारण नेकपा इतर पक्षको समेत समर्थन पाएकोले तुम्बाहाम्फेको खुलेर  विरोध गर्न पूर्व माओवादी पक्षधर सांसदहरुले सकेका छैनन् । त्यसैले उनीहरुले पार्टी निर्णयलाई आधार बनाएर राजिनामा नदिने तुम्बाहाम्फेको अडानको विरोध गर्ने गरेका छन् । 

‘उहाँ पहिले पार्टीकै सदस्य हो, पार्टीबाटै सांसद हुनु भएको हो’ रुकुम पूर्वबाट निर्वाचित सांसदसमेत रहेकी पार्टी केन्द्रीय सदस्य कमला रोकाले भनिन्, ‘सभामुख वा उपसभामुखमध्ये एकजना महिला हुनुपर्छ भनेर हामी पनि भन्छौँ । तर उहाँ (तुम्बाहाम्फे) जत्तिकै योग्य अरु पनि हुनुहुन्छ भन्ने कुरा सबैले ख्याल गर्नुपर्छ ।’