अमेरिकाको न्युयोर्कका १७ वर्षीय विद्यार्थी वुल्फकुकिर आफ्नो जुनियर हाइस्कुल पास गरी इन्टर्नसिपमा काम गर्न नासा गए ।
अन्तरिक्ष विज्ञानबारे अध्ययन, खोज अनुसन्धान गर्ने संस्था नासा विश्व अन्तरिक्ष विज्ञानको आकर्षक केन्द्र हो ।
यसअघि सन् २०१८ मा पनि इन्टर्नसिपकै लागि उनी नासा गएका थिए ।
सौर्यमण्डल बाहिरका ग्रहहरूबारे अध्ययन गर्न नासामा जडान गरिएको ‘ट्रान्जिटिङ एक्जोप्लानेट स्याटेलाइट’मा उनी काम गरिरहेका थिए ।
नासाले अन्तरिक्षमा राखेको ठूलो प्रणालीको स्याटेलाइट होट्रान्जिटिंग एक्जोप्लानेट स्याटेलाइट । यसलाई पृथ्वीजस्तै ग्रहको खोजी गर्न पृथ्वीबाट निकै टाढा रहेका ताराहरूको अध्ययन गर्न विकास गरिएको थियो ।
उनलाई यसै प्रणालीअन्तर्गत रहेर बाह्यतारा–पिण्डहरूको अवलोकन गरेर अन्य पृथ्वी जस्तै ताराहरूको खोजबारे अध्ययन गर्ने योजनाअन्तर्गत नै काम दिइएको थियो ।
काम थालेको पहिलो दिनदेखि ताराहरूको अवलोकन गर्न थालेका उनले तेस्रो दिन एउटा असामान्य दृश्य फेलापारे । एक ग्रहले अर्काे ग्रहको परिक्रमा गरिरहेको देखे ।
‘ह्याबिटेबलमा जोन’मा हुन सक्ने देखिएपछि उनले यसबारे अरूलाई जानकारी गराए । त्यसपछि केन्द्रका सिनियर अन्वेषणकर्ता एवं वैज्ञानिकहरूले यसबारे तीव्र अनुसन्धान थाले ।
करिब ३ महिनाको खोजपछि ६ जनवरी २०२० का दिन (टीओआई ७०० डी) नाम दिइएको पृथ्वीजस्तै ग्रहको अस्तित्व फेला परेको घोषणा भयो ।
पृथ्वीभन्दा करिब १ सय ५ प्रकाश वर्ष टाढा रहेको यो नयाँ ग्रह र यसले परिक्रमा गर्ने सूर्य बीचको दूरीले यसमा तरल अवस्थामा पानी हुनसक्ने देखियो ।
पृथ्वीजस्तै परिक्रमा गर्ने यस ग्रहको तापक्रम सूर्यकोभन्दा झण्डै आधा छ ।
हाम्रो सौर्यमण्डलमा आठ ग्रह रहेजस्तै यसको सौर्यमण्डमा ३ ग्रह रहेको फेला परेको छ । उक्त ताराको सबैभन्दा नजिक रहेको ग्रहलाई (टीओआई ७०० बी) नाम दिइएको छ ।
सबैभन्दा नजिक रहेको यो ग्रहको व्यास पृथ्वी जत्तिकै छ, भने यसले प्रत्येक १० दिन आफ्नो सूर्य (टीओआई ७००) को परिक्रमा गर्छ ।
त्यसपछिको अक्षमा रहेको ग्रहलाई (टीओआई ७०० सी)नाम दिइएको छ । यसको आकार पृथ्वीको भन्दा करिब अढाइ गुणा बढी छ, भने यसले प्रत्येक १६ दिनमा आफ्नो सूर्यको परिक्रमा गर्छ ।
(टीओआई ७००)बाट तेस्रो स्थानमा रहेको ग्रह(टीओआई ७००डी) नै पृथ्वीजस्तै ग्रह हो । आकारमा यो ग्रह पृथ्वीभन्दा २० प्रतिशत ठूलो छ ।
आफ्नो सूर्यबाट यो ग्रहले ८६ प्रतिशत तापमान पाउँछ । जुन हाम्रो सूर्यबाट हामीले पाउने तापमान जत्तिकै हो । प्रत्येक ३७ दिनमा यो ग्रहले आफ्नो सूर्यको एक चक्कर काट्छ ।
यी तीनवटै ग्रहहरु कठिन किसिमले सूर्यसँग बाँधिएका कारण एकापट्टि सधैँ सूर्यको प्रकाश रहने गरेको जनाइएको छ ।
अनुसन्धान टिमको नेतृत्वकर्ता एवं खगोलविद् जोसेफ रोड्रिग्जले यो ग्रहमा पानीको सम्भावना निकै बढी रहेको बताएका छन् । ‘तारा र ग्रहहरूबीचको दूरी, आकारलगायत विभिन्न अवस्थाको अध्ययनले देखाएअनुसार नजिकको र टाढाको ग्रह चट्टानबाट र बीचको ग्रह ग्यासबाट बनेको छ’,उनले भने । यो ग्रहबारे थप अध्ययन र अनुसन्धान तीव्र रूपमा अघि बढाएका छन् । ‘ह्याबिटेबल जोन’मा फेला परेका केही ग्रहमध्ये यो ग्रहमा पानी भएको सम्भावना बढी देखिएको छ ।
कुनै पनि ग्रहले आफुमा प्राणीहरू बाँच्न सक्ने क्षमता राखेर आफ्नो सूर्यको परिक्रमा गर्छ भने त्यस्तो क्षेत्रलाई खगोलीय भाषामा ह्याबिटेबल जोन भनिन्छ ।
कति हुन सक्छन् पृथ्वी जस्तै ग्रहहरू ?
ब्रह्माण्डको उत्पत्ति करिब १४ अर्ब वर्षअघि भएको मानिन्छ । ब्रह्माण्डमा सय अर्बभन्दा बढी तारापुञ्ज छन् । एउटै तारापुञ्जमा अर्बाैं तारा रहने गर्छन् ।
हामी रहेको आकासगंगा तारापुञ्जको मात्रै कुरा गर्ने हो भने पनि यसमा करिब ४ खर्ब तारा छन् । आकासगंगा तारापुञ्जमा मात्रै हाम्रो सूर्य जस्तै ताराहरूको संख्या करिब २० अर्ब हुन सक्ने अनुमान छ ।
तीमध्ये २० प्रतिशत ताराहरूमा ह्याबिटेबल जोन हुनसक्छ । यसरी यी ताराहरूको ०.१ प्रतिशतमा मात्रै पनि जीवन सम्भव भएको अवस्थामा आकासगंगा तारापुञ्जमा मात्रै पनि १० लाख ग्रहमा प्राणीको जीवन सम्भव रहने देखिन्छ ।
यस्ता ग्रहमा रहेका प्राणीहरू पृथ्वीमा भएका जस्तै हुन्छन् भन्ने पनि हुँदैन र ती प्राणीको सञ्चार कार्यन्त्रहरू पृथ्वीलाई नभेट्ने वा नदेख्ने पनि हुन सक्छ ।
ह्याबिटेबल जोनमा रहेका ग्रहहरूसँग हाल पृथ्वीमा रहेका यन्त्रहरूबाट सञ्चार गर्न समेत करोडौँ वर्ष लाग्छ । त्यसैले विज्ञानका लागि एलियनको जीवन भेट्टाउनु एक अद्भूत रहस्य हुन जान्छ ।