१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ माघ १ बुधबार ०७:५९:००
Read Time : > 1 मिनेट
अर्थ

नेपाल टेलिकमको भ्वाइस र  डाटाको बजार हिस्सामा वृद्धि

Read Time : > 1 मिनेट
२०७६ माघ १ बुधबार ०७:५९:००

हाल कम्पनीको बजार हिस्सा भ्वाइसमा ५४.८३ र डाटामा ४८.४१

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले सेयरधनीलाई प्रतिसेयर ४५ रुपैयाँ लाभांश प्रदान गर्ने भएको छ । कम्पनीको मंगलबार सम्पन्न १२औँ साधारणसभाले आर्थिक वर्ष ०७५/७६ को नाफाबाट नगद लाभांश पारित गरेको हो । 

सभाले आर्थिक वर्ष ०७५/७६ को सञ्चालक समितिको प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसहितको असार मसान्तसम्मको वासलातसमेत पारित गरेको छ । सभाले महालेखा परीक्षकको कार्यालयको परामर्श तथा लेखापरीक्षण समितिको सिफारिसबमोजिम आव ०७६÷७७ का लागि कम्पनीको लेखापरीक्षण गर्न चार्टर्ड एकाउन्टेन्ट प्रकाशजंग थापा र अच्युतराज जोशीलाई लेखापरीक्षक नियुक्त गर्नुका साथै निजको पारिश्रमिकसमेत पारित गरेको छ । 

कम्पनीको सञ्चालक समितिका अध्यक्ष रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव दीपक सुवेदीले साधारणसभामा कम्पनीको वार्षिक प्रतिवेदन पेस गरेका थिए । उनले सेयरधनीको लगानीको प्रतिफल सुनिश्चित हुने गरी कम्पनीको दीर्घकालीन विकास तथा समृद्धिका लागि सञ्चालक समिति क्रियाशील रहेको बताए । कम्पनीलाई सबल, अग्रणी संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धतासमेत उनले व्यक्त गरे । 

मुलुकको विकट तथा ग्रामीण क्षेत्रहरूमा समेत सञ्चार तथा सूचनाप्रविधि उपलब्ध गराई मुलुकमा व्याप्त डिजिटल डिभाइड न्यूनीकरण गर्न कम्पनीको योगदान महŒवपूर्ण रहेको अध्यक्ष सुवेदीको भनाइ थियो । देशव्यापी रूपमा आवश्यक पूर्वाधार विकासमा कम्पनीले विशेष ध्यान दिएको उनले बताए । 

भ्वाइस र डाटाको बजार विस्तार
कम्पनीको भ्वाइस र डाटा सेवाको बजार हिस्सा क्रमशः ३.९३ र ४.७५ प्रतिशतले वृद्धि भई ५४.८३ र ४८.४१ प्रतिशत पुगेको सभामा जानकारी दिइयो । प्रविधिको तीव्र विकास भएसँगै विश्वव्यापी रूपमा भ्वाइस सेवाको व्यापारमा शिथिलता आई भ्वाइसको व्यापार क्रमिक रूपमा डाटा तथा अन्य भ्यालु एडेड सेवामा स्थानान्तरण हुने क्रम जारी रहेको सुवेदीको भनाइ थियो । तीव्र प्रतिस्पर्धाका कारणले भ्वाइस तथा डाटा सेवाको महसुलमा व्यापक कटौतीका बाबजुद कम्पनीले कुल राजस्व र नाफा क्रमशः ४३ अर्ब ८४ करोड रुपैयाँ र ९ अर्ब ७६ करोड रुपैयाँ कायम गर्न सफल भएको उनको भनाइ थियो । 

नयाँ प्रविधितर्फ रूपान्तरण
विभिन्न कारणले कम्पनीको नाफा घट्न गएको भन्दै उनले वायरलेस प्रविधिको एलटिई एड्भान्स्ड फोरजी एलटिई मोबाइल सेवाको विस्तार गरिएको उनले वताए । एउटै लाइनबाट गुणस्तरीय टेलिफोन, तीव्र गतिको इन्टरनेट र टेलिभिजनसमेत चलाउन सकिने एफटिटिएच प्रविधिको विस्तार, डाटाको मागलाई बढाउने भ्यालु एडेड सेवाहरूको विस्तार गर्ने काम तीव्र रूपमा भइरहेको उनले जानकारी दिए । साथै अन्तर्राष्ट्रिय रोमिङ सेवाको विस्तार र सेवाहरूको गुणस्तर सुधारलगायतका कार्यमा कम्पनीले थप तीव्रता दिएकाले चालू आर्थिक वर्षदेखि कम्पनीको राजस्व वृद्धि हुने उनको भनाइ थियो । सभाले पारित गरेबमोजिमको लाभांश रकम १ माघदेखि नै एनएमबि बैंकमार्फत सेयरधनीलाई वितरण गर्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।