मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७६ माघ १ बुधबार ०९:२२:००
Read Time : > 1 मिनेट
नयाँCity

भूमिगत ट्यांकीसहितको धर्मभक्त पार्क

Read Time : > 1 मिनेट
२०७६ माघ १ बुधबार ०९:२२:००

सहरका उद्यान

ओमबहाल नःबही एउटा ऐतिहासिक स्थल हो । काठमाडौं महानगर–२३ स्थित यही ठाउँमा सहिद धर्मभक्त माथेमाको जन्म भएको थियो, जहाँ ‘सहिद धर्मभक्त माथेमा पार्क’ बनेको छ । सहिद धर्मभक्तको पूर्णकदको सालिकसहितको यो पार्क सहिद दिवसको अवसर पारेर आगामी १६ माघमा उद्घाटन गर्ने कार्यक्रम छ । पार्कभित्र ठड्याइसकिएको उक्त सालिक कलाकार मदन तुलाधरले बनाएका हुन् ।

काठमाडौं–२३ का ओमबहाल, यंगालजस्ता टोलमा धेरै स–साना गल्ली र चोक छन् । आगलागी भएका वेला त्यहाँ दमकल पु¥याउन सकिँदैन । त्यसैले, अहिले पार्कको मुनि एउटा ठूलो पानीट्यांकी राखिएको छ । आगलागीजस्ता ठूला विपद्का वेला प्रयोग गर्न उक्त ट्यांकी राखिएको काठमाडौं महानगरपालिकाले जनाएको छ । वडाध्यक्ष मचाराजा महर्जनका अनुसार उक्त पानीट्यांकी ३० हजार लिटर क्षमताको छ । वर्षाको पानी संकलन गरी ट्यांकीमा राखिनेछ । 

‘सहिद धर्मभक्त माथेमा पार्क’मा भूमिगत  पानीट्यांकी राखिएको छ । आगलागीजस्ता ठूला विपद्का वेला प्रयोग गर्न उक्त ट्यांकी राखिएको हो ।

ट्यांकीको पाइपसँग अर्को पाइप जोडिएको छ, जो आवश्यक परेको ठाउँमा लान मिल्छ । आवश्यक परेको खण्डमा सोही पाइपमार्फत पानी पु-याई आगो नियन्त्रण गरिन्छ । ‘आगलागी भएको ठाउँमा पानी फाल्न वडाले एउटा पोर्टेबल पम्पको समेत व्यवस्था गरेको छ,’ वडाध्यक्ष महर्जनले भने, ‘त्यो पम्पले ९–१० तलासम्म पानी फाल्ने क्षमता राख्छ र एक घन्टासम्म लगातार फाल्न सक्छ ।’ मुख्य ट्यांकीसँग कनेक्सन हुने गरी भित्री भागमा रहेका चोक तथा बहाःहरूमा साना आकारका सहायक ट्यांकीहरूसमेत बनाउने योजना रहेको उनले बताए । ‘यसो गरेमा तीन–चारवटा ट्यांकीको पानी एकै ठाउँमा ल्याएर प्रयोग गर्न सकिन्छ,’ उनले भने ।

विपद्का वेला उपयोग गर्न सकिने पानीट्यांकीसहितको पार्क मुलुककै पहिलोपटक बनेको हो । करिब ५० लाख लागतमा महानगरले पार्क निर्माण गरेको हो । पार्कका डिजाइनर इन्जिनियर सजीव शाक्यका अनुसार पार्कभित्र परम्परागत नेवाः शैलीको एउटा सत्तल छ, जहाँ मानिसहरू आराम गर्न र टहल्न सक्छन् । त्यहाँभित्र एउटा ई–ट्वाइलेटसमेत छ । ट्वाइलेट, बगैँचा र अन्य सरसफाइका लागि पनि ट्यांकीको पानी प्रयोग गर्न सकिन्छ । ‘आगलागी नियन्त्रण गर्ने क्रममा अझै धेरै पानी आवश्यक पर्दा छिमेकीका घर–घरमा रहेका भूमिगत ट्यांकीको पानीसमेत मूल ट्यांकीको पाइप र मेसिनबाट प्रयोग गर्न सकिन्छ,’ काठमाडौं महानगरपालिका सहरी योजना आयोगका सदस्यसमेत रहेका इन्जिनियर शाक्यले भने ।