मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
साना जलविद्युतको मेसिनमा समस्या आएपछि विगत एक महिनादेखि चार दिनपछि एक दिन मात्र बिजुली आउने गरेको छ ।
२०७६ माघ १ बुधबार ०९:१६:००
Read Time : > 1 मिनेट
अर्थ

जुम्लाको खलंगामा हरेक पाँच  दिनमा चार दिन लोडसेडिङ

Read Time : > 1 मिनेट
२०७६ माघ १ बुधबार ०९:१६:००

जुम्लाको सदरमुकाम खलंगामा निरन्तर ९६ घन्टा लोडसेडिङ हुने गरेको छ । चन्दननाथ नगरपालिकास्थित खलंगाको साना जलविद्युत्को मेसिनमा समस्या आएपछि विगत एक महिनादेखि चार दिन (९६ घन्टा) पछि एक दिन मात्र बिजुली आउने गरेको छ । ०४० सालमा स्थापित विद्युत्गृहका टर्बाइन बिग्रिएपछि चार दिनको फरकमा एक दिन मात्र बत्ती बाल्न पाइएको स्थानीय बासिन्दाले बताए । 

सुरुमा दुई सय किलोवाट उत्पादन भएको आयोजना पछिल्लो समय ८० किलोवाटमा झर्‍यो । सोहीकारण खलंगावासीले चार दिनको फरकमा एक दिन मात्र बिजुली बाल्न पाएका हुन् ।

जलविद्युत् उपभोक्ता समितिले चार एकको फरकमा बिजुली आपूर्ति हुने जनाए पनि हप्तामा एक दिन मात्र बिजुली आउने गरेको चन्दननाथ नगरपालिका–७ का धनराज सार्कीले बताए ।  

भारतीय राजदूतावासले विद्युत् समस्यालाई समाधान गर्न २ करोड ६३ लाख ७७ हजार सहयोगबाट जीर्ण विद्युत् मर्मत गरिएको थियो । सो रकमले दुईवटा टर्बाइन जडान गर्दा पनि पटक–पटक बिग्रिएर उत्पादन हुन पाएको छैन ।

साना जलविद्युत् उपभोक्ता समितिका अध्यक्ष विष्णु बुढथापाले जुम्लावासीको मागअनुसार विद्युत् आपूर्ति हुन नसकेको बताए । उनी भन्छन्, ‘जुम्लावासी उज्यालो युगबाट अँध्यारो युगमा प्रवेश गरेका छन् । खलंगामा न विद्युत् आउँछ, न त टेलिफोन राम्रोसँग चलेको छ । मोबाइल चार्ज र अत्यावश्यक कामसम्म पनि गर्न कठिन छ ।’ 

विद्युत् नियमित नआउँदा सोलार सिस्टमबाट विद्युतीय काम गरेको भन्दै व्यवसायीले ठगी गरिरहेका छन् । प्रतिनिधिसभा सांसद गजेन्द्रबहादुर महतले तत्काल विद्युत् आपूर्ति सहज बनाउन ५० लाख रुपैयाँ छुट्याएर डिजेल प्लान्ट ल्याइएको छ । तर, अहिले त्यो डिजेल प्लान्ट थन्किएको छ । जुम्लावासीले अन्धकार रात बिताउन थालेपछि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अर्को डिजेल प्लान्ट पठाए, त्यो पनि यहाँ थन्किएर बसेको छ । अहिले दुईवटा डिजेल प्लान्ट, विद्युत्गृहमा दुईवटा टर्बाइन छन् । तर, नियमित बिजुली आपूर्ति हुन सकेको छैन । डिजेल व्यवस्था गर्न नसक्दा डिजेल प्लान्ट थन्किएको छ । कर्णालीको विद्युतीकरणबारे छलफल गर्न सुर्खेत पुगेका घिसिङ छिटोभन्दा छिटो राष्ट्रिय प्रसारण लाइन पुर्‍याउन पहल भइरहेको बताउँछन् । 

तर, कार्यकारी निर्देशक घिसिङ अहिलेको अवस्थामा डिजेल प्लान्टले विद्युत् उपलब्ध गराउन नसक्ने बताउँछन् । खलंगामा बिजुली आपूर्ति गर्दै आएको साना जलविद्युत् उपभोक्ता समितिका इन्चार्ज हर्क बोहरा भने बिग्रेको मेसिन मर्मत भइसकेको बताउँछन् । नेपालगन्जबाट १–२ दिनमा जिल्लामा ल्याएर जडान गरेपछि नियमित बिजुली आपूर्ति हुने उनको भनाइ छ ।