मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
मुना कुँवर
२०७५ माघ २ बुधबार ०८:१९:००
Read Time : > 2 मिनेट
अर्थ

सेयर बजार घट्यो घरजग्गा व्यापार बढ्यो

Read Time : > 2 मिनेट
मुना कुँवर
२०७५ माघ २ बुधबार ०८:१९:००

सस्तो घरजग्गामा लगानीकर्ता आकर्षित
सस्तो मूल्यका घरजग्गामा लगानीकर्ताको ओइरो लागेको रियल स्टेट एजेन्ट एसोसिएसन नेपाल (रिआन)का केन्द्रीय अध्यक्ष ईश्वर खरेलले बताए । ‘मानिसहरू अहिले बजार क्षेत्रभन्दा पनि चक्रपथबाहिरको सस्तो र भोलिका दिनमा सम्भावना रहेको क्षेत्रमा लगानी गर्न थालेका छन्,’ उनले भने । नयाँ र बस्ती विस्तार हुने प्रचुर सम्भावना रहेको यस्तो क्षेत्रमा लगानी गर्दा भोलिका दिनमा नाफा सुनिश्चित हुने भएकाले पनि लगानीकर्ता यतातिर लागेको उनले बताए । 

नेपालको सेयर बजार घटिरहँदा घरजग्गा कारोबार भने बढेको छ । भूमिसुधार तथा व्यवस्थापन विभागले राजस्व संकलनका आधारमा तयार पारेको तथ्यांकअनुसार विगत पाँच महिनाको अवधिमा घरजग्गा कारोबार ५४ प्रतिशतभन्दा बढीले बढेको छ । 

तथ्यांकअनुसार चालू आर्थिक वर्ष ०७५/७६ को मंसिरसम्म ५ अर्ब ३७ करोड रुपैयाँबराबरको घरजग्गा खरिद–बिक्रीबापत राजस्व संकलन भएको छ । मंसिर एक महिनामा मात्रै १ अर्ब ६१ करोड रुपैयाँ संकलन भएको छ । 

साउन महिनामा भने जम्मा १ अर्ब ४ करोड रुपैयाँ राजस्व संकलन भएको तथ्यांकले देखाउँछ । भदौमा तुलनात्मक रूपमा राजस्व संकलनमा कमी आएर ९० करोड १८ लाख रुपैयाँ संकलन भएको थियो । असोजमा १ अर्ब १२ करोड र कात्तिक महिनामा ६७ करोड ७० लाख रुपैयाँ राजस्व संकलन भएको छ ।

सवा दुई अर्ब पुँजीगत लाभकर संकलन
भूमिसुधार तथा व्यवस्थापन विभागका अनुसार चालू आवको मंसिरसम्म घरजग्गा कारोबारबाट २ अर्ब १५ करोड रुपैयाँ पुँजीगत लाभकर संकलन भएको छ । साउन महिनामा ४४ करोड ८८ लाख रुपैयाँ संकलन भएको थियो । भदौमा ३८ करोड, असोज महिनामा ५० करोड ९१ लाख, कात्तिकमा २८ करोड ३३ लाख र मंसिरमा ६६ करोड ३० लाख रुपैयाँ पुँजीगत लाभकर संकलन भएको तथ्यांकले देखाएको छ । 

पुँजीगत लाभकर सीमा घट्यो, व्यापार बढ्यो
सरकारले चालू आवको बजेटमार्फत पुँजीगत लाभकरको सीमा घटाउने घोषणा गरेपछि घरजग्गा व्यापार सुस्ताउने अनुमान थियो । तर, विपरीत व्यापार भने बढिरहेको छ । सरकारले साउनदेखि लागू हुने गरी १० लाखसम्मको कारोबारमा नै पुँजीगत लाभकर भुक्तान गर्नुपर्ने व्यवस्था गरेको छ । यसअघिको व्यवस्थाअनुसार ३० लाखभन्दा बढीको कारोबारमा पुँजीगत लाभकर बुझाउनुपर्ने व्यवस्था थियो । 

नगरपालिकामा रहेको १० हजारसम्मको घरजग्गा हो भने रजिस्ट्रेसनबापत ४ सय रुपैयाँ राजस्व बुझाउनुपर्छ । गाविसमा हो भने ३ सय रुपैयाँ बुझाउनुपर्छ । त्यस्तै, नगरपालिकामा रहेको १० हजारदेखि २५ हजार रुपैयाँसम्मको घरजग्गा हो भने १ हजार रुपैयाँ र गाविस हो भने ५ सय रुपैयाँ बुझाउनुपर्छ । त्यस्तै, नगरपालिकाभित्र रहेको २५ हजार रुपैयाँभन्दा बढीको मूल्यको घरजग्गा हो भने कुल मूल्यको ४ प्रतिशत र गाविसमा हो भने २ प्रतिशत राजस्व बुझाउनुपर्ने व्यवस्था छ । तर, अबदेखि भने घरजग्गा खरिद–बिक्रीबापतको राजस्वको दर प्रदेश सरकारले नै तोक्ने विभागले बताएको छ । 

डिल्लीबजार मालपोतबाट धेरै कारोबार
काठमाडौंस्थित डिल्लीबजार मालपोत कार्यालयबाट सबैभन्दा बढी घरजग्गा खरिद भएको देखिन्छ । त्यस्तै, ललितपुर, भक्तपुरपछि उपत्यकाबाहिर दाङबाट बढी कारोबार भएको तथ्यांक छ । काठमाडौं डिल्ली बजार मालपोत कार्यालयबाट घरजग्गा खरिद–बिक्री भएबापत मंसिरमा २१ करोड ७० लाख रुपैयाँ राजस्व संकलन भएको छ । त्यस्तै, ९ करोड ६७  लाख रुपैयाँ पुँजीगत लाभकर संकलन गरेको तथ्यांकले देखाएको छ ।

धेरै कारोबार हुने दोस्रोमा ललितपुर, लगनखेल मालपोत कार्यलय परेको छ । उक्त कार्यालयबाट मंसिर महिनामा १८ करोड ४९ लाख रुपैयाँ राजस्व संकलन भएको छ भने ६ करोड २८ लाख रुपैयाँ पुँजीगत लाभकर संकलन भएको छ । तेस्रोमा कलंकी मालपोत कार्यालयबाट मंसिरमा १० करोड ७६ लाख रुपैयाँ राजस्व संकलन भएको छ भने ५ करोड ७७ लाख रुपैयाँ पुँजीगत लाभकर संकलन भएको छ । भक्तपुर मालपोत कार्यालयबाट भने ८ कोड ९३ लाख रुपैयाँ राजस्व संकलन भएको छ भने ५ करोड पुँजीगत लाभकर संकलन भएको छ । घोराही मालपोत कार्यालयबाट भने ६ करोड ७२ लाख रुपैयाँ राजस्व संकलन भएको छ भने २१ लाख ३ हजार रुपैयाँ पुँजीगत लाभकर संकलन भएको छ ।