मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ माघ १ बुधबार ०८:३०:००
Read Time : > 2 मिनेट
राजनीति

२०–२२ चैतमा सगरमाथा संवाद : मोदीलाई ल्याउने कूटनीतिक प्रयास

Read Time : > 2 मिनेट
२०७६ माघ १ बुधबार ०८:३०:००

भारतीय विदेश मन्त्रालय मुख्य आयोजक रहेर मंगलबारदेखि सुरु रायसिना डायलगमा अन्य छिमेकी देशलाई भारतले बोलाए पनि यसपालि नेपाललाई बोलाएन । सगरमाथा संवादमा नेपालले मोदीलाई ल्याउन गरेको कूटनीतिक प्रयास के होला, अहिले नै यकिन गर्ने अवस्था छैन ।

सरकारले २०–२२ चैतमा आयोजना गर्न लागेको सगरमाथा संवादमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरस, चिनियाँ प्रधानमन्त्री ली खछियाङ तथा छिमेकी भारतसहित २० देशका कार्यकारी प्रमुखलाई निम्ता गरेको छ । सरकारले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई सहभागी गराउन राजनीतिक र कूटनीतिक च्यानलमार्फत प्रयास गरेको छ । चीनबाट उच्चस्तरीय प्रतिनिधि सहभागी हुने आश्वासन सरकारलाई आएको छ । ‘अहिले सगरमाथा संवादलाई सफल बनाउन सरकारको कूटनीतिक संयन्त्र सक्रियताका साथ लागेको छ । कुन–कुन देशबाट कार्यकारी प्रमुख वा कुन स्तरका प्रतिनिधि आउनुहुन्छ भन्नेबारेमा परराष्ट्र मन्त्रालयले सार्वजनिक गर्नेछ,’ सगरमाथा संवाद सचिवालयका प्रवक्ता किरण चापागार्इंले नयाँ पत्रिकासँग भने । 

सगरमाथा संवादमा जलवायु परिवर्तनले हिमाली र तटीय मुलुकलाई परेको असरबारे छलफल हुनेछ । सचिवालयका अनुसार सरकारले २० देशका कार्यकारी प्रमुख, विज्ञसहित एक सय ५० जना अन्तर्राष्ट्रिय सरोकारवालालाई निमन्त्रणा गरेको छ । सरकारी ओहोदामा भएका र नभएका ४० देशमा निमन्त्रणा पुगेको छ । 

 १७ जेठमा ओलीको निम्ता
प्रधानमन्त्री केपी शर्मा ओलीले गत १७ जेठमा दिल्लीको हैदराबाद हाउसमा भारतीय प्रधानमन्त्री मोदीसँगको भेटमा नेपाल भ्रमणका लागि निमन्त्रणा दिएका थिए । मोदीको दोस्रो कार्यकालका लागि शपथग्रहणको क्रममा भएको भेटमा मोदीले लुम्बिनी जाने कार्यक्रम बाँकी रहेको बताएका थिए । ‘त्यो भेटमा र त्यसपछि भएका टेलिफोन संवादमा प्रधानमन्त्री ओलीले मोदीलाई नेपाल भ्रमणका लागि आग्रह गर्दै आउनुभएको छ । कूटनीतिक च्यानलबाट पनि यसका लागि प्रयत्न जारी छ,’ जानकार कूटनीतिक स्रोतले नयाँ पत्रिकासँग भन्यो, ‘चीनबाट राष्ट्रपतिको भ्रमण असोजमा भइसकेकाले त्यहाँबाट उच्च नेताको भ्रमण त होला । तर, हामीले भारतका प्रधानमन्त्रीको उपस्थितिका लागि भगीरथ प्रयत्न गरिरहेका छौँ ।’

 रायसिनाको सन्देश : मोदी आउन मुस्किल
भारतको विदेश मन्त्रालयले वर्षेनी आयोजना गर्ने रायसिना डायलगमा यो वर्ष नेपाललाई छुटाएको छ । माल्दिभ्स, भुटान, अफगानिस्तान, श्रीलंका, बंगलादेशबाट प्रतिनिधित्व छ । द हिन्दुका कूटनीतिक पत्रकार कलोल भट्टचार्जीले भने, ‘अन्य छिमेकी देशबाट प्रतिनिधित्व छ, नेपालबाट छैन । नबोलाइएको हो कि नेपाल सहभागी नभएको हो मलाई थाहा भएन ।’ तर, कूटनीतिक स्रोतका अनुसार यो वर्ष नेपाललाई निमन्त्रणा आएन । गत वर्ष परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सहभागी थिए । एक कूटनीतिक स्रोतले भन्यो, ‘रायसिना डायलगमा नेपाललाई नबोलाएको अवस्थामा सगरमाथा संवादमा मोदी आउलान् कि नआउलान् भन्न गाह्रो छ ।’

 सगरमाथा संवादको तयारी 
मन्त्रिपरिषद् बैठकले गत २ वैशाखमा राष्ट्रिय, क्षेत्रीय तथा विश्वस्तरका समसामयिक र साझा चासोका मुद्दामा हरेक दुई वर्षमा सगरमाथा संवाद सञ्चालन गर्ने निर्णय गरेको थियो । नेपालले पहिलोपटक विश्वस्तरको कार्यक्रम गर्न लागेको हो । सगरमाथा संवादको पहिलो संस्करणको विषय ‘जलवायु परिवर्तन, पर्वतीय वातावरण तथा मानव जातिको भविष्य’ राखिएको छ । यसका लागि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको संयोजकत्वमा निर्देशक समिति र आयोजक समिति गठन भएको छ । पर्वतीय मुद्दामा केन्द्रित गर्न चाहे पनि सगरमाथा संवादमा सरकारले सामुद्रिक टापु राष्ट्रहरूलाई जोड्न चाहेको छ । कार्यक्रमको उद्घाटन २० चैतमा हुनेछ भने भोलिपल्ट विभिन्न ८ वटा विषयगत क्षेत्रमा छलफल हुने कार्यक्रम छ । सरकारले उद्घाटन र विषयगत सत्रमा दुईवटा भिडियो सार्वजनिक गर्नेछ ।

भारतीय राजदूतको  एग्रिमो स्वीकृत
भारतले नेपालका लागि सिफारिस गरेका राजदूत विनयमोहन क्वात्राको एग्रिमो सरकारले स्वीकृत गरेको छ । हाल भारतका लागि फ्रान्समा राजदूत रहेका विनयमोहनले विगतमा काठमाडौंस्थित सार्क सचिवालयमा निर्देशकका रूपमा काम गरिसकेका छन् । निवर्तमान राजदूत मञ्जीवसिंह पुरीको कार्यकाल सकिएपछि उनी राजदूतका रूपमा नेपाल आउने बाटो खुला भएको छ । ‘राजदूत विनयमोहनको एग्रिमो स्वीकृत भएको छ । उनी फेबु्रअरीमा कार्यभार सम्हाल्न आउँदैछन्’ कूटनीतिक स्रोतले भन्यो । भारतले केही दिनमा यससम्बन्धी औपचारिक घोषणा गर्नेछ । यसअघिका राजदूत पुरी पनि युरोप (ब्रसेल्स)बाट नेपाल पठाइएका थिए भने विनोदमोहन पनि युरोप (फ्रान्स)बाट आउन लागेका छन् । पूर्वराजदूत राकेश सुद भने नेपालमा कार्यकाल सकिएपछि राजदूतका रूपमा फ्रान्स गएका थिए । दुई वर्षअघि फ्रान्स जानुअघि विनयमोहन भारतीय प्रधानमन्त्री कार्यालयमा थिए ।