१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ माघ १ बुधबार ०७:४६:००
Read Time : > 1 मिनेट
अर्थ

ज्वरो बढेजसरी नेप्से बढाउनु ठीक होइन : अर्थमन्त्री 

Read Time : > 1 मिनेट
२०७६ माघ १ बुधबार ०७:४६:००

अर्थमन्त्री डा. युवराज खतिवडाले ज्वरो बढेजसरी नेप्से बढाउनु पनि ठीक नभएको बताएका छन् । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को २७औँ वार्षिक साधारणसभामा खतिवडाले यस्तो बताएका हुन् । ‘नेप्सेलाई ज्वरो बढाएजसरी उच्च गतिमा बढाउनु पनि ठीक होइन,’ उनले भने, ‘सामान्य तापक्रमभन्दा कम हुने गरी ह्वात्तै घटाउनु पनि हुँदैन । त्यसैले सामान्य अवस्थामा सेयर बजारलाई अघि बढाउनुपर्छ ।’ 

उनले नेप्से अहिले युवा अवस्थामा पुगेको बताए । ‘२७ वर्षको भयो, कसैले यसलाई परिपक्व उमेर भन्लान्, हामीले युवा मानेका छौँ,’ अर्थमन्त्री खतिवडा भन्छन्, ‘अझै यसको बुढो हुने वेला भएको छैन, हामीले पनि विकल्प खोजेका छैनौँ ।’ 

सरकारको आंशिक लगानी रहेको र नाफामा गएका २६ संस्थानमध्ये नेप्से पनि एउटा हो । नेप्सेबाट सरकारले वार्षिक २५ करोडभन्दा बढी प्राप्त गर्दै आएको छ । यसअघि विभिन्न समयमा नयाँ स्टक एक्सचेन्ज खोल्ने सरकारी घोषणा हुँदै आएका थिए । केही बैंक तथा निजी लगानीकर्ताले नयाँ स्टक एक्सचेन्जका लागि आवेदन नै दिएका थिए । तर, लामो समयदेखि निजी क्षेत्रबाट स्टक एक्सचेन्ज ल्याउने चर्चा चलेको भए पनि तत्काल नयाँ स्टक एक्सचेन्जको सम्भावना नरहेको अर्थमन्त्रीले स्पष्ट पारेका छन् । नेप्सेमा सरकारको ५८.३४ प्रतिशतभन्दा बढी, राष्ट्र बैंकको १४ प्रतिशतभन्दा केही बढी लगानी छ । बजारको उच्च उतार–चढावलाई इंगित गर्दै खतिवडाले बजार धेरै चिसो वा धेरै तातो भएको पनि राम्रो नहुने बताएका छन् । 

नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले नेप्सेको अनलाइन प्रणाली सञ्चालनमा आएयता बजारमा १ खर्ब ६ अर्ब रुपैयाँको कारोबार भएको बताएका छन् । धितोपत्र बोर्डका अध्यक्ष भीष्म ढुंगानाले १ वर्षदेखि नेप्सेले अनलाइन प्रणाली सञ्चालनमा ल्याएको भए पनि वेला–वेलामा यसमा देखिने समस्या हटाउनुपर्ने धरणा राखेका छन् । उनले कारोबार समयलाई ४ घन्टाबाट बढाउनुपर्ने र राफसाफ प्रक्रियालाई थप छोट्याउनुपर्ने धारणा राखेका छन् । हाल सेयरको राफसाफ भने कारोबारपछिको ३ दिनमा गरिँदै आएको छ ।