मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ माघ १ बुधबार ०७:१९:००
Read Time : > 1 मिनेट
विश्व

‘अस्ट्रेलियाको डढेलोको धुवाँले पृथ्वीको एक चक्कर पूरा गर्दै छ : नासा

Read Time : > 1 मिनेट
२०७६ माघ १ बुधबार ०७:१९:००

अस्ट्रेलियामा लागेको डढेलोबाट निस्किएको धुवाँँले पृथ्वीलाई एक चक्कर लगाएर पुनः अस्ट्रेलियामा फर्किने नासाले जनाएको छ । देशको पूर्वी तटमा विगत तीन महिनादेखि लागेको भीषण डढेलोको धुवाँँ प्रशान्त महासागरसम्म पुगेको छ । नासाका अनुसार नयाँ वर्षको पहिलो दिनको धुवाँँ अहिले उत्तर अमेरिका पार गरेको र जनवरी ८ सम्म पृथ्वीको आधा भाग घुमेको नासाको भनाइ छ । धुवाँँका कारण त्यहाँको आकाशको रंग नै परिवर्तन हुनुका साथै प्रदूषण बढेको छ । ‘धुवाँँले पृथ्वीको एक चक्कर फन्को लगाउने अनुमान गरिएको छ,’ अमेरिकी अन्तरिक्ष निकाय नासाले भनेको छ ।

विनाशकारी डढेलो
अत्यधिक तापक्रम र हुरीसँगै फैलिएको डढेलोबाट अहिलेसम्म अस्ट्रेलियामा २८ जनाको मृत्यु भएको छ भने दुई हजारभन्दा बढी घर जलेर ध्वस्त भएका छन् । डढेलोबाट ४८ करोड वन्यजन्तु सखाप भएको अनुसन्धानकर्ताहरूले बताएका छन् । डढेलोपछि केही मानिस हराइरहेका छन् । डढेलोका कारण खतरनाक मानिएका सहरबाट हजारौँ मानिस सुरक्षित क्षेत्रतर्फ भौँतारिएका छन् । डढेलोबाट ज्यान बचाउन पाँच हजारभन्दा बढी मानिसहरू समुद्री तटमा पाल टाँगेर बसिरहेका छन् । डढेलोबाट न्यु साउद वेल्स र भिक्टोरिया सबैभन्दा बढी प्रभावित छ । 

डढेलो बढिहरेकै वेला प्रभावित क्षेत्रमा अत्यावश्यकीय वस्तुको अभाव भएको छ । अभावपछि भिक्टोरियाको उत्तरी सीमा र न्यु साउद वेल्सको तटीय सहर बेटरम्यान्स बेको बीचमा पर्ने १२ हजार दुई सय ३५ वर्गकिलोमिटर क्षेत्रलाई ‘पर्यटक लिभ जोन’ घोषणा गरिएको छ । सो क्षेत्रबाट सामूहिक रूपमा हजारौँ मानिसहरू सुरक्षित क्षेत्रतर्फ हिँडेका छन् । डढेलोको जोखिम बढेपछि पूर्वी प्रान्त न्यु साउद वेल्समा संकटकाल घोषणा गरिएको थियो । 

कसरी घुम्दै छ पृथ्वीमा धुवाँँ ?
नासाका अनुसार अस्ट्रेलियाको डढेलो यति ठूलो छ कि, त्यसबाट अस्वाभाविक रूपमा ठूलो संख्यामा आगोको आँधीबेहरी ल्याएको छ । धुवाँँ वायुमण्डलको धेरै माथिसम्म पुगेको छ । धुवाँँको मुस्लो १७ दशमलव ७ किलोमिटर (११ माइल) माथिसम्म पुगेको छ । 

‘अत्यधिक माथि पुगेको धुवाँँ हजारौँ माइल फैलिएर संसारभरको आकाशलाई असर गर्दै पृथ्वीलाई चक्कर लगाउन सक्छ । ’ नासाले भनेको छ । अत्यधिक उचाइमा धुवाँँले पार्ने प्रभावबारे अध्ययन भइरहेको नासाले जनाएको छ । विज्ञहरूका अनुसार धुवाँँले आकाशको सम्पूर्ण तापक्रमलाई असर गर्छ । 

 दक्षिण अफ्रिका र न्युजिल्यान्डमा असर
नासाका अनुसार धुवाँँका कारण दक्षिण अमेरिकाको आकाशमा परिवर्तन आएको छ । त्यस्तै, धुवाँले न्युजिल्यान्डमा पनि असर गरेको छ । धुवाँका कारण न्युजिल्यान्डको प्रदूषण बढेको छ भने हिउँका चुचुरा धुवाँँले ढपक्क ढाकेको छ । बाक्लो धुवाँँको कारण अस्टेलियाका ठूला सहरहरू सिड्नी, मेलबर्न, क्यानबेरा, एडिलेड वातावरणीय दृष्टिले जोखिममा परेका छन् । मंगलबार मेलबर्नमा लगातार दोस्रो दिन वायुको गुणस्तर निकै खस्किएकोले सार्वजनिक स्वास्थ्यबारे चासो बढेको छ । देशको पूर्वी क्षेत्रमा अझै पनि सयभन्दा बढी डढेलो लागेको छ । पछिल्ला दिनमा परेको वर्षाले डढेलो नियन्त्रणको प्रयासमा केही राहत मिले पनि तत्काल डढेलो नियन्त्रणमा आउने छनक देखिँदैन ।