Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ श्रावण ३० शुक्रबार
  • Friday, 14 August, 2020
अटो रिक्सामा बसेर मुद्रा सहटी गरिँदै ।
रञ्जन भण्डारी महोत्तरी
२०७६ पौष २९ मंगलबार १८:१५:००
अर्थ

सटही काउन्टर नहुँदा जनतालाई सास्ती

रञ्जन भण्डारी महोत्तरी
२०७६ पौष २९ मंगलबार १८:१५:००

सीमावर्ती क्षेत्रमा सटही काउन्टर नहुँदा किनमेल तथा अन्य काम विशेषले भारत जाने नेपालीले सास्ती पाउने गरेका छन् । तर सटही काउन्टर नभएको मौकाको फाइदा उठाउँदै कमिसन लिएर अवैध रूपमा सटही सेवा दिनेहरू भने सीमा क्षेत्रमा प्रशस्तै छन् ।

माओवादी सशस्त्र युद्धका समयमा सुरक्षाको कारण देखाउँदै सीमावर्ती क्षेत्रहरूमा रहेका सटही काउन्टरहरू हटाइएको थियो । अहिलेसम्म पनि ती सटही काउन्टरहरू पुनस्र्थापना हुन नसक्दा सीमा क्षेत्रमा अवैध र अनधिकृत रूपमा सटही गर्नेको संख्या बढ्दै गएको सुन्दर अभियानका सदस्य कुन्दन पाण्डेयले बताए । त्यस्ता सहटी सेवा दिनेले कमिसनमा काम गर्ने गरेकाले मुद्रा सटहीमा स्थानीय ठगिने गरेको उनको भनाइ छ ।

अवैध रूपमा मुद्रा सटही सेवा दिनेहरूले सटहीमा सयकडा दुईदेखि दशसम्म कमिसन लिने गरेका छन् । अवैध रूपमा सटही सेवा दिनेलाई तत्काल हटाउँदा पनि थप समस्या उत्पन्न हुने देखिएकाले खासै कडाइ गर्न नसकिएको एक प्रहरीले नाम नखुलाउने सर्तमा भने । सटही काउन्टर स्थापना भएलगत्तै कडाई गर्न कुनै समस्या नहुने पनि उनले बताए ।

आँखै अगाडि अवैध रूपमा सटही चलिरहेको भए पनि नियन्त्रण हुन नसक्नुमा प्रशासनिक मिलोमतोको गन्ध आएको जलेश्वर नगरपालिकाका मेयर रामशंकर मिश्रले बताए । मंगलबार जलेश्वर भन्सार कार्यालयको भवन उद्घाटन गर्न आएका अर्थमन्त्री डा. युवराज खतिवडाको ध्यानाकर्षण गराउँदै उनले सटही काउन्टर स्थापनाका लागि तत्काल पहल गर्न आग्रह गरे । यस्तै प्रदेश सांसद रानी शर्मा तिवारीले सटही काउन्टर नहुँदा सर्वसाधारण ठगीमा पर्ने सम्भावना अधिक रहेको बताइन् । अर्थमन्त्री खतिवडाले चाँडै सटही काउन्टर स्थापना गरिने बताए ।

अवैध सटहीमा संलग्न रहेको भन्दै सशस्त्र प्रहरीले बेला–बेलामा विभिन्न व्यक्तिलाई नियन्त्रणमा लिएर राजश्व अनुसन्धान कार्यालयमा पठाउने गरेको छ । गत महिना मात्रै लाखौँ रकमसहित विभिन्न नेपाली तथा भारतीयलाई भारतीय नोटसहित नियन्त्रणमा लिइसकेकोे सशस्त्र प्रहरीले सोमबार राति पनि एक जनालाई ठूलो परिमाणमा भारतीय नोटसहित नियन्त्रणमा लिएको छ । सात लाख ९७ हजारसहित नियन्त्रणमा लिइएको मनरा सिस्वा नगरपालिका–४ का सञ्जयकुमार महतोलाई राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएको सशस्त्र प्रहरीले जनाएको छ ।