मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ पौष २९ मंगलबार १६:०१:००
Read Time : > 3 मिनेट
खेलकुद

मध्य सिजनमा भालभर्डेको बिदाइले फेरिएला बार्सिलोना ? 

Read Time : > 3 मिनेट
२०७६ पौष २९ मंगलबार १६:०१:००

नेपाली समयअनुसार सोमबार मध्यराति (१४ जनवरी २०२०) स्पेनको महारथी फुटबल क्लब बार्सिलोनाले प्रशिक्षक अर्नेस्टो भालभर्डेलाई बर्खास्त ग-यो । 

बार्सिलोनाको यो निर्णय अनेपेक्षित थिएन, तर धेरैका लागि अपेक्षित पनि थिएन ।

बार्सिलोना त्यही क्लब हो, जसले मध्य सिजनमा अक्सर प्रशिक्षक बर्खास्त गर्दैन । सन् २००३ मा लुइस भान गालपछि मध्य सिजनमा बार्सिलोनाको जागिर गुमाउने प्रशिक्षक यिनै भालभर्डे बने । 

भालभर्डेको बहिर्गमनले बार्सिलोनाका अधिकांश समर्थक खुसियाली मनाइरहेका छन् ।

सन् २०१८ मा बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइलनमा इटालियन क्लब रोमासँग हारेयता अधिकांश उपाधि निर्णायक खेलमा पराजित छ । 

यद्यपि उक्त सिजन बार्साले घरेलु लिग र कोपा डेल रेको उपाधि जित्यो । जसका कारण र समर्थकको इच्छाअनुरूप भालभर्डेमाथि खासै समस्या आएन । 

त्यस सिजन घरेलु लिगमा सशक्त उपस्थिति जनाएको बार्साले लिगमा एक खेल मात्र गुमाएको थियो ।  

२०१८–१९ को सिजनमा च्याम्पियन्स लिगको सेमिफाइनलमा बार्सिलोनाले अपेक्षित हार बेहा-यो । पुरानै नियति दोहोरियो ।

पेप ग्वार्डिवाला र योर्गेन क्लोपसँग मिल्दोजुल्दो रणनीति उनीसँग छ । सँगै उनको खेलाउने शैली कुनै वेला आर्सेन वेंगरको जस्तो समेत देखिन्छ । 

लिभरपुलविरुद्ध घरेलु मैदानमा ३–० को जित निकालेको बार्सा एनफिल्ड (लिभरपुलको मैदान) मा ०–४ गोलले पराजित भयो । सेमिफाइनलको यो लज्जास्पद हारपछि प्रशिक्षक भालभर्डेको आलोचना त चुलियो नै, समर्थक थप आक्रामक बने । समर्थकले नारा नै चलाए ‘भालभर्डे आउट !’ 

सन् २०१५ को च्याम्पियन्स लिगमा जुभेन्टसविरुद्ध जित निकालेको बार्सिलोना त्यसयता लिगको फाइनलसम्म पुग्न सकेको छैन । २०१७ मा बार्सिलोना आएका भालभर्डेमाथि भने बार्सा बोर्ड सधैं विश्वस्त रहँदै आएको थ्यो । त्यसअर्थ पनि उनी क्लबमा टिकिरहे । 

चालू सिजनमा पनि बार्सिलोना घरेलु लिगको शीर्ष स्थानमै छ । च्याम्पियन्स लिगको अन्तिम १६ मा पुगेको र केपा डेल रे सुरु भएकै छैन । यसको मतलब अझै पनि बार्सिलोनाका लागि तीन वटै उपाधि खुला छन् ।  
यद्यपि जारी सिजनमा उसको शीर्ष स्थान खुकुलो नै छ । गोलअन्तरका आधारमा मात्र पहिलो स्थानमा रहेको बार्साको रक्षापंक्ति कमजोर देखिएको छ । यसले पनि भालभर्डेमाथि थप समस्या निम्त्याएको थियो । जारी सिजनको मध्यसमयसम्म लिगमा २३ गोल खानुले यसको पुष्टि गर्छ । जबकि दोस्रो स्थानको रियल म्याड्रिडले १२ गोल मात्र बेहोरेको छ । 

यसै सिजनपछि सम्झौता सकिँदै गरेका भालभर्डेको विकल्प खोज्नु बार्सिलोनाका लागि उपर्युक्त थिएन । 

सायद दुई सिजन च्याम्पियन्स लिगमा बेहोरेको हार, घरेलु लिगमा रियल मड्रिडसँगको कमजोर प्रतिस्पर्धा र स्पेनिस सुपरकपको सेमिफानलमा एट्लेटिकोसँगको पराजयले नै उनको बहिगर्मनको बाटो तय ग-यो । 
घरेलु लिगमा आसलाग्दो प्रदर्शन गर्न नसकेका उनी बाहिरका लिगमा पनि कमजोर देखिए । नकआउट चरणमा उनको रणनीति एट्लेटिकोसँगको खेलमा फेरि एकपटक कमजोर सावित भइदियो । जसका कारण कप्तान लियोनल मेस्सीदेखि बोर्ड मेम्बरसमेत प्रशिक्षक परिवर्तनको पक्षमा देखिए । फलस्वरूप अध्यक्ष जोसेप मारिया बार्टामेउले विश्वास गर्दागर्दै बार्सिलोनाले भालभर्डेलाई भनिदियाे, ‘थ्यांक यु एन्ड गुड लक !’ 

क्विक सेटिनको इन्ट्री  
बार्साको बोर्डले सोमबार राति भालभार्डेको बिदाइ मात्र गरेन, तरून्तै क्विक सेटिनलाई स्वागत पनि गरिहाल्यो । शुक्रबार राति स्पेनिस सुपरकपको सेमिफाइनल हारपछि बार्साले प्रशिक्षकको खोजी गरिसकेको थियो । 
पहिलो प्रस्ताव क्लबका लिजेन्ड जाभी हर्नान्डेजसँग गरियो । हाल कतारी क्लब सम्हालिरहेका जाभीले बार्साको प्रस्ताव अस्वीकार गरिदिए । जाभी तयार नभएपछि अन्तर्राष्ट्रिय मिडियाले बार्सिलोनाका सम्भावित प्रशिक्षकको सूची नै तयार गरिदिए । त्यसमा थिए, हालै टोटनहमबाट बर्खास्तीमा परेका माउरिसियो पोचेटिनो, युभेन्टसका पूर्वप्रशिक्षक मासिमिलियानो एलेग्री, नेदरल्यान्डका प्रशिक्षक रोनाल्ड कोम्यान इत्यादि । तर, यी सबै हल्लामा सीमित भए, जब बार्सिलोनाले सेटिनलाई स्वागत ग-यो । ६१ वर्षका सेटिन विनाचर्चा एकाएक बार्सिलोना सम्हाल्न आइपुगे ।  

को हुन्, सेटिन ? 
भालभर्डेको शैली बार्सिलोनाको पुरानो शैलीभन्दा फरक थियो । तर, टिकिटाका शैलीमा बार्सिलोनाको खेल हेर्न अभ्यस्त भएका समर्थकलाई भालभर्डे शैली पटक्कै मन परेको थिएन । यस्तो अवस्थामा बार्सिलोनालाई पुरानै शैलीमा फर्काउने प्रशिक्षकको खोजी बार्सिलोनाले ग-यो । त्यसकै विकल्पक बार्सिलोनाले सेटिनलाई अनुबन्ध गरेको हो ।

स्पेनिस प्रशिक्षक सेटिनसँग ठूला क्लब सम्हालेको अनुभव छैन । तर, उनको प्रशिक्षण करियर भने सन् २००१ बाटै सुरु भएको हो । उनले स्पेनिस क्लब रासिङ स्टान्डर्डबाट प्रशिक्षण करियर सुरु गरेका हुन् । त्यसपछि पोली इजिडो, लोग्रोनेस, लुगो हुँदै ला लिगाकै क्लब लास पालमसलाई समेत उनले सम्हाले । 

सन् २०१७ मा उनी रियल बेटिसको प्रशिक्षक बनेका थिए । उनले बेटिसलाई कोपा डेल रे को सेमिफाइनलसम्म पु-याएका थिए २०१९ मा बेटिस छाडेपछि उनी बेरोजगार थिए । 

सेटिनले प्रशिक्षकका रूपमा बार्सिलोनाविरूद्ध हालसम्म सात पटक खेलेका छन् । जसमा  एक खेलमा मात्र जित निकालेका छन् । उनी आक्रमक फुटबल खेलाउन रूचाउँछन् । आक्रमक र टिकिटाका मिश्रित सुन्दर फुटबलका क्रेजी उनको रणनीति खासगरी ३–४–२–१ हुनेगर्छ । 

पेप ग्वार्डिवाला र योर्गेन क्लोपसँग मिल्दोजुल्दो रणनीति उनीसँग छ । सँगै उनको खेलाउने शैली कुनै वेला आर्सेन वेंगरको जस्तो समेत देखिन्छ । 

सेटिनसामु चुनौती 
उनले बार्सिलोनामा कस्तो फुटबल खेलाउलान्, त्यो त समयसँगै थाहा हुनेछ । तर, कमजोर डिफेन्स सुधार्ने, घाइते लुइस स्वारेजको विकल्प तयार पार्ने, सँगै घरेलु लिग र पाँच वर्षपछि च्याम्पिन्यस लिग जित्नुपर्ने उनीमाथि चुनौती हुनेछ । 

हालै इंग्लिस क्लब टोटनहमका प्रशिक्षक जोसे माउरिन्होले भनेका थिए, ‘मेस्सीले प्रशिक्षकलाई सुर्धाछन् ।’ अर्थात् मेस्सीको खेल हेरेर प्रशिक्षकहरू आफैं सुध्रन बाध्य हुन्छन् ।
तर सेटिन तिनै प्रशिक्षक हुन्, जो मेस्सीका ठूला प्रशंसक हुन् । रियल बेटिसको प्रशिक्षक हुँदा उनले भनेका थिए, ‘जब एक खेलाडी रिटायर हुन्छ, त्यो बेला लाग्छ कि, कसैले किड्नी निकालिदियो । र जुन दिन मेस्सी रिटायर हुन्छन्, म सधैं रुनेछु ।’ अब उनै महान् खेलाडी र प्रशंसक प्रशिक्षक बीचको तालमेल हेर्ने प्रतीक्षामा  बार्सिलोना र करोडौं समर्थक छन् । 

के बार्सिलोनाले पुरानै शैलीमा खेल्ला ? पाँच वर्षपछि युरोपियन उपाधि भिœयाउला, रियललाई रोक्दै ला लिगामाथि कब्जा जारी राख्ला ? समग्रमा बार्सामा सेटिन सफल होलान् ? यस्ता दर्जनौं प्रश्नको उत्तर खोज्न कम्तीमा जारी सिजनको अन्त्यसम्म कुर्नुको विकल्प छैन ।