मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ पौष २९ मंगलबार १३:१४:००
Read Time : > 2 मिनेट
मुख्य समाचार

युरोप जाने मोहले यसरी ठगिन्छन् नेपाली कामदार

Read Time : > 2 मिनेट
२०७६ पौष २९ मंगलबार १३:१४:००

रामेछापका कुमार तामाङ मलेसियामा सुरक्षा गार्ड काम गरेर दुई वर्षमा नेपाल फर्किए । विदेशमा कमाएको पैसाले नयाँ घर बनाए । गाउँमा बसेर आम्दानी गर्ने अवसर नभेटेपछि अन्यौलमा परेका उनले अर्को गन्तव्य युरोपका पोल्यान्डलाई बनाउने निधो गरे । 

युरोपमा जम्ने सपना देखेका कुमारले खाडीमा कमाएको ३ लाख नगद आफन्तको हातमा थमाइदिए । 

आफन्तको विश्वासमा परेर ३ लाख नगद बुझाएका कुमारलाई १९ फागुन २०७५ मा प्रकाशित ‘साढे तीन करोड ठगी गिरोह प्रहरी अनुसन्धानमा’ भन्ने समाचारले झस्कायो । 

ग्वार्कोस्थित दृष्मा ओभरसिज् कम्पनीबाट ठगिएका ३ सयभन्दा बढी पीडित युवाले कम्पनीविरुद्ध उजुरी दिएपछि ठगीको पर्दाफास भयो । ठग्ने व्यक्ति पक्राउ परे पनि पैसा असुल हुन सकेन । युरोपमा टन्नै पैसा कमाउने सपना देखेका कुमार र उनीजस्तै युवा अहिले प्रहरी चौकी र म्यानपावर धाएर दिन बिताइरहेका छन् । 

यस्तै सिन्धुपाल्चोकका नरेशमान तामाङलाई कतारमा कमाएको पैसा र अनुभवले ठूला देशतिर आकर्षित गरेको थियो । देशमा लगानी वातावरण नदेखेका तामाङलाई उनकै साथीले युरोपेली मुलुक अर्मेनियाको बाटो देखाए । उनले राम्रो कमाइ र सेवा सुविधा पाउने लोभमा धुम्बाराहीको एट्लस ओभरसिजलाई एक लाख ७० हजार नगद बुझाएर भिसा प्रक्रिया सुरू गरेको बताए । ‘म्यानपावरलाई बुझाए जत्ति नै पैसा काठमाडौं आउने, जाने खर्च र मेडिकल गर्दा खर्च भयो । काम होला र कमाउँला भनेको उल्टै गुमाउनु पर्यो ।’ उनले भने ।

उनीसँगै अर्मेनियाका लागि तयार भएका २३ जनाजति युवासँग म्यानपावरले ३ देखि ५ लाखसम्म असुलेको थियो । सबै प्रक्रिया पुगेको बताउँदै म्यानपावर एजेन्टले गन्तव्यमा पुग्न भारतको रुट प्रयोग गरिने जानकारी दियो । 
दिल्लीमा तीन महिना गुजारेपछि एजेन्ट एकाएक गायव भए । उनले भने, ‘त्यसपछि ठगिएको पक्का भयो । अर्मेनियाका लागि सबैसित उठाएको ६५ लाखभन्दा बढी रकम खाएर एजेन्ट बेपत्ता भए ।’

परिवारलाई युरोपको सपना देखाएर जुटाएको पैसा दलालले कुम्ल्याएपछि रित्तो हात नेपाल फर्किएका तामाङ र उनका साथीहरु वैदेशिक रोजगारी विभागमा उजुरी हालेर न्यायको पर्खाइमा छन् ।

तामाङ र कुमार मात्र होइन, विदेशको सपना देखाएर एजेन्ट, आफन्त र म्यानपावरले धेरै युवालाई बिचल्लीमा पारेको छ । वैदेशिक रोजगारी विभागका अनुसार युरोपली मुलुक टर्की, पोल्याण्ड, रोमनिया तथा क्यानाडा, अमेरिका पठाइदिने बहानामा भएका व्यक्तिगत ठगीका घटना धेरै छन् ।

विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको प्रथम चार महिनाको तथ्याङ्क हेर्दा यस्ता ठगीका पाँच सय दुई उजुरी परेका छन् । पीडितको उजुरीमा १३ करोड ७६ लाख ८५ हजार रुपैयाँ उठाउनु पर्ने दाबी गरिएको छ । विभागका महानिर्देशक भीष्मकुमार भुसालले युरोपेली मुलुक भन्ने वित्तिकै युवाहरू आकर्षित भइहाल्ने, ठूला सपना देख्न थाल्ने प्रवृत्तिले ठगीका घटना बढेको बताए । 

व्यक्तिगत ठगीमा वृद्धि 
पछिल्लो समय म्यानपावरबाट भन्दा व्यक्तिगत ठगी बढेको महानिर्देशक भुसालको ठम्याइ छ । विभागका चालू आर्थिक वर्षको पहिलो चौमासिक तथ्याङ्क अनुसार व्यक्तिगत ठगीतर्फ ९८ उजुरी परेका छन् । उजुरीमा ११ करोड बराबरको बीगो दावी गरेको छ । ‘युरोप पाठउँछु भन्दै विभिन्न एजेन्ट तथा आफन्तबाट धेरै रकम असुलेको पाइएको छ ।’ महानिर्देशक भुषालले भने, ‘पैसा कमाउने मोहले ठगीने मात्र होइन अवैध बाटो प्रयोग हुने भएकाले ज्यानको जोखिम पनि उत्तिकै छ ।’

महानिर्देशक भुसालले भारत हुँदै युरोपेली देश तथा सरकारले प्रतिबन्ध लगाएको देशमा पठाइदिन्छु भन्ने व्यक्तिसँग सचेत हुन आग्रह गरे । 

श्रमिकले सपना देख्छन, जोखिम देख्दैनन् : श्रम विज्ञ
वैदेशिक रोजगारीमा युरोप वा अन्य ठूला मुलुक जाने खोज्ने कामदार तथा बढ्दो ठगीका घटनाका बारेमा विस्तृत अध्ययन गर्न जरुरी भएको बताउँछन् श्रम विज्ञ सोम लुइटेल । 

उनले व्यक्तिगत ठगीअन्तर्गत आफन्त तथा साथीभाइबाट ठगीने क्रम बढेको बताए । उनले भने, ‘आफन्त तथा साथीभाइलाई विश्वास गरेर पैसा दिन्छन्, जान नपाएपछि उजुरी गर्छन् ।’ पर्याप्त कागजात तथा प्रक्रिया नमिल्दा यस्ता ठगीका अधिकाँश पीडित न्यायबाट बन्चित हुनु परेको छ ।’  

लुइटेलले वैदेशिक रोजगारीमा उत्पन्न हुने समस्याबारे श्रमिकमा चेतनाको कमी भएको बताउँछन् । ‘नेपाली श्रमिकहरु सपना ठूलो देख्छन्, कुन देश जाँदा राम्रो, सहज र सुरक्षित हुन्छ भन्नेबारे सचेत छैनन् र हुन पनि खोज्दैनन्,’ उनले भने ।